जब राउटे युवा उपचार गर्न दैलेख अस्पताल आईपुगे

जब राउटे युवा उपचार गर्न दैलेख अस्पताल आईपुगे

दैलेख : कर्णालीमा फिरन्ते जीवनयापन गरिरहेका लोपोन्मुख राउटे समुदायका युवा खगेन्द्र शाही काठ काट्ने क्रममा हातमा चोट लागेको हप्ता दिन भईसकेको रहेछ । उनिहरु अहिले जाजरकोटको सुयडा क्षेत्रमा बसोबास गरिरहेका छन् । काठका भाँडाकुडा बनाउने प्रयोजनका लागि कु–काठ काट्नेक्रममा मुढाले च्यापिएर ३० वर्षिय शाहीको हातमा चोट लागेको रहेछ । ‘भाँडाकुठा बनाउन काठ काट्न गएको थिएँ, त्यहि मुढाले च्यापिएको थियो, अहिले असाध्यै दुख्न थाल्यो र अस्पतालमा उपचारका लागि लगिदिन आग्रह गरेको हुँ, शाहीले भने ।

राउटे समुदायमा एईआएन लक्जेम्वर्गको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालमार्फत राउटे परियोजना सञ्चालित छ । राउटे युवा शाहीले परियोजनामार्फत बस्तीमा खटिएकी स्वास्थ्यकर्मी अमृता रोकाय लगाएतका कर्मचारीलाई उपचारका लागि अस्पतालमा पु¥याईदिन आग्रह गरेका थिए । उनले आफुलाई उपचारका लागि अस्पताल लैजान गरेको आग्रहपछि साेसेक नेपालको अगुवाईमा बस्तीमा खटिएकी स्वास्थ्यकर्मी रोकायले राउटे युवा खगेन्द्रलाई अस्पताल ल्याएकी थिइन् । उनिहरुको साथमा राउटे समुदायका बालक १६ वर्षिय बिर्खबहादुर शाहीपछि आएका थिए ।

दैलेख अस्पतालमा उनको एक्सरे भयो । एक्सरे गर्दा हात भाँचिएको पाईएपछि उनको हातमा पलास्टर गरिएको छ । अस्पतालमा उपचारका लागि लगिदिन आफैले आग्रह गरेर भाँचिएको हातमा सहजै पलास्टर गर्ने उनि समुदायका पहिलो व्यक्ति भएको राउटे परियोजनाका जोडी शिक्षक लालबहादुर खत्रीले बताए ।

भाँचिएको हातमा पलास्टर गरेर उनि बिहिवार बस्तीमै फर्किएका छन् । ‘अस्पतालमा औषधी उपचार भयो, अब छिट्टै निकाे हुन्छ होला, उनले भने । पलास्टर गरेको हात पहिलेको अवस्थामै फर्किने र पुनः कु–काठ काट्ने र काठका भाँडाकुडा बनाउन सक्नेमा उनि विस्वस्त छन् ।

राउटे युवा खगेन्द्र मात्र नभई यो समुदायका अन्य नागरिकहरु अहिले बिरामी भएमा, चोटपटक लागेमा वा शरीरमा घाउ भएमा जडिबुटीको प्रयोग गर्ने राउटे अहिले स्वास्थ्यकर्मीबाट उपचार गर्न थालेका छन् । राउटेहरु चोट लागे खोटो टाँस्ने गर्थे, टाउको दुखे झारपात खान्थे, घस्नुपर्दा खरानी घस्थे । झारफुक पनि त्यत्तिकै गर्थे । बिरामी परेमा स्वास्थ्योपचारभन्दा पनि उनीहरु थामी, झाँक्री बसालेर ग्रह काट्ने, भूतको भाग फाल्ने गर्छन् । उनिहरु सामान्य बिरामी हुँदा समेत औषधोपचारमा विश्वास गर्न थालेका छन् । उनीहरुले सानातिना घाउ–चोटपटक लाग्दा पनि औषधोपचार गर्ने र मल्हमपट्टी लगाउने गरेको छन् । गम्भिर बिरामी परेमा उनिहरु अस्पतालमै पुगेर औषधी उपचार गर्ने गरेका छन् ।

समुदायमा सञ्चालित राउटे परियोजनाले समुदायमा स्वास्थ्य, अनौपचारिक शिक्षा, खाद्य अधिकार र सरसफाईका लागि विभिन्न क्रियाकलाप सञ्चालन गरिरहेको छ । राउटे समुदायका नागरिकहरुको अधिकारकार सवालमा परियोजनाले निरन्तर पैरबी गरिरहेको छ । परियोजनामार्फत जोडि शिक्षक र दुई जना स्वास्थ्यकर्मी (अहेव) खटाईएको छ ।

राउटे जाती मानव सभ्यताको ईतिहास बोकेको समुदाय हो । त्यतिमात्र होइन दक्षिण एसियाको एकमात्र अन्तिम भ्रमणशिल समुदाय हो । लोपोन्मुख मध्येको पनि अति लोपोन्मुख जाती राउटे कर्णालीमा घुमन्ते जीवनयापन गरिरहेका छन् ।

प्रतिक्रिया