दैलेखका एघार पालिका : अधिकाँश पालिकामा एमाले र काँग्रेसबीच प्रतिस्पर्धा

दैलेखका एघार पालिका : अधिकाँश पालिकामा एमाले र काँग्रेसबीच प्रतिस्पर्धा

दैलेख : संविधान जारी भएपछि दोस्रो पटक यहि बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । मंगलबार राति १२ बजेपछि मौन अवधि लागू हुँदै छ । दल र दलका उम्मेदवारहरु मतदाता आफ्ना पक्षमा पार्न अन्तिम कसरतमा छन् । यो पटकलाई विश्वास गर्नुस्, नगर बनाउँछु, गाउँ बनाउँछु भन्दै दलका उम्मेदवारहरु भोट माग्दै मतदाताको घरदैलोमा पुगिरहेका छन् । गाउँ र नगरमा विकासको मुल फुटाउने सबै पार्टीका उम्मेदवारहरुको साझा प्रतिबद्धता बनेको छ । कुनै पार्टीले रोजगारी दिने आश्वासन दिन्छन् त कुनैले आफुलाई भोट दिए खानेपानी, निशुल्क शिक्षा र स्वास्थ्य उपचार र खानेपानी सुविधा दिने आस देखाईरहेका छन् ।

चार नगरपालिका र सात गाउँपालिकाका ९० वडा रहेको दैलेखमा नगर र गाउँपालिकामा प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष, र सदस्य सहित ४ सय ७२ जना निर्वाचित हुनेछन् । निर्वाचनमा कुल एक हजार ७ सय ६५ जनाको उम्मेदवारी गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । चार नगरपालिकाकाको प्रमुखमा २२ र उपप्रमुखमा १९ जनाको उम्मेदवारी परेको छ । ७ गाउँपालिकाको अध्यक्षमा ४१ र उपाध्यक्षमा ३५ जनाको उम्मेदवारी परको छ ।

चुनावी सरगर्मीसँगै जिल्लाका ११ वटै तहमा जीत कसको पोल्टामा पर्ला भन्ने चासो बढेको छ । एमाले आफ्नो विरासत जोगाउने दाउँमा छ । पार्टी फुटको असर एमालेलाई पर्ने कतिपयको विश्लेषण छ । कांग्रेस पनि एमालेको गढलाई भत्काएर आफ्नो वर्चश्व कायम गर्न चाहान्छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसभित्र भएको अन्तरघातको कारण हार व्यहोर्नुपरेको कांग्रेसका नेताहरुको बुझाई छ । २०७४ को निर्वाचनमा नराम्रारी हार ब्यहोरेको नेकपा माओवादी केन्द्रपनि केहि तहमा जीत हात पार्ने दाउमा छ भने एकीकृत समाजवादीका लागि यो निर्वाचन पहिलो परिक्षा हो ।

आठबीस नगरपालिका

संविधान जारी भएपछि पहिलो पटक २०७४ मा भएको स्थानीय तह निर्वाचनमा नेकपा एमालेका खड्गराज उपाध्याय विजयी भएका थिए । एमालेका उपाध्यायले ३ हजार ९ सय ३७ मत पाउँदा निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका प्रेमप्रकाश शाहीले ३ हजार ८ सय ८० मत प्राप्त गरेका थिए । यहाँ तेस्रो ठूलो दल नेपाल मजदुर किसान पार्टीका तर्कबहादुर बडुवालले २ हजार एक सय ४ मत प्राप्त गरेका थिए । बडुवाल अहिले नेकपा एमालेबाट नगरको मेयरमा प्रतिस्पर्धामा उत्रिएका छन् । उपप्रमुखमा दिपा बोहोरा ४ हजार १ सय ८७ मतसहित विजयी हुँदा एमालेकी गमता विकले ३ हजार ९ सय ९० मत प्राप्त गरिन् ।
यतिबेला यो नगरपालिकाको मेयरमा ५ जना र उपमेयरमा ५ को उम्मेदवारी परेको छ ।

