प्राइड मन्थ २०२२ : विद्यालय तहमा सचेतनामुलक कार्यक्रम

प्राइड मन्थ २०२२ : विद्यालय तहमा सचेतनामुलक कार्यक्रम


प्राइड मन्थको अबसरमा गुराँस गाउँपालिका–४ स्थित लक्ष्मी बाल क्लबले आयोजना गरेको चेतनामुलक कार्यक्रम । 

दैलेख : अंग्रेजी पात्रो अनुसार जुन महिनालाई ‘प्राइड मन्थ’ अर्थात गर्वको महिना मानिन्छ । यो महिना यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको लागि विशेष महत्व राख्छ । विश्वभरका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय र उनीहरूका सहयात्रीले जुन महिनालाई प्राइड मन्थका रूपमा मनाउँछन् । नेपालमा पनि जुन महिनामा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले विभिन्न कार्यक्रम गरेर ‘प्राइड मन्थ’ मनाउने गर्दछन् । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका लागि आफ्नो पहिचान देखाउने तथा आफ्नो समुदायले प्राप्त गरेका उपलब्धिप्रति गर्व गर्ने महिनाका रूपमा पनि यसलाई लिने गरिन्छ ।

कर्णालीमा पनि ‘प्राइड मन्थ’ मा सचेतनामुलक कार्यक्रम आयोजना गर्न थालिएको छ । दैलेखको गुराँस गाउँपालिकाका बालबालिकाहरुले विद्यालय र समुदायस्तरमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरेका छन् । शुक्रवार गुराँस गाउँपालिका–४ स्थित लक्ष्मी बालक्लबले विद्यालयमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ । बाल क्लबले लैंगिक हिंसा विरुद्ध नाटक प्रर्दशन गरेका छ । लिङ्गका आधारमा विभेद गर्नुहुँदैन भन्ने सन्देश दिँदै विद्यालयमा नाटक प्रर्दशन गरिएको बाल क्लबका अध्यक्ष देवीसरा मल्लले बताइन् ।

बाल क्लबका पदाधिकारी र तथा सदस्य, विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक र अभिभावकको उपस्थितीमा प्ले कार्ड समेत प्रर्दशन गरिएको छ । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकारबारे जानकारी दिँदै यो समुदायका बालबालिकाहरुमाथी हुने हिंसा, भेदभाव तथा दुव्र्यवहार अन्त्य गर्न विद्यालय र समुदायस्तमा सचेतनामुलक कार्यक्रम गरिएको अध्यक्ष मल्लले बताइन् ।

गुराँस गाउँपालिकामा सेभ द चिल्ड्रेन र सोसेक नेपालको साझेदारी तथा गाउँपालिकाको समन्वयमा लैङ्गिकता तथा समावेशीकरण (एलजीबीटीआई) परियोजना सञ्चालित छ । ‘प्राइड मन्थ–२०२२’ गुराँस गाउँपालिकाका विद्यालय र समुदायस्तरमा सचेतनामुलक कार्यक्रम गरी मनाउन थालिएको परियोजना संंयोजक सजना सुनारले बताइन् । ‘प्राइड मन्थमा बाल क्लब मार्फत चेतनामुलका कार्यक्रम सञ्चालन भएका छन्,’ उनले भनिन् ‘यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका युवा तथा बालबालिका विभेदरहित बाँच्न पाउने वातावरण सृजना गर्न परियोजनामार्फत गुराँसका विद्यालय र समुदायस्तरमा विभिन्न क्रियाकलाप सञ्चालन भईरहेको छ ।’

गाउँपालिकाले यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुलाई मासिक भत्ता उपलब्ध थालेको छ । गाउँपालिकाको आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेटमा गाउँपालिकाभित्र रहेका यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको संरक्षण र सामाजिक सुरक्षाका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने नीति अघि सारेको थियो ।

प्रतिक्रिया