वैशाख ३० गते क–कसले सवारीसाधन प्रयोग गर्न पाउँछन् ?

वैशाख ३० गते क–कसले सवारीसाधन प्रयोग गर्न पाउँछन् ?

काठमाडाैं : वैशाख ३० गते हुने स्थानीय तहको चुनावको दिन सरकारले अत्यावश्यकबाहेकका सवारीसाधन गुड्न नदिने भएको छ। निर्वाचनको दिन लामो तथा छोटो दुरीका सबैजसो सवारीसाधन बन्द रहनेछन्।  गृह मन्त्रालयका अनुसार चुनावी सुरक्षालाई मध्यनजर गरी अत्यावश्यकबाहेकका यातायात सेवा बन्द गरिएको हो। सो दिन लामो तथा छोटो दुरीका सबै सवारीसाधन बन्द रहनेछन्। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सो दिन आन्तरिक उडानसमेत बन्द रहने बताए।

चुनावको दिन सवारीसाधनको व्यवस्थित गर्न गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र निर्वाचन आयोगले एकीकृत पास व्यवस्थापन समिति बनाएको छ। उपत्यकाभित्र सो समितिसँग पास लिन सकिनेछ। उपत्यकाबाहिर जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक कामको लागि पास वितरण गर्नेछ।

अत्यावश्यकताका सवारीसाधन एम्बुलेन्स, खाद्यान्न ढुवानी, खानेपानी, तरकारी, दूध ढुवानी गर्नेलगायत मालवाहक सवारीसाधन गुड्न पाउनेछन्। यसबाहेक कूटनीतिक नियोगका सवारीसाधन र अत्यावश्यक सरकारी कामकाजमा प्रयोग हुने सवारीसाधन सञ्चालन गर्न दिइनेछ।

तर चुनावमा मतदान गर्न जाने व्यक्तिले यातायातका साधन प्रयोग गर्न पाउनेछैनन्। उम्मेदवारले पनि आफ्नो वा अन्य सवारीसाधनमा मतदाता ओर्सान पाउनेछैनन्। जति टाढा भए पनि मतदाता हिँडेरै मतदानस्थलमा पुग्नुपर्नेछ। यसबाहेक राज्यका माथिल्लो निकायका कर्मचारी, सुरक्षा निकाय र चुनावसँग सम्बन्धित कर्मचारीले सवारीसाधन प्रयोग गर्न पाउनेछन्।

सञ्चारकर्मीले निर्वाचन आयोगबाट प्रदान गरिएको पासका आधारमा ओहोरदोहोर गर्न पाउनेछन्। त्यसको लागि सवारी नम्बर र विवरण खुलाई सम्बन्धित सञ्चार संस्थाबाट सूचना तथा प्रसारण विभागमा सिफारिस-पत्र पठाउनुपर्नेछ। सोही आधारमा पासको व्यवस्था गरिदिन विभागले आयोगलाई सिफारिस गर्नेछ।

यसबाहेक उम्मेदवारले भने आफ्नो वडा वा स्थानीय तहभित्र भने सवारी गुडाउन पाउनेछन् । तर एक जिल्लाबाट अर्को जिल्ला वा एक स्थानीय तहबाट अर्को स्थानीय तहमा प्रवेश गर्न पाउनेछैनन्। चुनावको दिन प्रहरीले ठाउँठाउँमा सवारी चेकजाँच गर्नेछ। अनावश्यक सवारीसाधनलाई रोक्नेछ।  यस्तै सो दिन अत्यावश्यक कामले एक जिल्लाबाट अर्को जिल्ला वा काठमाडौंबाट बाहिर जानुपरे जिल्ला प्रशासन कार्यालय र निर्वाचन आयोगसँग पास लिनुपर्नेछ।

प्रतिक्रिया