गुलमोहरले सजिएका वीरेन्द्रनगरका सडक (फोटो फिचर)

गुलमोहरले सजिएका वीरेन्द्रनगरका सडक (फोटो फिचर)


सुर्खेत : बिहानी छिप्पिदै जाँदा सडक विस्तारै बेसुर्सदी हुँदैछ । बाटोमा तछाँडमछाड गर्दै गाडी गुडिरहेका छन् । शहर बन्ने दौडमा रहेको वीरेन्द्रनगर सुर्खेतका केहि स्थानलाई अहिले राता रंगले लिपेको छ । कुईनेपानी, घण्टाघर, इत्राम क्षेत्रमा रुखका हरियो पातसँग सहकार्य गरेर रातो फूल फुलेको छ ।

फूलको परिचय गराउनु नयाँ कुरा होइन, देख्दैमा नाम निस्कन्छ, ‘गुलमोहर’ । गुलमोहरलाई फ्रान्समा ‘स्वर्गको फुल’ भनेर उपमा दिइन्छ । जसलाई यहाँ हेरिरहुँ, देखिरहुँ लाग्ने गुलमोहरले परिचित छ ।वीरेन्द्रनगरकासडक किनारमा फक्रिरहेका यी फुल नजिक पुग्दा जो कोहीलाई अनुभुती हुन्छ साँच्चिकै स्वर्गमा पुगेजस्तो ।

सडकहरु प्राय भरिभराउ हुन्छन् । अघिपछि प्राय शुन्य रहने यी सडकहरुमा गुलमोहरसँग रामाउनेको भिड देख्न सकिन्छ । खाली सडक छेउ गुलमोहरका कारण झकिझकाउ छन् । सडकका दुई किनारामा लाइनबद्ध रोपिएका यी फुलले वीरेन्द्रनगरका सडकको शोभा नै फेरिएको छ ।

बसन्त ऋतुमा प्रकृतिले काँचुली फेरेर उमंग ल्याउँछ । हरियाली र रंगीचंगी फूलले प्रकृति सिँगारिन्छ । यही मौसममा सुनसान सडक किनारामा गुलमोहरले वीरेन्द्रनगरलाई थप मनमोहक बनाएको छ ।
फूलको नजिक गएर फोटो खिच्दा आकाशले नै रातो पछ्यौरी ओढिरहेको भान हुन्छ । प्रकृतिको यति अनुपम दृश्यहरु भने वीरेन्द्रनगरमा सहजै देख्न सकिन्छ ।

गुलमोहरले कर्णाली प्रदेशको राजधानीको शोभा बढाएको छ । यहीँ सिजनमा कुइनेपानी घण्टाघर, ईत्राम लगायत विभिन्न ठाउँमा फुलेका गुलमोहरलाई पृष्ठभूमिमा पारेरे दैनिक तस्बिर खिच्नेहरुको भीड लाग्ने गर्छ ।

अहिले घण्टाघर–नगरपालिका खण्डमा यात्रा गर्ने जो–कोही गुलमोहरलाई आफ्नो क्यामेरामा कैद गर्न छुटाउँदैन् ।
निकै आकर्षक रुपमा वीरेन्द्रनगरमा ढकमक्क फुलेको गुलमोहरको बोटमुनि युवायुवतीको सेल्फी मोह निकै बढेको छ । विभिन्न सामाजिक सञ्जालमा युवायुवतीले भाइरल गराएका छन् ।

घरमा बस्दा बस्दै दिक्क भएर मनमा अशान्ति मच्चाए पनि गुलमोहरलाई नजिकै गएर निहाल्ने बित्तिकै मनमा नयाँ उल्लास र नयाँ उर्जा पलाउने वीरेन्द्रनगर ६ का ललित बस्नेत बताउँछन् ।

गुलमोहर फुलेका बेला निकै आर्कषक देखिने भएकाले यसका विरुवा वीरेन्द्रनगरका अन्य पर्यटकिय स्थलमा पनि लगाइनुपर्ने वीरेन्द्रनगरपालिकाका–३ का रमेश पुलामीको भनाई छ ।

यी फुलहरु फुलेमा निकै आर्कषक देखिन्छन्,’ पुलामीले भने, ‘कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर थुप्रै पर्यटकिय सम्भावना रहेकाले गुलमोहरका विरुवालाई यहाँका अन्य पर्यटकिय स्थलमा वृक्षरोपण गरेमा अझै पर्यटकहरुको घुँइचो लाग्ने देखिन्छ ।’

वीरेन्द्रनगरलाई ग्रिन सिटिको रुपमा विकास गर्ने योजना अन्र्तगत अहिले नयाँ सडक निर्माण भएका सडकका छेउछाउमा पनि वृक्षरोपण गरिरहेको वीरेन्द्रनगपालिकाले जनाएको छ ।

प्रतिक्रिया