२०७४ सालमा नेपाल मजदुर किसान पार्टीबाट मेयर लडेका तर्कबहादुर बडुवाल अहिले नेकपा एमालेबाट मेयरको उम्मेदवार हुन् । नेपाली काँग्रेसबाट यसअघि एमालेका खड्गराज उपाध्यायसँग पराजित प्रेमप्रकाश शाही उम्मेदवार छन् । यो नगरमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट देवेन्द्रबहादुर विष्ट, नेमकिपाबाट धनबहादुर सिजापती, र उदयराम विश्वकर्माले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यो नगरको उपप्रमुखमा एमाले र नेपाली काँग्रेसबाट नयाँ अनुहार निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । नेकपा एमालेबाट कल्पना थापा र नेपाली काँग्रेसबाट निशा थापा उपमेयर जीत्ने दाउमा छन् । यसअघि यो नगरमा १४ हजार एक सय ४३ मतदाता थिए भने यो निर्वाचनमा १६ हजार ५ सय ६७ मतदाता छन् । यो नगरमा नेकपा एमाले र नेपाली काँग्रेसबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

चामुण्डाविन्द्रासैनी नगरपालिका

यो नगरमा यसअघि नेकपा एमालेका २ हजार ७ सय ७३ मत सहित सुर्यबहादुर शाही मेयर र उपमेयरमा २ हजार ९ सय ५४ मत सहित एमालेकै ताराकुमारी खत्री (शाही) निर्वाचित भएका थिए । मेयरका प्रत्यासी काँग्रेसका गणेश कुमार शाहीले २ हजार ६ सय ७०, उपमेयरमा प्रत्यासी काँग्रेसकै इन्द्रकुमारी शाहीले २ हजार ४ सय ८० मत प्राप्त गरेकी थिइन् ।

अहिले यो नगरको मेयरमा ६ र उपमेयरमा ५ जनाको उम्मेदवारी परेको छ । दोस्रो पटक हुन लागेको स्थानीय तह निर्वाचनमा एमालेबाट सुर्यबहादुर शाही र नेपाली काँग्रेसबाट २०७४ को निर्वाचनमा पराजित गणेश कुमार शाहीबीच प्रतिस्पर्धा हुँदैछ । उपमेयरमा एमालेबाट नन्दाकुमारी विस्ट र काँग्रेसबाट मनसरा कुमारी शर्मा चुनावी प्रतिस्पर्धामा छन् । यहाँ गठबन्धन दलबीच सहमती नहुँदा काँग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र एक्ला एक्लै चुनावी प्रतिस्पर्धामा छ । नेकपा एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादीबाट मेयरमा मनिषा कार्की र उपमेयरमा नमनकुमार शाहीको उम्मेदवारी परेको छ । नेकपा एकीकृत समाजवादीले एमालेबाट मत काटेपनि एमाले र काँग्रेसकै प्रतिस्पर्धा हुने देखिन्छ । २०७४ मा यो नगरमा ११ हजार २ सय १७ मतदाता थिए भने अहिले १४ हजार ६ सय ३३ मतदाता छन् ।

दुल्लु नगरपालिका

जनसंख्याका हिसावले कर्णालीकै दोस्रो ठूलो स्थानीय तह दुल्लु नगरमा २०७४ को निर्वाचनमा काँग्रेसका घनश्याम भण्डारी ६ हजार ३ सय ४९ मतसहित विजयी भएका थिए । एमालेका (हाल नेकपा एकीकृत समाजवादी दैलेखका अध्यक्ष) बरुनाथ योगीले ६ हजार २ सय ८० र नेकपा माओवादी केन्द्रका १ हजार ९ सय २३ मत प्राप्त गरेका थिए । उपमेयरमा एमालेकी विष्णु थापा ६ हजार ४ सय ७८ मत सहित विजयी हुँदा काँग्रेसका कृष्णकुमारी शाहीले ६ हजार १ सय ९ र माओवादी केन्द्रका रमाकुमारी थापा कार्कीले १ हजार ८ सय ३५ मत प्राप्त गरिन् ।

यहि बैशाख ३० गते हुने निर्वाचनका लागि दुल्लुको मेयरमा ६ र उपमेयरमा ६ जनाको उम्मेदवारी परेको छ । यो नगरको मेयर र उपमेयरमा एमालेबाट युवा नेता रुद्धबहादुर शाही र बिना कार्कीको उम्मेदवारी परेको छ । यो नगरपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल अनुसार उम्मेदवारी परेको छ । चुनावी तालमेल अनुसार मेयरमा काँग्रेसका भरतप्रसाद रिजाल र उपमेयरमा नेकपा माओवादी केन्द्रका टेकबहादुर खड्काको उम्मेवारी परेको छ । एकीकृत समाजवादी पार्टीले मेयरमा पवन खनाल र उपमेयरमा खजुरा सुजीलाई अघि सारेको छ ।

अहिलेको निर्वाचनमा चुनावी तालमेल गरेका काँग्रेस, माओवादी र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । यसअघि यो नगरमा २१ हजार ५ सय ७ जना मतदाता थिए भने यो निर्वाचनमा २५ हजार ५ सय २८ जना मतदाता छन् ।

नारायण नगरपालिका

यसअघि मेयरमा एमालेका रत्नबहादुर खड्का ४ हजार ७ सय २५ र उपमेयरमा एमालेकी सावित्री मल्ल ४ हजार ८ सय ६६ मत सहित विजयी भएका थिए । मल्ल हाल नेकपा एकीकृत समाजवादी पार्टीमा लागेकी छन् । २०७४ को निर्वाचनमा काँग्रेसका मणिराम रेग्मी र बासना थापा क्रमशः ४ हजार ४ सय ४५ र ४ हजार २ सय ८९ मतसहित पराजित बनेका थिए ।

अहिले यो नगरको मेयरमा ५ जना र उपमेयरमा ५ जनाको उम्मेदवारी परेको छ । नगरमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीबीच चुनावी तालमेल भएको छ । तालमेल अनुसार मेयरमा नेपाली काँग्रेसबाट निर्मला कुमारी खड्का थापा र उपमेयरमा एकीकृत समाजवादीबाट निवर्तमान उपमेयर सावित्री मल्लको उम्मेदवारी परेको छ ।

एमालेबाट मेयरमा लोमन शर्मा र उपमेयरमा तप्ताकुमारी थापाको उम्मेदवारी परेको छ । यहाँ चुनावी तालमेल गरेका काँग्रेस र एकीकृत समाजवादी एमालेको गढ भत्काउने योजनामा छन् भने नेकपा एमाले नगरको नेतृत्व आफैले गर्ने योजनामा छ । नगरमा एमाले र चुनावी तालमेल गरेका काँग्रेस, नेकपा एकीकृत समाजवादीबीच कडा प्रतिस्पर्धा हुने विश्लेषण गरिएको छ । यसअघि यो नगरमा १५ हजार २ सय २७ जना मतदाता थिए भने यो निर्वाचनमा १७ हजार ८ सय ६७ जना मतदाता छन् ।

गुराँस गाउँपालिका

अघिल्लो निर्वाचनमा नेपाली काँग्रेसका खेमराज ओली ४ हजार १ सय ६४ मत सहित अध्यक्षमा निर्वाचित भए । उनका निकतम्प्रतिस्पर्धी नेकपा एमालेका प्रेमबहादुर खड्काले ३ हजार ४ सय ३२ मत प्राप्त गरेर पराजित भए । उपाध्यक्षमा काँग्रेसकै दिपा कुमारी बिसीले ४ हजार ३७ मत प्राप्त गरेर विजयी हुँदा एमालेकी प्रभादेवी गुरुङ्गले ३ हजार ५ सय ६९ मत प्राप्त गरेकी थिइन् ।

अहिले यो गाउँपालिकाको अध्यक्षमा ७ र उपाध्यक्षमा ६ जनाको को उम्मेदवारी परेको छ । नेपाली काँग्रेसबाट निर्वतमान अध्यक्ष खेमराज ओली, एमालेबाट टोपबहादुर विसीको उम्मेदवारी छ । यो गाउँपालिकामा सत्ता गठबन्धनमा रहेका दलहरुबीच चुनावी तालमेल हुन सकेन् । नेकपा एकीकृत समाजवादीबाट अध्यक्षमा उम्मेदवारी परेको छैन् भने नेकपा माओवादी केन्द्रबाट कृष्ण गिरीको उम्मेदवारी परेको छ । गाउँपालिकामा नेपाली काँग्रेसका नेता पदमबहादुर मल्लले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

गाउँपालिकाको उपाध्यक्षमा काँग्रेसबाट निवर्तमान उपाध्यक्ष दिपाकुमारी बिसी, एमालेबाट शिवा कुमारी खड्काको उम्मेदवारी छ । उपाध्यक्ष पदका लागि नेपाली काँग्रेसकी नेतृ सम्झना कुमारी विकको उम्मेदवारी परेको छ । अध्यक्षमा काँग्रेसका मल्ल र उपाध्यक्षमा विकको उम्मेदवारीपछि एमालेलाई जीत्ने आधार तयार भएको विश्लेषण गरिएको छ । यद्धपी गुराँसमा नेकपा एमाले र नेपाली काँग्रेसको प्रतिस्पर्धा हुने देखिन्छ । २०७४ मा यो गाउँपालिकामा ११ हजार ८ सय ६४ मतदाता थिए भने अहिले १३ हजार ४ सय ९२ मतदाता छन् ।

