सुर्खेतमा प्रथम काँक्रेविहार खुल्ला हाफ म्याराथन दौड प्रतियोगिता हुने

सुर्खेतमा प्रथम काँक्रेविहार खुल्ला हाफ म्याराथन दौड प्रतियोगिता हुने

सुर्खेत : कर्णाली प्रदेश खेलकुद विकास परिषद्को समन्वयमा मिड वेस्टर्न फिटनेस सेन्टर सुर्खेतले प्रथम काँक्रेविहार खुल्ला हाफ म्याराथन दौड प्रतियोगिता हुने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसर पारेर असार ७ गते प्रतियोगिता सञ्चालन हुने भएको हो ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सञ्चालन हुने प्रतियोगितामा खुल्ला पुरुषतर्फको हाफ म्याराथनमा २१ किलोमिटर र विद्यालय स्तरको छात्रछात्रा तर्फको म्याराथनमा भने पाँच किलोमिटर दौड प्रतियोगिता हुने छ ।

दोस्रो लुम्बिनीको नामले चिनिने ऐतिहासिक तथा धार्मिक महत्त्वको पर्यटकीय स्थल काँक्रेविहारको नामबाट प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालले वीरेन्द्र चोकबाट सुरु हुने दौड मंगलगढी चोक हुँदै सुब्बाकुना, बुलबुले, बाङ्गे सिमल, खोर्केखोला हुँदै पुनः वीरेन्द्र चौकमै पुगेर सम्पन्न हुने र प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने बताए ।

उपाध्यक्ष हमालले भने, ‘खुल्ला पुरुषतर्फको दौडमा पहिलो हुनेलाई ७१ हजार, दोस्रोलाई ४१ हजार, तेस्रोलाई ३१ हजार, चौथोलाई २० हजार, पाचौंलाई १५ हजार र छैटौँ स्थान हासिल गर्ने खेलाडीलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने छौँ भने विद्यालय स्तरको म्याराथन प्रतियोगितामा पहिलोलाई १० हजार, दोस्रोलाई सात हजार र तेस्रो हुनेलाई पाँच हजार नगद पुरस्कार दिने छौँ ।’

यस्तै, कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले कर्णालीमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको पूर्व तयारीमा लागि अहिले विभिन्न अभ्यास र प्रतियोगिताहरू गर्न लागिएको बताए । सदस्य सचिव सञ्ज्यालले भने, ‘भौतिक पूर्वाधारको तयारीमा पनि जुटेका छौँ, यो म्याराथन प्रतियोगिताले पनि कर्णाली खेलकुदको विकासमा दौडिरहेको सन्देश दिनेछ ।’

निरन्तरता दिँदै अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता बनाउने

यस्तै, आयोजकले काँक्रेविहार म्याराथन प्रतियोगितालाई आगामी वर्षहरूमा पनि निरन्तरता दिँदै अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता बनाउने र कर्णालीमा खेलकुदको धेरै सम्भावना रहेको भन्दै यहाँका प्रतिभालाई प्रतिस्पर्धामा उतारेर कर्णालीलाई म्याराथनबाटै विश्वभर चिनाउन लागि परेको आयोजकले दाबी गरेको छ ।

प्रतियोगिता सञ्चालनका लागि ५० जना निर्णायक रहनेछन् । प्रतियोगिता सञ्चालनका लागि प्रदेश खेलकुद विकास परिषद्ले ६ लाख रुपैयाँ उपलब्ध गराएको छ ।

आगामी वर्षबाट प्रतियोगिताको पुरस्कारको राशि वृद्धि गर्ने र अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूलाई पनि सहभागी गराउने योजना रहेको प्रतियोगिताको आयोजक संस्था मिड वेस्टर्न फिटनेस सेन्टरले जानकारी दिएको छ । प्रतियोगितामा एक हजार खेलाडीको सहभागिता रहनेछ ।

 

प्रतिक्रिया