दैलेखका ११ तहमा नवनिर्वाचित प्रमुख र अध्यक्षले लिए सपथ

दैलेखका ११ तहमा नवनिर्वाचित प्रमुख र अध्यक्षले लिए सपथ


११ स्थानीय तहका प्रमुख र अध्यक्षलाई सपथग्रहण गराउँदै जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत दण्डपाणि लामिछाने । तस्विर : हिक्मतबहादुर नेपाली ।

दैलेख : दैलेखको ११ वटै स्थानीय तहका नवनिर्वाचित प्रमुख र अध्यक्षले सपथ लिएका छन् । जिल्लाको ४ वटा नगरपालिकाका प्रमुख र ७ वटा गाउँपालिकाका अध्यक्षले पद तथा गोपनियतका सपथ लिएका हुन् । स्थानीय तहको प्रमुख र अध्यक्षले जिल्ला न्यायाधीशबाट सपथ ग्रहण लिनुपर्ने व्यवस्था छ । सोहि बमोजिम जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत दण्डपाणि लामिछानेले पालिका प्रमुख र अध्यक्षलाई सपथग्रहण गराएका हुन् । बिहीवार जिल्ला सदरमुकाममा आयोजित कार्यक्रममा पालिका प्रमुख र अध्यक्षले न्यायाधीशसमक्ष सपथ लिएका हुन् ।

४ वटा नगरपालिका र ७ वटा गाउँपालिका रहेको दैलेखको नारायण नगरपालिकामा एमालेका लोमन शर्मा, दुल्लु नगरपालिकामा काँग्रेसका भरतप्रसाद रिजाल, आठबीस नगरपालिकामा एमालेका तर्कबहादुर बडुवाल र चामुण्डाविन्द्रासैनी नगरपालिकामा काँग्रेसका गणेशकुमार शाही नगरप्रमुखमा निर्वाचित भएका छन् ।

गुराँस गाउँपालिकामा एमालेका टोपबहादुर बिसी, डुङ्गेश्वर गाउँपालिकामा एमालेका सुन्दरकुमार केसी, भगवतीमाई गाउँपालिकामा माओवादी केन्द्रका गणेशबहादुर थापा, नौमूले गाउँपालिकामा माओवादी केन्द्रका छविराम सुवेदी, महाबु गाउँपालिकामा काँग्रेसका लछुमन गुरुङ्ग, भैरबी गाउँपालिकामा काँग्रेसका रिता शाही र ठाटीकाँध गाउँपालिकामा काँग्रेसकै रक्षबहादुर शाह निर्वाचित भएका छन् ।

वैशाख ३० गते एकै चरणमा सम्पन्न भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल भोलि जेठ ६ गतेबाट सुरु हुँदैछ । कार्यभार सम्हाल्नुअघि नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ दिनुपर्ने कानुनी व्यवस्था छ ।

जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृतबाट शपथ लिएपछि प्रमुख र अध्यक्षले अरुलाई शपथ गराएका छन् । शपथ लिएपछि प्रमुख र अध्यक्षले उपप्रमुख वा उपाध्यक्षसहित वडा अध्यक्ष, महिला सदस्य, दलित सदस्य र अन्य सदस्यलाई शपथ गराएर कार्यभार सम्हाल्ने जिल्ला निर्वाचन कार्यालय दैलेखका निर्वाचन अधिकारी मनमाया काउचाले बताइन् । उनका अनुसार वैशाख ३० गते भएको मतदानबाट दैलेखमा ४ सय ७२ जना जनप्रतिनीधि निर्वाचित भएका छन् । पालिका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष २२ जना, वडाध्यक्ष ९० जना, महिला सदस्य ९०, दलित सदस्य ९० र अन्य सदस्य एक सय ८० जनागरी ४ सय ७२ जना जनप्रतिनीधि चुनिएका छन् ।

प्रतिक्रिया