ठाटीकाँध गाउँपालिका

पाँच बर्ष अघिको निर्वाचनमा यो गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेबाट विजयी भएका थिए । एमालेका धीरबहादुर शाहीले १ हजार ९ सय २४ मत प्राप्त गरेर विजयी हुँदा काँग्रेसका रक्षबहादुर शाह १ हजार ५ सय ६२ र नेकपा माओवादी केन्द्रका योगेन्द्रविक्रमराज थापा १ हजार ३ सय ६ मतमा सिमित भए । उपाध्यक्षमा एमालेकी सुस्मिता सिंह १ हजार ९ सय ७८ मतसहित विजयी भएकी थिइन् । उनका निकटतम् प्रतिस्पर्धा काँग्रेसकी भद्राकुमारी शाहीले १ हजार ५ सय ३२ र नेकपा माओवादी केन्द्रकी सृजना ओलीले एक हजार ३ सय ४४ मत प्राप्त गरिन् ।

त्यसबेला एमालेबाट उपाध्यक्षमा निर्वाचित सुस्मिता सिंह अहिले नेकपा एकीकृत समाजवादीमा छिन् भने नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा चुनाव लडेका योगेन्द्रविक्रमराज थापा नेकपा एमालेमा आबद्ध छन् ।

३० गते हुने निर्वाचनका लागि यो गाउँपालिकाको अध्यक्षमा ६ र उपाध्यक्षमा ४ जनाको उम्मेदवारी परेको छ । अहिले नेकपा एमालेबाट अध्यक्षमा लक्ष्मीदेवी शाह र उपाध्यक्षमा देविराम बडुवालको उम्मेदवारी परेको छ । शाह एमालेबाट दैलेखमा पालिका प्रमुखको एक्लो महिला उम्मेदवार हुन् । काँग्रेसबाट यसअघि पराजित रक्षबहादुर शाहको अध्यक्षमा र उपाध्यक्षमा भद्राकुमारी शाहीको उम्मेदवारी परेको छ ।

नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा उमेशकुमार रावत र उपाध्यक्षमा विजुकुमारी थापा रोकायको उम्मेदवारी परेको छ । एमाले प्रदेश कमिटि अध्यक्षको गृह पालिकामा नेकपा एकीकृत समाजवादी पार्टीका नेता कार्यकर्ताहरु एमालेमै समाहित भईसकेका छन् । यद्धपी चुनावी प्रतिस्पर्धा भने एमाले र काँग्रेसबीच हुने विश्लेषण गरिएको छ । २०७४ मा यो गाउँपालिकामा ८ हजार २ सय १५ मतदाता थिए भने अहिले १० हजार ३ सय ७५ मतदाता छन् ।

डुङ्गेश्वर गाउँपालिका

२०७४ को निर्वाचनमा काँग्रेसका नगेन्द्रबहादुर मल्ल र सीता ज्ञवाली विजयी भएका थिए । मल्लले २ हजार ७ सय ८७ र ज्ञवालीले २ हजार ६ सय २८ मत प्राप्त गरेका थिए । त्यसबेला अध्यक्षमा पराजय बेहोरेका एमालेका मानबहादुर विस्टले २ हजार ४ सय ६९ र उपाध्यक्षमा कलावती न्यौपानेले २ हजार ६ सय १८ मत प्राप्त गरेकी थिइन् ।

अहिले यो गाउँपालिकाको अध्यक्षमा ४ जना र उपाध्यक्षमा ७ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा काँग्रेसका निवर्तमान अध्यक्ष नगेन्द्रबहादुर मल्ल र एमालेबाट सुन्दर कुमार केसीबीच प्रतिस्पर्धा हुँदैछ । उपाध्यक्षमा काँग्रेसका एलिजा कुमारी थापा र एमालेबाट कलावती न्यौपानेबीत प्रतिस्पर्धा हुँदैछ । यहाँ नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबाट क्रमश रविन्द्रकुमार डांगी क्षेत्री र कृष्णा शाही विकको उम्मेदवारी परेको छ ।

