निर्वाचन आयोगद्धारा आजदेखि मतदाता नामावलीमा नाम दर्ता खुला

निर्वाचन आयोगद्धारा आजदेखि मतदाता नामावलीमा नाम दर्ता खुला

काठमाडौं : निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता खुला गरेको छ । आयोगले बुधबार (आज)बाट मतदाता नामावलीमा नाम दर्ता खुला गरेको हो ।

मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका र योग्यता पुगेका नेपाली नागरिकले नामावली दर्ता गर्न सक्नेछन् । आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार देशका ७७ जिल्लाका निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७३ इलाका प्रशासन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सकिनेछ ।

यसैगरी, आफ्नो स्थायी ठेगाना रहेको जिल्लाबाहिर बसोवास रहेकाले समेत बसोबास रहेकै जिल्लाको निर्वाचन कार्यालय पुगेर नाम दर्ता गर्न सक्नेछन् ।

‘७७ जिल्लाका निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७३ इलाका प्रशासन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सकिनेगरी आयोगले व्यवस्था गरेको छ । आफ्नो स्थायी ठेगानाभन्दा बाहिर बसोबास रहेकाहरूले समेत बसोबास रहेकै जिल्लाको निर्वाचन कार्यालय पुगेर नाम दर्ता गर्न सक्नेछन्,’ आयोगका सूचना अधिकारी अर्यालले भने ।

यसरी दर्ता गरिने नामावलीलाई भने आयोगले मतदाताको स्थायी ठेगाना रहेको जिल्लामा नै प्रणालीमार्फत पठाउनेछ । आयोगले १६ वर्ष उमेर पूरा भएका नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गर्न योग्य मान्दै आएको छ भने मतदानका लागि तोकिएको मितिमा १८ वर्ष उमेर पुगेको हुनुपर्नेछ ।

यसैगरी, पहिले दर्ता कायम भएका तर नामावलीमा त्रुटि भएकाले स्थायी ठेगाना भएका जिल्ला निर्वाचन कार्यालय गएर सच्याउन सक्नेछन् । त्यसका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालय नै जानुपर्नेछ । अथवा आयोगले इमेलमार्फत् पनि त्रुटि सच्याउन सकिने व्यवस्था गरेको छ ।

अर्यालका अनुसार माग भएका आवश्यक कागजात पेस गरेर सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयमा अनलाइन प्रणालीमार्फत निवेदन दिएर नामावली सच्याउन सकिने गरी आयोगले व्यवस्था गरेको हो ।

आयोगले स्थानीय तह निर्वाचन घोषणा भएपछि मतदाता नामावली दर्ताको कार्य रोकेको थियो । आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै नाम दर्ता खुला गरेको हो । कात्तिक अन्तिमदेखि मंसिर पहिलो साताभित्र प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन गर्नेगरी आयोगले आन्तरिक तयारी गरिरहेको छ ।

आयोगले निर्वाचनको मिति तोकिएपछि भने नामावलीमा नाम दर्ता गर्नेछैन । कात्तिक अन्तिम वा मंसिर पहिलो साता निर्वाचन गर्नेगरी सरकारबाट मिति तोकिए सम्भवतः तीनदेखि चार सातासम्म नामावली दर्ता खुला रहन सक्छ ।

नामावली दर्ता रोकिएपछि आयोगले नयाँ दर्ता भएका नामउपर छानबिन गर्नेसहितका कार्यक्रम तय गर्नेछ । आयोगका अनुसार ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनअघि दर्ता भएका कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताको नाम आयोगमा दर्ता छ । जसमध्ये ८९ लाख ९२ हजार १० जना पुरुष, ८७ लाख ४१ हजार ५ सय ३० महिला र १ सय ८३ अन्य मतदाता रहेको आयोगले बताएको छ ।

आयोगले २९ वैशाख २०७९ सम्म १८ वर्ष उमेर पुगेका मतदातालाई स्थानीय तह निर्वाचनमा मतदान गर्न योग्य मानेको थियो ।

प्रतिक्रिया