हुम्लामा पहुँचका भरमा टिकट वितरण, सर्वसाधारणलाई सास्ती

          |   प्रकाशित मितिः बिहिबार, जेष्ठ १२, २०७९     ::: 93 पटक पढिएको   |  

हुम्ला : हुम्लामा पहुँचको भरमा जहाजको टिकट वितरण हुँन थालेपछि सर्वसाधारणलाई सास्ती हुने गरेको छ । पहुँचका भरमा टिकट वितरण गर्दा हुम्लाको हवाई यात्रा असहज बनेको छ । हवाइमार्ग भएर यात्रा गर्दा अत्याधिक खर्च हुने गरेको छ ।

हुम्लामा निजी क्षेत्रका तारा र समिट एयरलाइन्सले मात्र उडान भर्दैआएका छन् । हुम्ला हालसम्म सडक सञ्जालसँग जोडिन सकेको छैन । सुर्खेतबाट हुम्ला जान १० हजार र हुम्लाबाट सुर्खेत आउन सात हजार भाडा तिर्नुपरेको यात्रु बताउँछन् ।

नेपाल वायुसेवा निगमको न्यून उडानका कारण यात्रु थप मारमा परेका छन् । थप उडानका लागि स्थानीयवासीले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामालाई गुहार्दै आएका छन् ।

नेपालगञ्ज जानका लागि जहाजको टिकट लिन एक हप्तासम्म लगातार विमानस्थल धाउँदा पनि खाली हात फर्कनुपरेको खार्पुनाथ गाउँपालिका–१ प्युसका प्रेम शाही बताउँछन् । “तारा एयरले दैनिक एउटा मात्र उडान भर्छ, टिकट पाउनै मुस्किल छ,” उनले भने ।

निजी एयरलाइन्स कम्पनीले नियमित उडान नभर्दा सबैभन्दा बढी हुम्ली मारमा परेका छन् । सिमकोटमा उडान भर्दै आएका सीता र समिटले हुम्लाको उडान सङ्ख्या कटौती गरेका छन् । सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले उडान भर्न छाडेको छ ।

सुर्खेतभन्दा नेपालगञ्जबाट हुम्लाका लागि हवाई यात्रा अझ महँगो छ । यस्तै समस्या डोल्पा जानका लागि छ । नेपालगञ्जबाट डोल्पा जाँदा रु नौ हजार र फर्कँदा रु पाँच हजार तिर्नुपर्छ । पछिल्लो समय डोल्पा जान स्थलमार्गको प्रयोग बढ्दै गएको छ ।



Leave a comment

Your email address will not be published.


*