यो गाउँपालिकाको अध्यक्षमा काँग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । उपाध्यक्षमा २०७४ मा १० मतले पराजित एमालेकी कलावती न्यौपाने विजयी हुनसक्ने आंकलन गरिएको छ । २०७४ मा यो गाउँपालिकामा ८ हजार ७ सय ८३ मतदाता थिए भने अहिले १० हजार ५ सय ८० मतदाता छन् ।

नौमूले गाउँपालिका

२०७४ को स्थानीय तह निर्वाचनमा काँग्रेसका भदे बुढामगर अध्यक्ष र अमृता सिंह उपाध्यक्षमा निर्वाचित भए । बुढामगरले ३ हजार १ सय ५२ र सिंहले ३ हजार २ सय ८० मत प्राप्त गरेका थिए । अध्यक्षका निकटतम् प्रतिस्पर्धी एमालेका लिलबहादुर रामजालीले २ हजार ६ सय ४४ र नेकपा माओवादी केन्द्रका छविराम सुवेदीले १ हजार ६ सय २८ मत प्राप्त गरेका थिए । उपाध्यक्षका प्रतिस्पर्धी एमालेका झरना चन्दले २ हजार ७ सय ३४, नेकपा माओवादी केन्द्रका चन्द्राकुमारी थापामगरले १ हजार ४ सय १९ मत प्राप्त गरेका थिए ।

अहिले यो गाउँपालिकाको अध्यक्षमा ५ जना र उपाध्यक्षमा ४ जनाको उम्मेदवारी परेको छ । नेपाली काँग्रेसले निवर्तमान अध्यक्ष भदे बुढामगर र निवर्तमान उपाध्यक्ष अमृता सिंहलाई क्रमश अध्यक्ष र उपाध्यक्षको उम्मेदवार बनाएको छ । एमालेले शसिराम विश्वकर्मा र गिता चन्दलाई क्रमशः अध्यक्ष र उपाध्यक्षमा अगाडी सारेको छ । यो गाउँपालिकामा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावी तालमेल गरेका छन् । तालमेल अनुसार माओवादीबाट छविराम सुवेदी अध्यक्ष र गंगबहादुर शाही उपाध्यक्ष पदका लागि चुनावी प्रतिस्पर्धामा छन् । शाही नेपाली काँग्रेसका गाउँ कार्यसमिति उपसभापति हुन् । उनले पार्टी परित्याग गरि एकीकृत समाजवादीबाट उपाध्यक्षको उम्मेवार बनेका हुन् ।

यो गाउँपालिकामा त्रिपक्षिय भिडण्त हुने निश्चित छ । एमाले, काँग्रेस र माओवादी केन्द्र/एकीकृत समाजवादी पार्टीबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ । २०७४ मा यो गाउँपालिकामा ११ हजार ३ सय १ मतदाता थिए भने अहिले १२ हजार ८ सय ६ जना मतदाता छन् ।

भगवतीमाई गाउँपालिका

यसअघिको निर्वाचनमा यो गाउँपालिकामा एमालेले जीत हात पारेको थियो । एमालेका दानबहादुर थापा २ हजार ३ सय २९ मतसहित अध्यक्षमा निर्वाचित भएका थिए । उपाध्यक्षमा एमालेकी चन्द्राकुमारी रेग्मी २ हजार ४ सय २१ मत सहित विजयी भएकी थिइन् । गाउँपालिकामा काँग्रेसका दशरथ खड्काले १ हजार ८ सय ८९, नेकपा माओवादी केन्द्रका गणेशकुमार थापाले १ हजार ६ सय ७२ मत प्राप्त गरेका थिए ।

अहिले गाउँपालिकाका अध्यक्षमा ६ र उपाध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ । एमालेले अध्यक्षमा शान्तिप्रसाद शर्मा र उपाध्यक्षमा बसन्ता शाहीलाई प्रतिस्पर्धामा उतारेको छ । काँग्रेसले यसअघि पराजित दशरथ खड्का र उपाध्यक्षमा मिना कुमारी खड्कालाई उम्मेदवार बनाएको छ । यहाँ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावी तालमेल गरेका छन् । तालमेल अनुसार अध्यक्षमा माओवादी केन्द्रका गणेशकुमार थापा र उपाध्यक्षमा माओवादी केन्द्रकै मनिषा सोनी बिकलाई अघि सारेको छ । यसरी हेर्दा यो गाउँपालिकामा त्रिपक्षिय भीडण्त हुने देखिन्छ । २०७४ मा यो गाउँपालिकामा १० हजार १ सय ५४ मतदाता थिए भने अहिले ११ हजार ४ सय ९३ जना मतदाता छन् ।

