गाउँका सिंहदरबार : नयाँ जनप्रतिनीधिका नयाँ योजना

गाउँका सिंहदरबार : नयाँ जनप्रतिनीधिका नयाँ योजना

कतै निशुल्क एम्बुलेन्स सेवा, कतै नगरबस सञ्चालन

पहिलो निर्णयमा हस्ताक्षर गरेर कार्यभार सम्हाल्दै चामुण्डानगरका प्रमुख गणेशकुमार शाही ।

दैलेख : नयाँ संविधान जारी भएपछि अस्तित्वमा आएको गाउँका सिंहदरबारमा पहिलो कार्यकालका लागि चुनिएका जनप्रतिनीधि शुक्रवारदेखि बिदा भए । बैशाख ३० गते भएको मतदानपछि आगामी पाँच वर्षका लागि नयाँ जनप्रतिनीधि चुनिएका छन् । गाउँका सिंहदरबारमा चुनिएका अधिकाँश पालिकामा निर्वाचित जनप्रतिनीधिले शुक्रवार पदभारग्रहण गरेका छन् ।

दैलेखका ११ तहका जनप्रतिनीधिहरुले पदभार ग्रहण गरेका छन् । दोस्रो कार्यकालका लागि चुनिएको जनप्रतिनीधिहरुले कार्यभार सम्हाल्दा केहि न केहि निर्णय गरे । कतै गर्भवती तथा सुत्केरी महिलालाई एम्बुलेन्स सेवा निशुल्क गर्ने त कतै नगरबस सञ्चालन गर्नेसम्मका निर्णय गर्नमा नवनिर्वाचित जनप्रतिनीधिहरु हौसिए । कतिपय जनप्रतिनीधिहरुले कार्यकालभरी पाउने पारिश्रमिक नलिने घोषणासमेत गरेका छन् । मतदातासमक्ष थुप्रै आश्वासन र सपना बाँडेर निर्वाचित भएका जनप्रतिनीधिहरुले फेरी जनता रिझाउने खाले निर्णयहरु गरेका छन् ।

दुल्लु नगरपालिकाको प्रमुख भरतप्रसाद रिजाल र उपप्रमुख बिना कार्कीले पदभारग्रहणसँगै गर्भवती र सुत्केरीलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेका छन् । उनिहरुले गरेको निर्णयमा सोहि नगरमा रहेको अस्पतालको सेवा अप्रर्याप्त भएको उल्लेख छ । गर्भवती तथा सुत्केरी महिलाहरूलाई थप उपचारका लागि दुल्लु क्षेत्र भन्दा बाहिर लिनु पर्ने अवस्थामा दुल्लु अस्पतालको सिफारिसमा नगरले निशुल्क एम्बुलेन्स सेवा दिने नगरउपप्रमुख बिना कार्की बताइन् ।

भैरबी गाउँपालिकाका अध्यक्ष रिताकुमारी शाहीले गाउँपालिकामा दुई वटा नगर बस सञ्चालन गर्ने र गर्भवती महिला र सुत्केरी महिलालाई एम्बुलेन्स सेवा निशुल्क गर्ने पहिलो निर्णय गरेकी छन् । गाउँपालिकाका स्वास्थ्य चौकीको स्वास्थ्य सेवा अप्रयाप्त भई जिल्ला अस्पताल तथा बाह्य जिल्ला लैजानुपर्ने गर्भवती तथा सुत्केरीका लागि एम्बुलेन्स सेवा निशुल्क गरिने निर्णयमा उल्लेख छ ।

चामुण्डाविन्द्रासैनी नगरका मेयर गणेशकुमार शाहीले जनताका समस्या सम्बोधनका लागि नगरपालिकामा निःशुल्क टोल–फ्रि सेवा संचालन गर्ने निर्णय गर्दै कार्यभार सम्हाले । गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसी र उपाध्यक्ष शिवाकुमारी खड्काले गाउँपालिकाका सबै नागरिकको निशुल्क स्वास्थ्य बिमा गर्ने, बैंकसँग समन्वय गरी सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै वितरण गर्ने निर्णय गरे । कार्यभार सम्हाल्दा उनिहरुले मोबाइल नेटवर्कको पहुँच नपुगेको स्थानमा समस्या समाधान गर्ने, फर्निचर अभाव रहेका स्कुलमा तत्काल व्यवस्थापन गर्ने निर्णय समेत गरेका छन् ।

नौमूले गाउँपालिकाका अध्यक्ष छविराम सुवेदीले आफुले पाउने पारिश्रमिक नलिने घोषणा गरेका छन् । उनले आफूले गाउँपालिकाबाट पाउने तलब र भत्ता अक्षयकोषमा जम्मा गरेर द्वन्द्व पीडित, जेहेनदार र गरिब बालबालिकालाई छात्रवृत्ति प्रदान गर्ने बताए ।

आठबीस नगरका प्रमुख तर्कबहादुर बडुवाल र उपप्रमुख कल्पना थापाले कार्यभार सम्हाल्दा गरेको निर्णय अनुसार आगामी ३ बर्षभित्र नगरका सबै घरधुरीमा विद्युत सेवा पुग्नेछ । यस्तै नगरका गर्भवती तथा सुत्केरी महिलाहरुका उद्धारका लागि निःशुल्क एम्बुलेन्स सेवा गर्ने निर्णय गरेको उपप्रमुख थापा बताउँछिन् । नारायण नगरका प्रमुख लोमन शर्मा र उपप्रमुख तप्ताकुमारी खड्का थापाले खानेपानीको न्यूनतम् शुल्क मिनाहा गर्ने निर्णय गरेका छन् । नगरमा रोजगार बैंक मार्फत रोजगारी प्रदान गर्ने, विकास गतिविधिमा सुशासन र पारदर्शीता कायम गर्ने र जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा निशुल्क गर्ने निर्णय उनिहरुले गरेका छन् ।

गाउँका अध्यक्ष उपाध्यक्ष र नगरका प्रमुख उपप्रमुखसँगै वडाध्यक्षहरुले समेत कार्यभार सम्हाल्दा निर्णय गर्नबाट पछि परेनन् । नारायण नगरपालिका–१ का वडाध्यक्ष सन्देशकुमार श्रेष्ठले वडाका नागरिकको निधन भए १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरे । उनको निर्णयले अब वडामा बसोबास गर्ने कुनै पनि नागरिकको मृत्यु भएमा वडाबाट मृतकका परिवारले १५ हजार रुपैयाँ सहयोग पाउनेछन् । यतिमात्र होइन उनले पाउने पारिश्रमिक कोष स्थापना गरि आपत्तकालिन अवस्थामा खर्च गर्ने बताए ।

आगामी पाँच वर्षे कार्यकालका लागि चुनिएका जनप्रतिनीधिले गरेको पहिलो निर्णय नै मतदातालाई रिझाउने र खुसी पार्नका लागि भएको नागरिक अगुवा बताउँछन् । ‘पहिलो कार्यकालमा जनप्रतिनीधिले गरेको कतिपय निर्णय पुरा नगरेरै बिदा भए, दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनीधिहरुलाई पनि निर्णय गर्न तछाँड मछाँड छ,’ एक नागरिक अगुवाले भने ।

प्रतिक्रिया