स्थानीय तह निर्वाचन : जेष्ठ नागरिक र अशक्तलाई मतदान केन्द्रमा पुग्नै सकस

स्थानीय तह निर्वाचन : जेष्ठ नागरिक र अशक्तलाई मतदान केन्द्रमा पुग्नै सकस


दैलेख : मुलक यतिबेला स्थानीय तहको निर्वाचनमा होमिएको छ । दलहरुले निर्वाचनको मत परिणाम आफ्नो पोल्टामा पार्न अन्तिम कसरतमा छन् । मंगलवार रातीदेखि मौन अवधी सुरु भईसकेको छ । त्यसअघि दल र दलका उम्मेदवारहरु मात्र होइन, युवा र बालबालिका समेत चुनावी अभियानमा होमिए । दल र दलका उम्मेदवारहरुगाउँ र नगरको विकास, नागरिकको दैनिकी सहज बनाउने प्रतिबद्धता लिएर उम्मेवारहरु मतदाताको घरदैलोमा पुगे ।

संविधान जारी भएपछि दोस्रो पटक हुन लागेको स्थानीय तहको निर्वाचनमा जेष्ठ नागरिक र फरक क्षमता भएका नागरिकहरु भने खुुसी छैनन् । निर्वाचनलाई सफल बनाउन तामझामसहित लागि परेको सरकारले जेष्ठ नागरिक र फरक अपांगता भएका व्यक्तिहरुले मतदानका क्रममा भोगिरहेको सास्तीलाई वेवास्ता गरेको छ । फलस्वरुप जेष्ठ नागरिक र दृष्टिविहिन, बहुअपांगता भएका नागरिकहरुलाई निर्वाचनको उल्लास छैन् ।

निर्वाचन नजिकीदै गर्दा गाउँ गाउँमा चुनावी नाराहरु गुञ्जिएपनि आफुहरु मतदान केन्द्रसम्म कसरी पुग्ने भन्नेमा चिन्तित रहेको नारायण नगरपालिका–२ जाहरकोटकी तुल्सा थापाले बताइन् । नेताहरु सबैका घरमा पुगेपनि जेष्ठ नागरिक र बहुअपांगता भएका नागरिकले सहज रुपमा मतदान गर्न पाउन भन्नेमा सरकारले वेवास्ता गरेको उनको भनाई छ । सरकारले आफुहरुलाई मतदान केन्द्रसम्म पुग्न सहज बनाउन नसक्दा आफुहरुमा निर्वाचनको उत्साह नभएको उनले बताइन् ।

स्थानिय तहको निर्वाचनमा थोरै मतान्तरले हार जीत हुनसक्ने सम्भावना हुँदा दलहरुको खिचातानीको मारमा बृद्धबृद्धा र अपांéता भएका व्यक्तिहरु पर्ने गरेको जेष्ठ नागरिक संघ दैलेखका बीरबहादुर भण्डारीले बताए । मत आफ्नो पक्षमा पार्न दलहरुले तानातान गर्दै आएपनि जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई मतदान केन्द्रसम्म पु¥याउने उचित प्रवन्ध मिलाउन नसकेको भण्डारीको भनाई छ । ‘बढ्दो उमेर र कठिन बाटो भएर घण्टौ लगाएर मतदान केन्द्रसम्म जान सहज छैन्, सडकको पहुँच नभएकार आप्mनो परिवारमा बोकेर लैजानसक्ने व्यक्ति नभएसम्म जेष्ठ नागरिक र बहुअपांगता भएका व्यक्तिहरु मतदान गर्नै पाउँदैनन्,’ भण्डारीले भने ।

निर्वाचनलाई मर्यादित बनाउन, जोखिम न्यूनिकरण गर्न सरकारले नैसम्पूर्ण सार्वजनिक यातायात बन्द गराउँदा झन समस्या पर्ने गरेको नागरिक समाजका अगुवा खड्गबहादुर सिजापतीले बताए । सरकारले आफ्नै नागरिकको मताधिकारको रक्षा गर्न नसकेको उनको आरोप छ । उनले जेष्ठ नागरिक र बहुअपांगता भएका व्यक्तिहरुका लागि मतदानमा सहज तरिकाले भाग लिन पाउने वातावरण सरकारले निर्माण गर्नुपर्ने बताए । नेपालको जनगणना २०६८ का अनुसार ६० बर्ष वा सो भन्दा माथिको जेष्ठ नागरिकहरुको जनसंख्या बिस लाख बढि रहेको तथ्यांक छ ।

जेष्ठ नागरिकसँग दृष्टिविहिन नागरिकहरु समेत मतदान प्रक्रियासँग असन्तुष्ट छन् । नेपाल नेत्रहिन संघका कर्णाली प्रदेश सदस्य ओमप्रकाश शर्माले दृष्टिविहिन नागरिकहरुले आफुले चाहेको योग्य व्यक्तिलाई आफ्नै हातले मतपत्रमा मत संकेत गर्न नपाएको बताए । ‘पहिलो कुरा त मतदान केन्द्रसम्म पुग्नै धौ–धौ पर्छ, दोस्रो दृष्टिविहिनको मताधिकार आफुसँग छैन्, उनले भने ।
नेपालमा दृष्टिविहिन नागरिकको जनसंख्या २ लाखको हाराहारीमा रहेको शर्माले बताए ।

स्थानीय तह निर्वाचन मतदान निर्देशिकाले दृष्टिविहिन व्यक्तिका लागि एकाघरका परिवारको सदस्य वा मतदान अधिकृतले मतदाताको इच्छा अनुसार मत संकेत गरिदिन सक्ने व्यवस्था भएपनि आफुले चाहेको योग्य व्यक्तिले आफ्नो मत पाए भन्नेमा ढुक्क हुन सक्ने अवस्था नरहेको शर्माको भनाई छ । दृष्टिविहिन नागरिकहरुको मताधिकार सम्वन्धी मौलिक हकको समेत सरकारले उलंघन गर्दै आएको शर्माको आरोप छ । ‘आफुले पाएको मताधिकार समेत अरुलाई दिनुपर्ने अवस्था छ, उनले भने ‘त्यसैले हामीलाई मताधिकारले छुन सकेको छैन् ।’

प्रतिक्रिया