भैरबी गाउँपालिका

पहिलो स्थानीय तहको निर्वाचनमा अध्यक्ष र उपाध्यक्षमा प्रेमबहादुर बुढा र पदमकुमारी विस्ट विजयी भएका थिए । बुढा र विस्टले क्रमशः ३ हजार ५ सय ८४ र ३ हजार ४ सय ८३ मत प्राप्त गरेका थिए । अध्यक्षका निकट्तम प्रतिस्पर्धी काँग्रेसका जर्नादन ज्ञवालीले ३ हजार ७७ र उपाध्यक्षमा बसन्ता थापाले २ हजार ९ सय ८२ मत प्राप्त गरेका थिए ।

अहिले यो गाउँपालिकाको अध्यक्षमा ६, उपाध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ । एमालेले अध्यक्षमा सर्वराज महतारा र उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष पदमकुमारी विस्टलाई अघि सारेको छ । काँग्रेसले अध्यक्षमा रिताकुमारी शाही र उपाध्यक्षमा देवी भण्डारीलाई अघि सारेको छ । यहाँ माओवादी केन्द्रले अध्यक्षमा उम्मेदवारी दिएको छैन् ।

माओवादीले उपाध्यक्षमा ऐनबहादुर कठायतलाई अघि सारेको छ भने एकीकृत समाजवादीले अध्यक्षमा जगतप्रसाद आचार्यलाई उम्मेदवार बनाएको छ ।

यसअघि जीत हात पारेको एमालेका लागि यसपटक भैरबीको नेतृत्व प्राप्त गर्न सहज छैन् । काँग्रेसबाट अध्यक्ष र उपाध्यक्ष पदमा दुवै महिला उम्मेदवार छन् । यद्धपी गाउँपालिकाको नेतृत्वका लागि नेपाली काँग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । २०७४ मा यो गाउँपालिकामा १० हजार २ सय ५५ मतदाता थिए भने अहिले १२ हजार ९ सय ३१ जना मतदाता छन् ।
महाबु गाउँपालिका
२०७४ को स्थानीय तहको निर्वाचनमा अध्यक्षमा निर्वाचित जंगबहादुर शाही र प्रेमकुमारी बुढा अहिले नेकपा (एकीकृत समाजवादी) पार्टीमा छन् । एमालेबाट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी भएका शाही र बुढाले क्रमशः ३ हजार ५ सय २२ र ३ हजार पाँच सय ८ मत प्राप्त गरेका थिए । अध्यक्षका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका कर्णबहादुर शाहीले २ हजार ९ सय र उपाध्यक्षका उम्मेदवार मञ्जुकुमारी शर्माले २ हजार ८ सय ८७ मत प्राप्त गरेका थिए ।

अहिले यो गाउँपालिकाको अध्यक्षका लागि ७ जना र उपाध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको छ । एमालेबाट अध्यक्षमा हरिप्रसाद उपाध्याय र उपाध्यक्षमा दुर्गाकुमारी सिंह चुनावी प्रतिस्पर्धामा छन् । नेपाली काँग्रेसले लछुमन गुरुङ्ग र उपाध्यक्षमा मञ्जुकुमारी शर्मालाई अगाडी सारेको छ ।

एकीकृत समाजवादी पार्टीबाट निवर्तमान अध्यक्ष जंगबहादुर शाही र पुण्यप्रभा दसौदीको उम्मेदवारी परेको छ । समाजवादीबाट अध्यक्षमा प्रत्यासी शाही २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट विजयी भएका थिए भने उपाध्यक्षका प्रत्यासी दसौदी नेपाली काँग्रेसको नेता हुन् । दसौदीले काँग्रेस परित्याग गरी एकीकृत समाजवादीबाट उपाध्यक्षमा उम्मेदवारी दिएकी हुन् ।

यसअघि गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा विजयी भएका एमालेलाई अहिले जीत हात पार्न सहज छैन् । यसरी हेर्दा महाबुमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पार्टीबीच त्रिपक्षिय भिडण्त हुने देखिन्छ । २०७४ को निर्वाचनमा यो गाउँपालिकामा १० हजार ३ सय २६ मतदाता थिए भने अहिले १२ हजार २ सय १७ जना मतदाता छन् ।

प्रतिक्रिया