जिसस दैलेखको निर्वाचन जेठ २६ गते, गठबन्धन मिल्दा एमालेलाई चुनौती

जिसस दैलेखको निर्वाचन जेठ २६ गते, गठबन्धन मिल्दा एमालेलाई चुनौती

फोटो- जिल्ला समन्वय समिति दैलेख ।

दैलेख : जिल्ला समन्वय समिति दैलेखको निर्वाचन यही जेठ २६ गते हुने भएको छ । जेठ २१ गते मतदाता नामावली प्रकाशनबाट सुरु हुने निर्वाचन प्रक्रिया २६ गते मतदान भएर सम्पन्न हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

कार्यालयले सार्वजनिक गरेको तालिकाअनुसार २३ गते उमेदवारको मनोनयन दर्ता हुने छ । जेठ २४ गते उमेदवारको अन्तिम नामावली प्रकाशन हुने छ । यस्तै, २४ गते नै उमेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ । जेठ २६ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मतदान हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

११ पालिका रहेको दैलेखमा २२ जनाले मतदान गर्न पाउनेछन् । जिल्ला समन्वय समितिको प्रमुख बन्न १२ मत आवश्यक पर्छ । यो अवस्थामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको तीन मत जिल्ला समन्वय समिति गठन गर्न निर्णायक हुने देखिएको छ । दैलेखमा नेकपा माओवादी केन्द्रसँग २ र एकीकृत समाजवादी पार्टीसँग एक मत छ । काँग्रेससँग ९ मत छ । सत्ता गठबन्धनमा रहेका दलहरु नेपाली काँग्रेस, माओवादी र नेकपा एस मिलेको खण्डमा एमालेलाई जिल्ला समन्वय समिति गठनमा चुनौती देखिन्छ ।

नेकपा एमालेसँग १० मत छ । जिल्ला समन्वय समिति आफ्नो पोल्टामा पार्न एमालेलाई थप २ मत आवश्यक पर्छ । सत्ता गठबन्धन दलहरु एकजुट भएको खण्डमा एमालेलाई जीत हात पार्न असहज देखिन्छ । २०७४ मा एमाले एक्लैले जिल्ला समिति गठन गरेको थियो ।

प्रतिक्रिया