निर्वाचन खर्च विवरण बुझाउन आग्रह

निर्वाचन खर्च विवरण बुझाउन आग्रह

दैलेख : जिल्ला निर्वाचन कार्यालय दैलेखले स्थानीय तहको निर्वाचनमा भाग लिएका उम्मेदवारलाई निर्वाचन खर्च विवरण बुझाउन आग्रह गरेको छ । कार्यालयले सूचना जारी गर्दै सबै दलका उम्मेदवारलाई खर्च विवरण पेस गर्न आग्रह गरेको हो । उम्मेदवारले निर्वाचन मत परिणाम सम्पन्न भएको ३० दिनभित्र निर्वाचनमा भएको खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ । सोही अनुसार खर्च विवरण बुझाउन सूचना जारी गरिएको जिल्ला निर्वाचन कार्यालय दैलेखले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी मनमाया काउचाले ३० दिनभित्र निर्वाचनमा भएको खर्चको विवरण बुझाउने पर्ने कानुनी प्रावधानअनुसार विवरण माग गरिएको बताइन् । उनका अनुसार स्थानीय तहको निर्वाचनमा प्रमुख/उपप्रमुख,अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष र सदस्य पदका सबै उम्मेदवारले निर्वाचन आयोगले तोकेको ढाँचामा खर्चको बिल भरपाइ पेस गर्नुपर्ने हुन्छ ।

उम्मेदवारले आफू स्वयं उपस्थित भएर अथवा प्रतिनिधिमार्फत जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउन सकिने निर्वाचन कार्यालयले जनाएको छ । दैलेखका ११ स्थानीय तहमा एक हजार ७६५ जना उम्मेदवार विभिन्न पदमा प्रतिस्पर्धामा थिए । जिल्लाका एक हजार ७६५ उम्मेदवार मध्ये सात जनाले मात्र खर्चको विवरण पेस गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया