मानव अधिकार प्रवद्र्धनमा सचेत छौँ : उपमेयर थापा

मानव अधिकार प्रवद्र्धनमा सचेत छौँ : उपमेयर थापा


दैलेख : नारायण नगरपालिकाका उपमेयर तप्ताकुमारी थापाले मानव अधिकार प्रवद्र्धनका लागि आफूहरु सचेत रहेको बताएकी छन् । नवनिर्वाचित उपमेयरलाई शुक्रवार बधाई तथा कार्यकाल सफलताको शुभकामना दिन पुगेका अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कर्णाली प्रदेश संयोजक नारायण सुबेदी नेतृत्वको टोलीसंग उपमेयर थापाले सवाल प्राथमिकीकरणमा जुटेको उल्लेख गरिन् ।

मानव अधिकारको सवाललाई प्राथमिकीकरण गर्दा सबै भन्दा धेरै महिला माथि हुने हिंसा, त्यसको अलवा जातीय विभेद लगागतका कुरीति, कुसंस्कार विद्यमान रहेकाले यी सबै समाधानका लागि नागरिक समाजसंगको सहयोग चाहिएको उपमेयर थापाले बताइन् ।

इन्सेकका कर्णाली प्रदेश संयोजक सुबेदीले इन्सेकका प्रकाशन हस्तान्तरण गर्दै हिंसा रोकथाम र समाजमा रहेका सबै प्रकार विभेद असमानता न्यूनीकरण गर्दै पछाडि पारिएका नागरिकहरुको सामाजिक न्याय प्रत्याभूती दिलाउन नगरपालिकासंग सहकार्य गर्न तयार रहेको बताए ।

त्यस्तै इन्सेक कर्णाली प्रदेश कार्यालयले सिमान्तकृतहरका लागि शुक्रवार जातीय विभेद र लैंगिक हिंसा सम्बन्धी कानूनी सचेतना कार्यक्रम गरेको छ । नमूनाबस्तीका बादी समुदायलाई जातीय विभेद तथा लैंगिक हिंसा बारे कानूनी व्यवस्था र अधिकार प्राप्तीका लागि कानूनी उपचार विषयमा अधिवक्ता मातृकाप्रसाद खनालले सहजीकरण गरेका थिए ।

त्यसअघि शुक्रवार नै इन्सेकको ‘अधिकार २’ परियोजना अन्तरगत दैलेख सदरमुकाममा गठित मानव अधिकार रक्षक सञ्जालले गरिरहेको मानव अधिकार प्रवद्र्धन सम्वन्धी काम र यसको प्रभाव विषयमा समीक्षा भयो ।
इन्सेकका कर्णाली प्रदेश संयोजक सुबेदीको उपस्थितिमा भएको मासिक बैठकमा सञ्जालका संयोजक बिशाल सुनारले स्थानीय तह निर्वाचनको पर्यवेक्षण, मानव अधिकार ज्यादतीका घटनाका पीडितको न्याय निम्ति सरोकारवाला निकायसंग समन्वय बारे प्रकाश पारे ।
नवनिर्वाचित जनप्रतिनिधिहरुलाई मानव अधिकार सवाल बारे जानकारी गराउने, पीडितहरुको न्याय निम्ति स्थानीय सरकारको दायित्व विषयमा जवाफदेही बनाउन मानव अधिकार रक्षक सञ्जालले पहल गर्नुपर्ने इन्सेकका कर्णाली प्रदेश संयोजक सुबेदीले सुझाव दिए ।

‘अधिकार २’ परियोजनाको कायक्षेत्र दुल्लू नगरपालिका र आठबीस नगरपालिकाका दुई–दुई गरी चार स्थानमा जातीय विभेद तथा लैंगिक हिंसा बारे कानूनी सचेतना कार्यक्रम हुने, यी दुइटै नगरपालिका जनप्रतिनिधिसंग भेटघाट र त्यहाँ गठित मानव रक्षक सञ्जालले गरिरहेका कामको समीक्षा गर्ने पाँच दिने कार्यक्रम रहेको ‘अधिकार २’ परियोजना कार्यक्रम अधिकृत परिस्कृत पौडेलले जानकारी दिए ।
ती अभियान कार्यक्रम गर्न इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुबेदी, अधिवक्ता मातृकाप्रसाद खनाल, ‘अधिकार २’ परियोजना कार्यक्रम अधिकृत परिस्कृत पौडेल र इन्सेक जिल्ला प्रतिनिधि अमर सुनार सहभागी रहनेछन् ।

प्रतिक्रिया