जनयुद्धले देविलाई दिएको नमेटिने घाउ

जनयुद्धले देविलाई दिएको नमेटिने घाउ

 श्रीमान बचाउन पछि–पछि गएकि उनि उल्टै लखेटिइन्

सुर्खेत : कालिकोटको खाडाचक्र नगरपालिका–८ का देवि परियार र लालु परियार एक असल दम्पती थिए । अझैँ भनौ एक रथका दुइ पाङ्ग्रा जस्तै थियो उनीहरुको परिवार । जीवनभर सँगै जीउँला सँगै मरौँला भन्ने धोको उनीहरुको थियो । देवि र उनका श्रीमान लालुका दिनहरु संघर्षरत यात्रामा अघि बढिरहेका थिए । त्यो बेला देवीका श्रीमान तत्कालिन विद्रोही नेकपा माओवादीका गाजस प्रमुख थिए ।

आनदोलन सशक्त रुपमा चलिरहेको थियो । देवि सिलाई कटाईको काममै व्यस्त हुन्थिन् । श्रीमान लालु पार्टिको कामसँगै सिलाई कटाईको काम पनि सम्हाल्थे । माओवादीको आन्दोलन चर्किरहेको थियो । दिनहुँ जसो गोला बारुदका आवाज घन्किरहन्थे । गाउँमा आज यो..त्यो.. मान्छेलाई राज्य पक्षले लिएर घाइते बनायो, मा¥यो भन्ने खबर सुनिनै रहन्थे । ति कुराले देविको मनमा पनि अत्यास लागेर आउथ्यो, गोलाबरुदका आवाजले । कतै आफ्ना श्रीमानलाई पनि राज्य पक्षको अपहरणमा पारेर लैजाने त हैन भन्ने कुराले उनलाई दिन रात झस्काइरहन्थ्यो । पिरोलिरहन्थ्यो ।

देविका लागि त्यो दिन टाढा रहेन । नभन्दै श्रीमानलाई सेनाले अपहरण गरेर लग्योे । २०५९ साल मंसिर १७ गते दिनभरी कपडा सिलाई कटाईको कर्म गरेर देवी दम्पती र एक छोरा मस्त निन्द्रामा थिए । बिहानको चार बजेको थियो । ढोकामा ढकढक आवाज आयो । को रहेछ भनेर देविले ढोका खोलिन् । श्रीमान कहाँ छ ? भन्दै चार पाँच जना सेनाहरु घरभित्र पसे ।सेनाले उनको श्रीमानलाई काख बाटै घिसारेर लिए ।

दुई वर्षकोे छोरालाई काखमै च्यापेर उनी पनि पछि पछि लागेर श्रीमान भन्दै रोई कराई गरिन् । स्वास सुख्यो । गला अबरुद्ध भयो । पछि–पछि लाग्न छोडिनन् । उनकै अघि कुट्दै कुट्दै लिएर बिच बाटोमै हात भाँचे, दाँतको बङ्गारा झारे । देविले झनै रोई कराइ गरिन् । तरपनि देविको केही सिप लागेन् । यति गरिसक्दा देविले सक्ने जति रोई कराई गरिन् । ‘अहिले सम्झिदा पनि मन भक्कानिन्छ, यी शव्दहरु भनिरहँदा उनका आँखाभरी आँसु तल्पतिएका थिए ।
‘त्यति गर्दापछि श्रीमान छुटिहाल्छन् कि भन्ने आशले पछि पछि गए, उनले भनिन्, ‘कुट्दै, पिट्दै थिए, आधा ज्यान बाटोमै गइसकेको थियो । अपहरणकारीसँग मेरा श्रीमानलाई मारिसक्यौ अब अन्तिम स्वास घरमै फेर्नदेउ छोड्देउ प्रभु ! भन्दै हारगुहार गरेँ उल्टै मलाई लखेटे, तल–तल लिदै गर्दा नजर पुगुन्जेल हेरिरहेँ । आखिर लिएरै छोडे । क्रुर यातना दिदै दिएरै छोडे ।’

