दैलेखको भैरबी गाउँपालिकामा नेपाली काँग्रेस विजयी

दैलेखको भैरबी गाउँपालिकामा नेपाली काँग्रेस विजयी

 भैरबी गाउँपालिकाले पायो अध्यक्ष र उपाध्यक्षमा दुवै महिला 

भैरबी गाउँपालिकामा नेपाली काँग्रेसबाट निर्वाचित अध्यक्ष रिता शाही र उपाध्यक्ष देवी भण्डारी । 

दैलेख : दैलेखको भैरबी गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएसँगै गाउँपालिकाले दुवै पदमा महिला पाएको छ । नयाँ संविधान जारी भएपछि पहिलो पटक भएको स्थानीय तह निर्वाचन २०७४ मा नेकपा एमालेले जीतेको यो गाउँपालिकामा अहिले नेपाली काँग्रेसले जितेको हो ।

काँग्रेस केन्द्रीय सदस्य सीता कुमारी रानाको गृह पालिका भैरबी गाउँपालिकाको अध्यक्षमा काँग्रेसकी रिता शाही निर्वाचित भएकी छन् । उनले ३९७६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका सर्वराज महताराले ३९६० मत पाए । महतारा निवर्तमान जिल्ला समन्वय समितिका सदस्य हुन् । गाउँपालिकाको अध्यक्षमा निर्वाचित शाही नेपाली काँग्रेस दैलेखको उपसभापति हुन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा भैरबी गाउँपालिका–३ को वडाध्यक्षमा निर्वाचित देवी भण्डारी अहिले उपाध्यक्षमा निर्वाचित भएकी छन् । काँग्रेसबाट उपाध्यक्षमा निर्वाचित भण्डारी २०७४ को स्थानीय तह निर्वाचनमा निर्वाचित हुने दैलेखको ९० वडामै एक्लो हुन् ।

उनी ३३७४ मतसहित गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी हुन् । निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका पदमकुमारी विस्टले ३२२७ मत पाइन् । विस्ट २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

यो गाउँपालिकामा ४ वटा वडामा एमाले, २ वटामा काँग्रेस र १ वटामा स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया