ठडिदैँ गौरे सार्कीको घर

ठडिदैँ गौरे सार्कीको घर

गौरे सार्कीको परिवारका लागि घर निर्माण भईरहेको स्थल ।

दैलेख : राष्ट्रिय गौरबको आयोजना मध्यपहाडी राजमार्गदेखि दूई सय मिटर दुरीमा उनिहरुको झुपडी छ । झुपडी काठका खाबाको सहायता र त्रिपालको छानोले बनेको थियो । काठका खाँवामाथी त्रिपाल टांगिएको छ । त्रिपाल हावाहुरीले उडाएर धुजाधुजा बनेको छ । त्यहाँ कष्टकर दैनिकी बिताईरहेका थिए, भैरबी गाउँपालिका–१ रावतकोटस्थित मेहलटाकुरा गाउँका गौरे सार्कीको परिवार ।

अबको केहि दिनमा भने उनिहरु बस्ने घर बदलिँदै छ । काठका खाँवामाथी त्रिपाल टाँगेर दैनिकी गुजारिरहेका उनिहरु अब सुरक्षित र नयाँ घरमा बस्न पाउँदैछन् । गौरे सार्कीका लागि भैरबी गाउँपालिका र पञ्चदेवल पूर्व विद्यार्थी समाजले घर निर्माणको कार्य अघि बढाएको छ । चरम गरिबीको चपेटामा परेर कष्टकर जीवनयापन गरिरहेका उनिहरुका लागि गाउँपालिका र समाजले घर बनाईदिन लागेको हो ।

गौरेको परिवारले झेलिरहेको समस्याबारे यसअघि ज्वाला सन्देशको अफिसियल युट्युवमा ‘चरम गरिबीले थला परेको दलित परिवार, त्रिपालमूनीको बास, सिस्नोले भोक मेट्दै बृद्धबृद्धा र बालक’ शिर्षकमा भीडियो सामग्री र अन्नपूर्ण पोस्ट्मा ‘भुक्तमान भोगिरहेको एक दलित परिवार’ शिर्षकमा समाचार प्रकाशित भएको थियो । समाचार प्रकाशन भएपछि गाउँपालिका र समाजले गौरेको परिवारलाई घर निर्माणका लागि चासो देखाएका थिए ।

गौरे सार्कीको परिवार र उनिहरु बस्दै आएको झुपडी ।

घर निर्माणसँगै गौरेको परिवार त्रिपालमूनीको कष्टकर बसाईबाट मुक्त हुने भैरबी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर विकले बताए । उनले गाउँपालिका र पूर्व विद्यार्थी समाजको संयुक्त साझेदारी लागतमा घर निर्माण गरिने जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत विकले समाचारमार्फत ध्यानाकर्षण गराएकोमा अन्नपूर्ण पोस्ट्लाई धन्यवाद दिएका छन् ।
गौरे सार्कीको लागि घर निर्माण सुरु भएसँगै गाउँपालिकाका अध्यक्ष रिताकुमारी शाही, प्रमुख प्रशासकीय अधिकृत पुर्ण बहादुर विक, वडाध्यक्ष डम्बरबहादुर कार्की, पुर्व विद्यार्थी श्यामबहादुर थापासहित प्राविधिकको सयुक्त रुपममा अवलोकन समेत गरेको छ ।

प्रतिक्रिया