एसएलसी समेत पास देवीका श्रीमान लालु अपहरणमा परेको एक महिनापछि मान्मको राताडावा भन्ने ठाउँमा विभत्स हत्या गरेर वेवारिसे अवस्थामा फालेको लास भेटियो । त्यसबेला देविको सानो छोरा बाहेह परिवारमा अरु कोही थिएनन् । श्रीमानलाई अपहरण गरेको देखेर अरु भएका आफन्त पनि पछि कोहि गएनन् । मरिने डरले । पछि आफ्नै केही आफन्तले लास पाइसकेपछि उतै गाडेर आए ।

छातीको भरमा छोरा हुर्काए

श्रीमानको हत्यापछि देविका दिनहरु निकै संघर्षरत रहे । १६ वर्षको उमेरमा मागी बिवाह गरेकि देविको । २१ वर्षको कलिलो उमेरमै सिउँदोको सिन्दुर मेटियो । त्यसपछिका उनका दिनचर्या कठिन अवस्थामा बिते । घरमा खाने अन्न थिएन । त्यो पल सम्झिदा उनको फेरी गला अवरुद्ध भयो । गुन्यूँका तालले आखाँमा आएका आँसुलाई पुछद्दै उनले भनिन् ।

‘३२ वर्षको कलिलै उमेरमा श्रीमानको मृत्युपश्चात् घरपनि भत्कियो, आफ्नो बस्ने घरको छाप्रो समेत थिएन । अरुकै गोठमा बसेर पनि हिम्मत हारिन । लुगा कपडा सिलाउँदै छोरालाई छातीको भरमा हुर्काए । पतिले सिकाएको सिपको उपयोग गर्दै गाउँ–गाउँ पुगेर कपडा सिलाएर पाएको अन्नपात र पैसाले छोरो हुर्काए । श्रीमानले बिच बाटोमै छोडेर गए पनि श्रीमानले सिकाएको सिपले पल पल याद आइरहन्छ । श्रीमानको याद ताजै लाग्छ । आफ्नै वरिपरि भएजस्तो लाग्छ ।’

‘परिर्वतनका लागि संघर्षमा लाखौ नेपाली आमाका सपुतहरुको बली चढाएपनि माओवादी सत्तामा पुगेपछि आफुहरुको घाउमा मल्हम लगाएको छैन । उल्टै नेपाली आमाका छोराहरुलाई नास्ने मास्नेतिर अघि बढिरहेको छ । माओवादी आन्दोलनको मुख्य उद्धेश्य परिर्वतन गर्न होइन । नेपाली आमाका सपुतहरुको विभत्स हत्याका लागि थियो । स्वार्थ पुर्ति भयो अहिले फर्केर हेर्दैनन्, उनले भनिन् ।

अहिले पनि देवि परियारसँग जग्गाका नाउमा एक चिम्टि माटोसम्म छैन् । आफ्नै हातखुट्टाका नङ्ग्रा खियाएर गुजारा चलाइरहेकि छिन् । बस्नलाई सानो एउटा छाप्रो छ । त्यहि छाप्रोमा एक छोरा बुहारी र नातीनि सहित चार जनाको परिवार बस्दै आएको छ ।

धनयुद्धकै लागि जनयुद्ध

जनयुद्ध र धनयुद्धमा तपाईलाई कुन ठुलो लाग्छ भन्ने प्रश्नमा उनको उत्तर थियो ‘धनयुद्धकै लागि जनयुद्ध भएको थियो । परिर्वतनका लागि जनयुद्ध भएको भए त जनयुद्धका लागि सहिद भएका परिवारको घाउमा मल्हम लगाउनुपर्ने, अहिलेसम्म कसैले घाउमा मल्हम लगाएन् । आफ्नो खुसी खोसिएपछि मलाई कुनै ठुलो लाग्दैन ।’

