विद्यालयमा भ्रष्टाचार गरेको आरोपमा निवर्तमान वडाध्यक्षसहित ३ जनाविरुद्ध आरोपपत्र दायर

विद्यालयमा भ्रष्टाचार गरेको आरोपमा निवर्तमान वडाध्यक्षसहित ३ जनाविरुद्ध आरोपपत्र दायर

दैलेख : दैलेखको एक सामुदायिक विद्यालयमा आईसीटी व्यवस्थापन गर्ने भन्दै भ्रष्टाचार गरेको आरोपमा तीन जनाविरूद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको छ । दैलेखको आठबीस नगरपालिका–८ का निवर्तमान वडाध्यक्ष तथा गणेश आधारभूत विद्यालय व्यवस्थापन समितिका सदस्य मुक्तिप्रसाद उपाध्याय, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तकबहादुर कामी र प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका सदस्य सचिव अनिल कुमार शाहीविरूद्ध आरोपपत्र दायर भएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी   दिए ।

भण्डारीका अनुसार उनीहरूले दैलेखको आठबिस नगरपालिका–८मा रहेको श्री गणेश आधारभूत विद्यालय विशालामा आइसिटी व्यवस्थापन गर्ने भनेर भ्रष्टाचार गरेको आरोप छ । उनिहरुविरुद्ध आव २०७६/०७७ मा सामान खरिद गर्न भनी विद्यालयले रकम हिनामिना गर्ने उद्देश्यले नक्कली बिल भरपाई तथा दाखिला प्रतिवेदन तयार गरी भुक्तानीको लागि नगरपालिकामा रकम माग गरेको भन्ने उजुरी परेको थियो ।

तीनै जनाले वडाको उज्यालो सोलार वितरण कार्यक्रमको रकम भुक्तानीको वाहाना गरी आ.व.२०७६/०७७ मा विद्यालयमा आईसीटी व्यवस्थापनको लागि विद्यालयमा वजेट विनियोजन नै नभएको अवस्थामा बिभिन्न मितिमा आईसीटी व्यवस्थापन गर्न सोलार खरिद गर्न कोटेशन आव्हान गर्ने, कोटेशन छनौट गर्ने र सामाग्री नै खरिद नगरी खरिद गरी सकेको भनी विद्यालय व्यवस्थापन समितिको निर्णय गरी सोही निर्णयको आधारमा झुट्टा बिल कागजात तयार गरी भ्रष्टाचार गरेको आरोप छ ।

आठबिस नगरपालिका–८को कार्यालयबाट हुँदै नभएको कामलाई कार्य सम्पन्न भएको भनी सिफारिससमेत गरेको आयोगका प्रवक्ता भण्डारीले जानकारी दिए । आयोगका अनुसार उनीहरूले सरकारी रकम खाने, मास्ने उद्देश्यका साथ ४ लाख ९८ हजार गैरकानूनी लाभ लिन गलत लिखित तयार गर्न खोजेको थिए । उनीहरूलाई भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम माग दाबी लिई आयोगको भ्रष्टाचार निवारण ऐन अन्तर्गत आरोपपत्र दायर भएको जनाइएको छ ।

 

प्रतिक्रिया