दैलेखमा ७० प्रतिशत मत खस्यो (विवरण सहित)

दैलेखमा ७० प्रतिशत मत खस्यो (विवरण सहित)

जिल्लाको डुङ्गेश्वर गाउँपालिका–१ चुप्रास्थित त्रिवेणी संगम मावीमा मतदान गर्न लाइनमा बसेका मतदाता । तस्विर : हिक्मतबहादुर नेपाली

दैलेख : संविधान जारी भएपछि दोस्रो पटक भएको स्थानीय तह निर्वाचन अन्तरगर्त दैलेखमा उत्साहपूर्ण मतदान सम्पन्न भएको छ । शुक्रवार सम्पन्न स्थानीय निर्वाचनमा दैलेखमा ७० प्रतिशत मत खसेको छ । चार वटा नगरपालिका र ७ वटा गाउँपालिका गरी ११ वटा स्थानीय तहमा साँझ पाँच बजेसम्म ७० प्रतिशत मत खसेको हो । कुल एक लाख ५८ हजार ४ सय ८९ जना मतदाता मध्ये एक लाख १० हजार ८ सय २५ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लाको नारायण नगरपालिकामा ६८ दशमलव ५ प्रतिशत मत खसेको छ । यहाँ कुल मतदाताको संख्या १७ हजार ६ सय ६७ जना छ । त्यसमध्ये १२ हजार २ सय ४७ मत खसेको हो । कुल २५ हजार ५ सय २८ जना मतदाता रहेको दुल्लु नगरपालिकामा १७ हजार ९ सय १ अर्थात ७० प्रतिशत मत खसेको छ । १४ हजार ६ सय ३३ जना कुल मतदाता रहेको चामुण्डाविन्द्रासैनी नगरपालिकामा १० हजार ५ सय ५३ अर्थात ७२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

आठबीस नगरपालिकाका १६ हजार ५ सय ६७ जना मतदाता मध्ये १२ हजार १ सय ४३ मतदाताले मात्रै मतदान गरेका छन् । यहाँ ७३ प्रतिशत मत खसेको छ । गुराँस गाउँपालिकामा १३ हजार ४ सय ९२ मतदातामध्ये ९ हजार ९ सुय ९५ अर्थात ७४ प्रतिशत मत खसेको छ ।

डुङ्गेश्वर गाउँपालिकामा १० हजार ५ सय ८० मतदाता मध्ये ७ हजार ३ सय ८९ अर्थात ७० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । भगवतीमाई गाउँपालिकामा ६७ प्रतिशत मत खसेको छ । यहाँ रहेको ११ हजार ४ सय ९३ मतदातामध्ये ७ हजार ६ सय ७६ मत खसेको हो ।

यस्तै नौमूले गाउँपालिकामा १२ हजार ८ सय ६ मतदाता मध्ये ८ हजार ३ सय ५५ अर्थात ६५ प्रतिशत मतदाता मात्रै मतदानमा भाग लिएका छन् । महाबु गाउँपालिकाका १२ हजार २ सय १७ जना मतदातामध्ये ८ हजार ३ सय ५६ अर्थात ६८ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय दैलेखका अनुसार ठाटीकाँध गाउँपालिकामा १० हजार ३ सय ७५ मध्ये ७ हजार २ सय २३ अर्थात ७० प्रतिशत र भैरबी गाउँपालिकामा १२ हजार ९ सय ३१ मतदातामध्ये ८ हजार ९ सय ८८ जना अर्थात ६९ दशमलव ५ प्रतिशतले मतदान गरेका छन् ।

प्रतिक्रिया