सात प्रदेशले ल्याए बजेट, कुनमा कति ?

सात प्रदेशले ल्याए बजेट, कुनमा कति ?

काठमाडौँ : प्रदेशको अर्थतन्त्र प्रवद्र्धन तथा उत्पादकत्व वृद्धिलाई प्राथमिकतामा राख्दै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका छन् ।सातै प्रदेशले बुधबार संघीय सरकारकै सिको गर्दै सबैलाई मक्ख बनाउने गरी आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन्। उनीहरूले कुनै पुराना कार्यक्रम कटौती गरेका छन्। कतै नयाँ ‘लोकप्रिय कार्यक्रम’मा बजेट विनियोजन गरेका छन्।

सम्बन्धित प्रदेशका अर्थमन्त्रीले आ-आफ्नो प्रदेश सभामा बुधबार आव २०७९/८० का लागि तीन खर्ब पाँच अर्ब ४६ करोड २६ लाख रुपियाँको बजेट प्रस्तुत गरेका हुन् । यो बजेट चालू आर्थिक वर्षको तुलनामा ४४ अर्ब ४६ करोड रुपियाँले बढी हो । चालू आर्थिक वर्षमा सबै प्रदेशको कुल बजेट दुई खर्ब ६१ अर्ब रुपियाँ बजेट प्रस्तुत गरेका थिए ।

अधिकांश प्रदेश सरकारका बजेटले अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्या समाधान गर्न आन्तरिक उत्पादन बढाउनेतर्फ बढी जोड दिएका छन् । त्यसका लागि कृषि उत्पादन वृद्धि तथा प्रदेशअनुसार सम्भावित उत्पादनलक्षित कार्यक्रम बजेटमा समावेश गरिएका छन् ।

कर्णालीबाहेक सबैको बढ्यो

आगामी आर्थिक वर्ष कर्णाली प्रदेशबाहेक अन्य सबै प्रदेशले आफ्नो बजेटको आकार बढाएका छन् । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले आव २०७९/८० का लागि ३२ अर्ब ६१ करोड ३१ लाख रुपियाँको बजेट प्रस्तुत गरेका छन् । जुन चालू आर्थिक वर्षको तुलनामा तीन अर्ब ९३ करोड रुपियाँले कम हो ।

सबैभन्दा ठूलो बजेट ल्याउनेमा बागमती प्रदेश अगाडि छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले चालू आर्थिक वर्षको बजेटको तुलनामा १३ अर्ब २१ करोड रुपियाँले आकार बढाएका हुन । आगामी आर्थिक वर्षका लागि बागमतीको बजेट ७० अर्ब ९३ करोड ९२ लाख रुपियाँको रहेको छ । आकारको हिसाबले दोस्रो ठूलो बजेट ल्याएको मधेश प्रदेशले पनि यस पटक बजेटको आकार व्यापक बढाएको छ ।

मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद शाहले आगामी आर्थिक वर्षका लागि ४६ अर्ब ८८ करोड नौ लाख रुपियाँको बजेट प्रस्तुत गरेका छन । जुन चालू आर्थिक वर्षको तुलनामा १३ अर्ब नौ करोड रुपियाँले बढी हो ।

प्रदेश १ ले पनि सात अर्ब २७ करोड रुपियाँले बजेट बढाएको छ । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपियाँको बजेट सार्वजनिक गरेका हुन ।

सुदूरपश्चिम प्रदेशको बजेट छ अर्ब रुपियाँले बढेको छ । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश रावलले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ६४ लाख रुपियाँको बजेट ल्याउनुभएको हो ।

गण्डकी प्रदेशले आगामी आर्थिक वर्षका लागि पाँच अर्ब ८७ करोड रुपियाँ बढाएर बजेट ल्याएको छ । गण्डकी प्रदेशका अर्थमन्त्री राजमीप्रसाद बरालले ३५ अर्ब ९० करोड ९० लाख रुपियाँको बजेट प्रस्तुत गरेका छन। चालू आर्थिक वर्ष गण्डकी प्रदेशको बजेट ३० अर्ब तीन करोड रुपियाँ थियो ।

लुम्बिनी प्रदेशको बजेट चालू आर्थिक वर्षको तुलनामा एक अर्ब ६८ करोड रुपियाँले बढेको छ । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले आगामी आर्थिक वर्षका लागि ४२ अर्ब ६३ करोड ५७ लाख रुपियाँको बजेट ल्याएका हुन् ।

प्रतिक्रिया