शान्ति प्रक्रियाका काम छिट्टै पूरा हुन्छ : कानून मन्त्री

शान्ति प्रक्रियाका काम छिट्टै पूरा हुन्छ : कानून मन्त्री

दैलेख : सरकारका कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोबिन्द प्रसाद शर्मा कोइराला (गोविन्द बन्दी) ले आफुलाई विशेष परिस्थितीमा विशेष कामको लागि मन्त्री बनाईएको बताएका छन् । आइतवार गृह जिल्ला दैलेखमा त्रिभुवन मावी पूर्व विद्यार्थी एकता मञ्चले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा मन्त्री कोइरालाले शान्ति प्रक्रियाका बाँकी काम छिट्टै टुंगो लाग्ने बताए ।

‘लामो समयसम्म नेपालको शान्ति प्रक्रियाको बाँकी काम टुंगोमा पुग्न नसक्दा धेरै पीडा दियो, त्यहि पीडालाई हल गर्नको निम्ति धेरै मान्छेहरुलाई जिम्मा दिइयो, सम्भव भएन्,’ मन्त्री कोइरालाले भने ‘अहिले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने जिम्मेवारी मलाई दिईएको छ ।’

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले दिएको जिम्मेवारी पुरा गर्न आफु आएको मन्त्री कोइरालाको भनाई छ । मन्त्री कोइरालाले द्वन्द्वकालीन मुद्दाहरूमा वर्षौंदेखि काम गरिरहेका छन् । उनी यो विषयका जानकार पनि हुन् ।

उनले विद्यार्थीकालमा जिल्लामा गरेको राजनीतिको सम्झना गर्दै आफुहरुले तत्कालिन अवस्थामा व्यवस्थाविरुद्ध नभई ज्यादतीविरुद्ध विभिन्न आन्दोलनहरु गरेको बताए । उनले अहिले विभिन्न व्यक्तिहरु राजनीतिक दलमा लागेको भन्नु भन्दा पनि समाजको परिवर्तनका लागि लागिपरेको उल्लेख गरे । अर्को प्रसंगमा मन्त्री कोइरालाले जिल्लामा आफुसँगै पढेका सहपाठीहरु कार्यालय सहायक, कार्यालयप्रमुख देखि नगरपालिकाको मेयर उपमेयर रहेको बताउँदै आफु गर्भवान्वित भएको बताए ।

मन्त्री सहित मन्त्रालयका सचिव र सह–सचिवको टोली दैलेख आईपुगेको हो । आजै जिल्ला सदरमुकाममा जातीय छुवाछुत विरुद्धको कार्यक्रम आयोजना गरिएको छ । सोहि प्रसंगमा मन्त्री कोइरालाले जातीय छुवाछुतको समस्या देशकै समस्या भएको बताए । ‘हामीले कुकुरलाई पुजा गरेर उस्तै परे कुकुरको पाउ छुन्छौ, तर समाज हैसियतका मान्छेले मान्छेलाई विभेद गर्छौ, उनले भने त्यसको अन्तत्य नगरी समाज अगाडी बढ्दैन् ।’ जातीय विभेद सत्ता चलाउन आफु मालिक बनिरहन अरुलाई दास बनाउने प्रवृतिमात्र भएको बताए । कार्यक्रममा नारायण नगरपालिकाका मेयर लोमन शर्मा, उपमेयर तप्ताकुमारी थापा खड्का लगाएतले शुभकामना दिएका थिए ।

प्रतिक्रिया