तीन वर्षदेखि बन्द भएको विमानस्थल स्तरोन्नति गर्न बजेट विनियोजन

तीन वर्षदेखि बन्द भएको विमानस्थल स्तरोन्नति गर्न बजेट विनियोजन

सुर्खेत : करिब तीन वर्षदेखि बन्द भएको रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ स्थित विमानस्थल स्तरोन्नति गर्ने भनी बजेट विनियोजन गरिएको छ। यात्रु नपाएर बन्द गरिएको विमानस्थल सामग्री समेत नेपालगन्ज लिएर राखिएको थियो । कर्मचारी समेत कटौती गरी अन्य विमानस्थलमा राखिएको थियो ।

आगामी आर्थिक वर्ष २०७९/०८० को वार्षिक बजेटमा विमानस्थल स्तरोन्नति गर्ने बजेट छुट्याइएको छ । विमानस्थल बढाउने भन्दै बजेट विनियोजन गरिएको हो ।

देशका अरू विभिन्न विमानस्थलको स्तरोन्नति तथा निर्माण गर्न भन्दै १२ अर्ब २४ करोड बजेट विनियोजन गरिएको छ। यसै बजेटबाट चौरजहारी विमानस्थलको पनि स्तरोन्नति हुनेछ। हालको भन्दा ठूलो विमानस्थल बनाइनेछ । यो विमानस्थल जिल्लाको पुरानो विमानस्थल हो । जिल्लामा योसहित दुई विमानस्थल छन् । चौरजहारी विमानस्थल २०२८ मा बनाएर सञ्चालनमा ल्याइएको थियो ।

रुकुम, सल्यान र जाजरकोट जिल्लालाई लक्षित गरी चौरजहारीमा विमानस्थल बनाइएको थियो । २०७० फागुनदेखि २०७२ भदौसम्म धावनमार्ग कालोपत्र गरिएको थियो। ५ करोड ५९ लाख ४९ हजार ९५२ रुपैयाँको लागतमा विमानस्थलको धावनमार्ग कालोपत्र गरिएको थियो। विमानस्थलको स्तरोन्नति भएपछि यहाँ विमान आउन कम भए  ।

‘विमानस्थलमा जहाज नआउने तर स्तरोन्नति मात्र गरेर के गर्ने’‚ स्थानीय बासिन्दा राजु लामिछानेले भने। रुकुम, जाजरकोट र सल्यान जिल्लाका लागि भनेर निर्माण गरिएको विमानस्थल अहिले बेवारिसे जस्तै भएको छ।

जाजरकोट खण्डमा सडक पिच भइसकेको छ भने मध्यपहाडी लोकमार्ग समेत यही विमानस्थलको छेउ भएर जान्छ । सबैभन्दा ठूलो समस्या यहाँको अस्पताललाई भएको छ। विरामी तत्काल बाहिर पठाउन खोज्दा मुस्किल हुने गरेको चौरजहारी अस्पतालका प्रशासक दिलबहादुर गिरीले बताए। यो क्षेत्रको सबैभन्दा ठूलो यही अस्पताल हो।

प्रतिक्रिया