अहिले उनी ४६ वर्ष पुगिन् । उनीसँग एक छोरा बुहारी र नातीनि छन् । अहिले पनि उनको दैनिकी संर्घषमै बितेको छ । घरखर्च चलाउन अहिले पनि उनी साँझ अबेरसम्म लुगाकपडा सिलाई कटाई गरेर बिहानै गाउँमा निस्किन्छन् । अहिलेसम्म जसोतसो गुजारा गरिरहेको उनी बताउँछिन् । कर्णाली आफैमा गरिब प्रदेशका रुपमा चिनिन्छ । कर्णालीका धेरै नागरिक पीडा अभाव र बेरोजगारीमा छट्टटिएका छन् । जनयुद्धमा आफ्ना आफन्त र घरपरिवार गुमाएका कर्णालीबासीलाई अहिले दिनमा दुई छाक टार्न पनि मुस्किल छ ।

युद्धको पीडा परिवारमा मात्र नभई हरेक दिन छ

बुबाको त्यो मृत्युको खबरले छोरा भरत परियारको मन भक्कानिएर आउँछ । दुई वर्षको दुधे बालक । त्यसमाथि दुध खाँदै गरेको अवस्थामा सेनाले अपहरण गरेर लिएको थियो । सबैले बुबा बुबा भन्थे । विद्यालय जाँदा बुबाको हात समाएर विद्यालय जाने बेला बुबाको यादले पिरोल्थ्यो भरतलाई । सबैजना साथीभाई आफ्नो बुबाको हात समाएर विद्यालय जान्थे । कहिले घुम्न जान्थे त्यो बेला भरतको गहभरी आँसु झर्थे । तर पनि मन बुझाउँथे । बुबाले दिने माया आमाबाट पाएको छु भनेर मन बुझाउँथे ।

‘गाउँघरमा जसोतसो पेट पाल्न समस्या हुँदैन । तर पनि घरमा आमा श्रीमति र एक छोरी छन्, म पढ्दै छु । आवश्यकता बढ्यो । खाने मुख थपिए,’ उनले पीडा सुनाउँदै भने, ‘युद्धको पीडा परिवारमा मात्रै कहाँ छ र ? हरेक दिन आइपर्ने समस्यामा पनि अभावले पिरोल्ने रहेछ ।’ व्यवस्था परिर्वतनका निम्ति पुराना शासक त फालियो तर फेरी नयाँ शासकको उदय भएको उनको बुझाई छ ।

सर्वहारा वर्गका समस्या ज्यूँका त्यूँ

२०५२ सालदेखि २०६२/०६३ सालसम्म नेपालमा सशस्त्र द्धन्द्ध भयो । कैयाैँ बस्ति जले । कैयौँ घरहरु जले । कैयाँै आमाले सन्तान गुमाए । कयौ घाइते अपाङ्ग तथा बेपत्ता पारिए । वेपत्ता भए । पुरानो व्यवस्था फालेर नयाँ व्यवस्था ल्याउनलाई कैयौ नेपाली सहीद हुन तयार भए । पुरानो व्यवस्था त फाले । नयाँ व्यवस्था आए पनि नेपाली आमा खुसी छैनन् । अहिले पनि गरिब निमुखा र सर्वहारा वर्गका समस्या ज्युँका त्युँ छन् ।

माओवादी सत्तामा थिएन । जनयुद्धमा कैयौँ आशाहरु देखाइयो । जब माओवादी सरकारमा पुग्यो । सरकारमा पुगेपछि गरिब निमुखाका समस्यालाई नहेरेर आफ्नै वरिपरिका आसेपासेलाई मात्र पोछ्न थालियो । जसले गर्दा सर्वहारा वर्गका समस्या ज्युँका त्युँ रहे । नेपाली आमाका हजारौँ छोराछोरीको रगतको खोलो बग्यो । तर के पाए जनताले । आफन्त गुमाएको त्यो घाउ अहिले पनि ताजै छ । भुल्न सकेका छैनन् । कोही दिनरात बेपत्ता पारिएका आफ्ना आफन्त फर्किने आशमा छन् । आफन्त गुमाएकाहरु सम्झनामै दिनहरु बिताएका छन् ।

प्रतिक्रिया