जिसस दैलेखको निर्वाचन : सत्ता गठबन्धन दलबीच सम्मानजनक सिट बाँडफाँड

जिसस दैलेखको निर्वाचन : सत्ता गठबन्धन दलबीच सम्मानजनक सिट बाँडफाँड

दैलेख : जिल्ला समन्वय समिति निर्वाचनमा सत्ता गठबन्धनमा रहेका तीन दलहरुले सम्मानजनक सिट बाँडफाँड गर्दै एकमत भएर जाने निर्णय गरेका छन् । दैलेखस्थित नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच सम्मानजनक सिट बाँडफाँड गर्ने सहमती भएको हो ।

काँग्रेस सभापति मणिराम रेग्मीको अध्यक्षतामा बसेको तीन दलिय गठबन्धन दलको बैठकले जिल्ला समन्वय समितिमा तीन वटै पार्टीका लागि सम्मानजनक सिट बाँडफाँड गर्ने निर्णय गरेको हो । यस्तै बैठकले नौमूले, भगवतीमाई र महाबु गाउँपालिका लगाएत गठबन्धनले जितेका पालिकामा एक आपसमा सहयोग गर्ने निर्णय समेत भएको नेकपा माओवादी केन्द्रका संयोजक प्रेमबहादुर कटुवाल क्षेत्रीले बताए ।
गठबन्धन दलको बैठकले गठबन्धनलाई थप उचाईमा पुर्याउँदै आगामी प्रदेश र प्रतिनीधि सभा सदस्य निर्वाचनसम्म लैजाने निर्णय भएको उनले बताए ।

जिल्ला समन्वय समिति दैलेखको निर्वाचन यही जेठ २६ गते हुने भएको छ । जेठ २१ गते मतदाता नामावली प्रकाशनबाट सुरु हुने निर्वाचन प्रक्रिया २६ गते मतदान भएर सम्पन्न हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । कार्यालयले सार्वजनिक गरेको तालिकाअनुसार २३ गते उमेदवारको मनोनयन दर्ता हुने छ । जेठ २४ गते उमेदवारको अन्तिम नामावली प्रकाशन हुने छ । यस्तै, २४ गते नै उमेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ । जेठ २६ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मतदान हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

११ पालिका रहेको दैलेखमा जिल्ला समन्वय समिति निर्वाचनमा २२ जनाले मतदान गर्न पाउनेछन् । जिल्ला समन्वय समितिको प्रमुख बन्न १२ मत आवश्यक पर्छ । जिल्लामा नेपाली काँग्रेससँग ९, माओवादी केन्द्रसँग २ र एकीकृत समाजवादी पार्टीसँग १ मत छ भने एमालेसँग १० मत छ ।

प्रतिक्रिया