कर्णालीमा पहिलो पटक नारायण नगरले खाद्य सुरक्षा रणनीति बनाउँदै

कर्णालीमा पहिलो पटक नारायण नगरले खाद्य सुरक्षा रणनीति बनाउँदै

नगरमा आयोजना गरिएको खाद्य तथा पोषण सुरक्षा रणनैतिक योजना तर्जुमा कार्यशाला ।

दैलेख : जिल्लाको नारायण नगरपालिकाले खाद्य तथा पोषण सुरक्षा रणनीति बनाउन लागेको छ । नगरपालिकाले फियान नेपालसँगको सहकार्यमा रणनीति बनाउन लागेको हो । नगरपालिका र फियानले खाद्य तथा पोषण सुरक्षा पाँच वर्षे रणनैतिक योजना निर्माणको प्रक्रिया अघि बढाएको छन् । खाद्य सुरक्षा रणनीति बनाउने नारायण नगरपालिका कर्णाली प्रदेशको पहिलो स्थानीय तह हो ।

खाद्य अधिकारको जोखिममा रहेको समुदायको पहिचान गर्न रणनीति बनाउन लागिएको नगरप्रमुख लोमन शर्माले बताए । गरिबी, भोकमरी र कुपोषण र खाद्य असुरक्षामा रहेका जातजाती तथा समुदायको पहिचान गर्ने र भोक मुक्त नगरपालिका बनाउने लक्ष्य लिईएको नगरप्रमुख शर्माले बताए । मेयर शर्माले रणनीतिमा टेकेर आगामी योजना तर्जुमा गरिने समेत जानकारी दिए ।

संघीय सरकारको खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन र कर्णाली प्रदेश सरकारको खाद्य अधिकार तथा सम्प्रभुता सुनिश्चित गर्न बनेको ऐन कार्यान्वयनका लागि रणनीति बनाउन थालिएको फियान नेपालका क्षेत्रिय संयोजक सुरेश गौतमले बताए । उनले पाँत बर्षे रणनीति निर्माण गरी आगामी कार्ययोजनासहित स्रोतको पहिचान गरिने जानकारी दिए ।

रणनीति नगरपालिका भित्रको कृषि पूर्वाधार र बजारिकरण, कृषि र गैरकृषि क्षेत्रमा आयआर्जन तथा जीविकोपार्जन, कृषि विकास, पशुपंक्षी विकास, सेवामुलक स्रोत साधनमा पहुँच र सुरक्षामा केन्द्रीत हुने फियानका कार्यकारी निर्देशक अशोकबहादुर सिंहले बताए । उनका अनुसार खाद्य तथा पोषण शिक्षा, जैविक तथा जलवायू अनुकुलित कृषि, प्राकृतिक स्रोत व्यवस्थापन तथा परिचालन र संस्थागत नीति निर्माणमा केन्द्रीय रहेर रणनीति निर्माण गरिनेछ ।

रणनीति निर्माणका लागि मंगलवार नगर नगरमा खाद्य तथा पोषण सुरक्षा रणनैतिक योजना तर्जुमा कार्यशाला आयोजना गरिएको थियो । नगर प्रमुख लोमन शर्मा, उपप्रमुख तप्ताकुमारी थापा, ११ वटै वडाका वडाध्यक्ष, नगर कार्यपालिका सदस्य, नगरपालिकाको विषयगत शाखा र सरोकारवाला निकायहरुसँग छलफल गर्न कार्यशाला आयोजना गरिएको थियो । रणनीति निर्माणका लागि अब नगरपालिकाका ११ वटै वडाहरुमा छलफल तथा आवश्यक अध्ययन गरिने बताईएको छ ।

प्रतिक्रिया