सकियो ‘नागरिक समाज पारस्परिक जवाफदेहीता परियोजना’

सकियो ‘नागरिक समाज पारस्परिक जवाफदेहीता परियोजना’

दैलेख : दैलेखको नारायण नगरपालिका र गुराँस गाउँपालिकामा सञ्चालित नागरिक समाज पारस्परिक जवाफदेहीता परियोजना सकिएको छ । युएसएआइडीको आर्थिक सहयोग, एफएचआई ३६० को व्यवस्थापन र सुन्दर नेपाल संस्था कार्यान्वयनकर्ता रहेको परियोनना सकिएको हो । सोमवार सुन्दर नेपाल संस्थाले आयोजना गरेको परियोजना समापन बैठकमा यस्तो जानकारी दिईएको हो । २०१६ मार्चदेखि सञ्चालित २०२२ जुनमा सकिएको हो ।

सार्वजनिक हितलाई अघि बढाउन सक्ने बैद्य, उत्तरदायी, दिगो, इमान्दार र जवाफदेही नेपाली नागरिक समाजलाई प्रोत्साहन गर्ने परियोजनाको लक्ष्य रहेको कार्यक्रम संयोजक प्रविन नेपालीले बताए । उनका अनुसार परियोजनाले नागरिक समाज तथा सञ्चार क्षेत्रमा काम गर्ने संस्थाहरुवीच उपयुक्त परिवेशको सुदृढिकरण गर्ने, प्रभावकारी नीतिगत पैरवी तथा सरकारी निकायहरुसंगको संलग्नताको लागि नागरिक समाज तथा सञ्चार क्षेत्रमा काम गर्ने संस्थाहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्य लिएको थियो ।

यस्तै सार्वजनिक श्रोतको प्रयोग तथा सार्वजनिक सेवा प्रदान गर्ने प्रक्रियामा थप प्रभावकारी निरिक्षण तथा संयोजन गर्ने र स्थानीय समाधानका उपायहरुलाई थप वढावा दिन प्रयासरत युएसएआईडीको प्राथमिकताका क्षेत्रहरुमा छनौट भएका नागरिक समाजका संस्थाहरुको संस्थागत क्षमता तथा दिगोपनाको लागि संस्थागत सुदृढिकरण गर्ने उदेश्य परियोजनाले लिएको थियो ।

परियोजनाले सार्वजनिक सेवाको अनुगमन, साझा सभा बैठक, नागरिक समाजका अगुवा तथा अभियन्ताहरुको पहिचान तथा परिचालन, नागरिक समाज संस्थाहरुको भुमिका र स्थानका बारेमा अन्र्तक्रिया, क्षमता विकास कार्यक्रम संचालन, घटनामा आधारित वकालतका लागि अनुसन्धान, समुदायमा आधारित अनुसन्धानकर्ताहरु परिचालन लगाएतका क्रियाकलाप सञ्चालन गरेको थियो ।

परियोजनाले नगरपालिकालाई सामाजिक जवाफदेहीताका औजारहरुको प्रक्रियागत प्रयोग गर्न, साझेदारी मञ्च, साझा सभा, स्थानीय सभा र हेड गठबन्धनको निरन्तरता दिन र नागरिक समाज र संचारकर्मीवीच समन्वय र सम्बन्ध विस्तार गर्न सिफारिश गरेको जिल्ला कार्यक्रम अधिकृत यज्ञराज थापाले जानकारी दिए । अधिकृत थापाका अनुसार परियोजना समापन बैठकमा नारायण नगरपालिका–७ का वडाध्यक्ष खड्गबहादुर शाहीलाई स्थानीय सभा र सव हेड तथा नगरप्रमुख लोमन शर्मालाई साझेदारी मञ्च हस्तान्तरण गरिएको छ ।

उक्त कार्यक्रममा नगर प्रमुख लोमन शर्माले परियोजनाले सञ्चालनमा ल्याएका धेरै गतिविधिलाई स्थानीय सरकारले निरन्तरता दिने बताए । ‘हामी कार्यपालिकाको बैठकबाट परियोजना पुःन सञ्चालनका लागि आग्रह गर्दै निर्णय गरेर पठाउँछौ,’ उनले भने । उनले नगरपालिकामा सुशासन कायम गर्न प्रतिबद्ध रहेको समेत जिकिर गरेका छन् ।

प्रतिक्रिया