जिसस दैलेखमा सत्ता गठबन्धन पराजित, प्रमुखमा स्वतन्त्र, उपप्रमुखमा एमाले विजयी

जिसस दैलेखमा सत्ता गठबन्धन पराजित, प्रमुखमा स्वतन्त्र, उपप्रमुखमा एमाले विजयी

जिसस प्रमुखमा निर्वाचित नमराज शाही र उपप्रमुखमा निर्वाचित केशवबहादुर शाही । 

दैलेख : जिल्ला समन्वय समिति दैलेखका प्रमुखमा स्वतन्त्र उम्मेदवार नमराज शाही विजयी भएका छन् । शाही सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै जिसस प्रमुखमा विजयी भएका हुन् । जिसस प्रमुखमा निर्वाचित शाहीले १३ मत प्राप्त गरे । सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको तर्फबाट प्रमुखको उम्मेदवार नेपाली काँग्रेसकी दुर्गा कुमारी श्रेष्ठले ९ मत पाइन् ।

स्वतन्त्र उम्मेदवारी दिएर जिसस प्रमुखमा निर्वाचित शाही नेपाली काँग्रेस दैलेखका उपसभापति हुन् । उनले स्वतन्त्र उम्मेदवारी दिएपछि काँग्रेसले साधारण सदस्य समेत नरहने गरी उनलाई पार्टीबाट निष्कासन गरिसकेको छ । जिसस प्रमुखमा निर्वाचित शाहीलाई एमालेले सहयोग गरेको थियो ।

कर्णाली प्रदेशमा सबै भन्दा धेरै ११ वटा स्थानीय तह रहेको दैलेखमा प्रमुख/उपप्रमुख तथा अध्यक्ष/ उपाध्यक्ष गरी २२ जना मतदाता थिए । जिल्ला समन्वय समिति निर्वाचनका लागि एमालेका १०, नेपाली काँग्रेसका ९, माओवादी केन्द्रका २ र समाजवादीका १ जना मतदाताले मतदान गरेका थिए ।

यस्तै जिल्ला समन्वय समितिको उपप्रमुखमा सत्ता गठबन्धनलाई हराउँदै नेकपा एमालेका उम्मेदवार केशवबहादुर शाही निर्वाचित भएका छन् । उनले ११ मत प्राप्त गरेर विजयी भएका छन् । गठबन्धनको तर्फबाट उपप्रमुखको उम्मेदवार बनेकी एकीकृत समाजवादीकी शान्ति शाहीले १० मत प्राप्त गरिन् ।
जिल्ला समन्वय समितिको ३ जना महिला सदस्यमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् । महिला सदस्यमा नेकपा एकीकृत समाजवादीका ११ मत सहित कविताकुमारी गिरी, ११ मतसहित कोकीलाकुमारी खड्का र ११ मत सहित पुर्णा विक निर्वाचित भएका छन् ।

दलित वा अल्पसंख्यक सदस्यमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी बनेकी नेकपा माओवादी केन्द्रकी तुल्छा विक ११ मत ल्याएर निर्वाचित भएकी छन् । यस्तै अन्य ३ जना सदस्यमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका अङ्गबहादुर शाही ११ मत र नेकपा माओवादी केन्द्रका फत्तबहादुर डांगी ११ मत सहित विजयी भएका छन् । अन्य सदस्यमै स्वतन्त्र उम्मेदवार दिलबहादुर शाही ११ मत सहित विजयी भएका छन् ।

जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख तथा सदस्यमा निर्वाचितहरु ।

प्रमुख–नमराज शाही (स्वतन्त्र)
उपप्रमुख–केशवबहादुर शाही (एमाले)
सदस्य–कविताकुमारी गिरी (नेकपा एकीकृत समावादी)
सदस्य–कोकीलाकुमारी खड्का (नेकपा एकीकृत समावादी)
सदस्य–पुर्णा विक (नेकपा एकीकृत समावादी)
सदस्य–तुल्छा विक (नेकपा माओवादी केन्द्र)
सदस्य–अङ्गबहादुर शाही (नेपाली काँग्रेस)
सदस्य– फत्तबहादुर डांगी (नेकपा माओवादी केन्द्र)
सदस्य – दिलबहादुर शाही (स्वतन्त्र)

प्रतिक्रिया