सल्यानमा हिउँदे आलु उत्पादनमा वृद्धि

सल्यानमा हिउँदे आलु उत्पादनमा वृद्धि

सुर्खेत : सल्यान जिल्लामा हिउँदे आलु उत्पादनमा वृद्धि आएको छ । आलु खेतीका लागि यस वर्ष मौसम उपयुक्त हुनुका साथै कृषि विकास कार्यालयबाट उन्नत बिउ वितरण पछि यस वर्ष हिउँदे आलु उत्पादनमा वृद्धि आएको हो ।

कृषि विकास कार्यालय सल्यानका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ मा गत वर्षको तुलनामा १ हजार ५ सय ३२ मेटिकट्न आलु बढी उत्पादन भएको छ । यस वर्ष १ हजार ७ सय २० हेक्टर क्षेत्रफलमा आलु खेती गरिएकोमा १९ हजार ७ सय ६० मेटिकट्न उत्पादन भएको छ ।

जिल्लाका सबै पालिकामा कृषक, कृषि समूहले व्यावसायिक आलु खेती गर्दै आइरहेको कार्यालयका सूचना अधिकारी रेसम कुमार बस्नेतले जानकारी दिनु भयो । किसानका लागि आलु खेती प्रवर्द्धन कार्यक्रम मार्फत अनुदानमा आलुको बिउ वितरण, आलु उत्पादन सम्बन्धी तालिम, आलुमा लाग्ने रोग किरा सम्बन्धी जानकारी र रोकथामका उपाय लगायतका कार्यक्रम गर्दै आएको बस्नेतको भनाई छ ।

गत आर्थिक वर्ष २०७७/७८ मा १८ हजार २ सय २८ मेटिकट्न आलु उत्पादन भएको थियो । गत वर्ष ८ दशमलव ४० प्रतिशत उत्पादकत्व रहेकोमा यो वर्ष बढेर ११ दशमलव ४९ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

गत वर्ष वर्षे आलु २८ हजार १ सय ६० मेटिकट्न उत्पादन भएको थियो । जिल्लामा हिउँदे भन्दा वर्षे आलु बढी मात्रामा खेती हुने गर्दछ । हिउँदे आलु पानीको सिचाई हुने ठाउँमा मात्र लगाउने गरेको पाइन्छ ।

प्रतिक्रिया