कर्मचारीको ढिलासुस्तीका कारण सोलार लाइट जडान गर्ने योजना अलपत्र

कर्मचारीको ढिलासुस्तीका कारण सोलार लाइट जडान गर्ने योजना अलपत्र

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सोलार लाइट जडान गर्ने योजना अलपत्र परेको छ । वीरेन्द्रनगरका विभिन्न ठाउँमा ३० वटा सोलार लाइट जडान गर्ने प्रक्रिया थालनी गरिएपनि नगरपालिकाका कर्मचारीको ढिलासुस्तीका कारण योजना अलपत्र परेको हो ।

यस आर्थिक वर्षको अन्तिम महिना असार चलिरहदा अब टेन्डर गर्न नसकिने भन्दै योजना अगाडि नबढाउने कर्मचारीको योजना छ । योजनाका लागि समयमै टेन्डर गर्नुपर्ने भएपनि अब समय कम भएको भन्दै कर्मचारीले बजेट फ्रिज हुने वा फिर्ता जाने भएपनि केही गर्न नसकिने बताएका हुन् ।

नयाँ जनप्रतिनिधिको बेवास्ता र कर्मचारीको ढिलासुस्तीका कारण वीरेन्द्रनगर उज्यालो बनाउने पूर्व मेयर देवकुमार सुवेदीको आकांक्षालाई असफल पार्न काम रोकिएको नगरपालिकाका एक कर्मचारीले बताएका छन् ।

‘पूर्वमेयरले धेरै प्रयास गरेर सोलार लाइट प्रोजेक्ट ल्याउनु भएको हो’ एक कर्मचारीले  भने, ‘तर नयाँ मेयर र कर्मचारीले अब ढिला हुन्छ भन्दै टेन्डर नगर्ने र बजेट फ्रिज हुन दिने मनशाय बनाउनुभएको छ । यो योजना त्यसै अलपत्र पर्ने भो ।’

नगरपालिकाले यसबारेमा औपचारिक धारणा सार्वजनिक गरेको छैन । सुर्खेतमा पटक पटक बत्ती जाने हुँदा राजधानी वीरेन्द्रनगर अध्यारो हुने गरेको छ । जसको नागरिकस्तरबाट आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया