मानव अधिकार रक्षक पक्षपात रहित हुनुपर्छ : नगरप्रमुख रिजाल

मानव अधिकार रक्षक पक्षपात रहित हुनुपर्छ : नगरप्रमुख रिजाल


दैलेख : दुल्लू नगरपालिकाका नगरप्रमुख भरतप्रसाद रिजालले मानव अधिकार रक्षकहरुले पक्षपात रहित तरिकाबाट काम गर्न सुझाव दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयले दुल्लूमा आयोजना गरेको मानव अधिकार रक्षकहरुको संरक्षण सवाल विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले मानव अधिकार रक्षकहरुले पक्षपात रहित तरिकाले वकालत तथा पैरबी गरेको वास्तविक पीडितले न्याय पाउन सहज हुने बताए ।

कार्यक्रममा दुल्लू नगरपालिकाका नगर उपप्रमुख बिना कार्कीले समाजमा विद्यमान महिला हिंसा र सबै प्रकारका विभेद तथा असमानता हटाउन इन्सेकको ‘अधिकार २’ परियोजनाले गरिरहेको प्रयास निम्ति धन्यवाद दिंदै नगरपालिका सहकार्य गर्न तयार रहेको बचन दिइन् ।
अधिवक्ता मातृकाप्रसाद खनालले स्थानीय न्यायिक समितिलाई दिइएको अधिकार अनुसार काम गरिदिएमा समाजमा ससाना झैझगडा वा बेमेलहरु समाधान गर्न सके शान्ति र सुव्यवस्था कायम गर्न सहज हुने बताए ।

कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश संयोजक नारायण सुबेदीले सबैको अधिकार र न्यायको निम्ति पहल गर्ने मानव अधिकार रक्षकहरुको सधैं असुरिक्षित हुने भएकोले उनीहरुलाई स्थानीय सरकारले संरक्षणको निम्ति ध्यान दिनुपर्ने बताए ।
अन्तरक्रियामा मानव अधिकार रक्षक सञ्जालका पदाधिकारीहरुले समुदायमा मानव अधिकार प्रवद्र्धन गर्न गरिरहेका प्रयास र जनप्रतिनिधिबाट अपेक्षा गरिएको सहयोग तथा समन्वय विषयमा खुला छलफल भएको थियो ।

‘अधिकार २’ परियोजनाको कायक्षेत्र दुल्लू नगरपालिका दुई स्थानमा मानव रक्षक सञ्जाल गठन गरेको छ । परियोजना अन्तरगत गठित सञ्जाल र नवनिर्वाचित जनप्रतिनिधिहरुकोवीच सहकार्य र समन्वय बढाउन अन्तरक्रिया गरिएको हो ।

 

प्रतिक्रिया