सुर्खेतको लोडसेडिङमा कर्मचारी–व्यापारी सेटिङ

          |   प्रकाशित मितिः आइतवार, असार ५, २०७९     ::: 130 पटक पढिएको   |  

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर भएपनि सर्वसाधारण नागरिकले त्यसको महसुस गर्न सक्दैनन् । प्रदेश सरकारको राजधानीअनुसार वीरेन्द्रनगरमा हुनुपर्ने सेवा सुविधा र त्यसको समस्या समाधानमा सबै जिम्मेवार हुनुपर्ने हो ।

तर यहाँ जिम्मेवार भन्दा गैरजिम्मेवार बन्नेको ठूलो लाम छ । समग्रमा नेपाल लोडसेडिङमुक्त देश हो । विगत पाँच वर्षअघिको जस्तो भयावह अवस्था काठमाडौँमा छैन । तर सुर्खेतमा भने अवस्था यति भयावह छ कि अस्पतालमा वैकल्पिक अवस्था हुँदैन थियो भने यहाँ दिनमा दर्जनौ बिरामीको मृत्यु हुन सक्छ ।

अहिले दीर्घरोगी, बालबालिका तथा प्रेसर भएका धेरै व्यक्तिको जीवन सुर्खेतको लोडसेडिङले धरापमा राखिदिएको छ । पटक पटक गइरहने बत्ती, समस्या देखाइरहने नेपाल विद्युत प्राधिकरणको सुर्खेत वितरण केन्द्र र अल्छी तथा गैरजिम्मेवार कर्मचारीका कारण सुर्खेतको लोडसेडिङ झन् झन बढ्दो छ ।

यो भन्दा बढी सुर्खेतका सबैजसो जिल्ला र प्रदेश स्तरको राजनीतिक नेतृत्व पनि लोडसेडिङका विषयमा मौन छन् । उनीहरु तै चुप मै चुपको अवस्थामा छन् । प्राधिकरणले भने कोहलपुरदेखि आउने १३२ केभीको प्रसारण लाइनमा हरेक पटक कुनै न कुनै अवरोध आउने भएकाले लाइन गइरहने बताउँछ ।

तर प्राधिकरणका कर्मचारीका यी कुरा पत्याउन गाह्रो पर्छ । हरेक पटक लाइन जान्छ । त्यही अनुसार सूचना पनि प्राधिकरणका कर्मचारीले फेसबुकमार्फत सार्वजनिक गर्छन । तर अवस्था यस्तो छ कि हरेक पटक लाइन काटिन्छ वा बत्ती नै अवरोध गरिन्छ । यकिन छैन ।

तर झ्याप्प झ्याप्प लाइन जाने समस्या प्राविधिक मात्रै नभई मानवनिर्मित हो भन्ने बुझाई बढ्दै गएको छ । जस्तो एक सेकेन्डमा लाइन जाने र आउने हुन्छ । दुई मिनेट बत्ती जान्छ । फेरि आउँछ । यो एकपटक होइन, धेरैपटक दोहोरिरहन्छ ।

कर्मचारीको लापरबाही र स्थानीयको आरोप

प्राधिकरण सुर्खेत वितरण केन्द्रका कर्मचारीका सतही कुरा सुन्दा यो व्यापारीसँग सेटिङले भइरहेको छ भन्नमा बल मिल्छ । त्यसमा स्थानीयले गरिएका आशंका यस्ता छन्ः

– हरेक पटक बत्ती काट्दा मानिसहरुमा अतिरिक्त ब्याकअपको आवश्यकता महसुस हुन्छ । र, उनीहरु बिजुलीभन्दा बढी इन्भर्टरको जडानमा लाग्छन् । अहिले सुर्खेतका अधिकांश कार्यालयमा ब्याकअप राखिएको छ ।

– लाइन काट्ने फेरि आउने । फेरि जाने फेरि आउने । यो एकपटक होइन, पटक पटक हुन्छ । यदि कुनै पोल ढलेन भने बत्ती लामो समय जाँदैन । तर जति छिटो जान्छ । त्यति छिटो आउँछ पनि । यसले सुर्खेतमा लाइन गइरहन्छ भन्ने समस्या सिर्जना गर्छ । जसले गर्दा मानिसहरु ब्याकअपमै भर पर्नुपर्ने बाध्यता छ ।

– यस्तो हुनुका पछाडि प्राधिकरणका कर्मचारी पुरानो पोल भएको, फिडर परिवर्तन गर्नुपरेको, मर्मतको काम भइरहेकाले लाइन काट्नुपरेको बताउँछन् । तर यो जिम्मेवार र पूरा प्राविधिक जवाफ होइन । यो सर्वसाधारणलाई ढाट्ने काम हो ।

– सुर्खेतमा लामोसमयदेखि लोडसेडिङ मार भोगिरहेका स्थानीय भन्छन्, ‘इलेक्ट्रोनिक व्यापारीकै सेटिङमा प्राधिकरणका कर्मचारीले जानाजान लाइन काट्ने गरिरहेका छन् ।’

– यो आरोपका पछाडि बल देखिन्छ । बत्ती छ । तर भोल्टेज छैन । बत्ती हुन्छ । तर झ्याप्प झ्याप्प जान्छ । केही समयपहिले काठमाडौँमा पनि यस्तो भइरहेको थियो । त्यतिबेला प्रश्न गर्दा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो झ्याप्प झ्याप्प लाइन जाने समस्या केही प्राविधिक भएपनि केही कर्मचारीले जानाजान लाइन काट्ने गरेको खुलासा गरेका थिए । सुर्खेतमा पनि ठीक यही प्रवृत्ति देखिन्छ ।

– प्राधिकरणका कर्मचारीले लाइन काट्ने वा जानाजान विद्युत आपूर्ति नगर्ने समस्याका पछाडि उनीहरु एकदमै सतही जवाफ दिइरहेका छन् । पोल ढल्यो । त्यो ठीक छ । तर झ्याप्प झ्याप्प लाइन जाने समस्या स्वभाविक हो भन्छन् । यो स्वभाविक होइन, कर्मचारीबाट निम्त्याइएको समस्या हो ।

– जहाँ लाइन बिग्रेको छ । त्यहाँ केवल औपचारिकताका लागि मात्रै लाइन जोडिएको छ । दिगो मर्मत भइरहेको छैन । त्यसमाथि व्यापारीकै बलमा यो समस्या पटक पटक दोहोरिरहेको सूचना पनि सुर्खेतका केही स्थानीयले दिइरहेका छन् । तर यसबारेमा तथ्य र बलियो प्रमाण भेटिसकेको छैन ।

यसबीचमा विद्युत समस्या समाधानका लागि तत्कालीन विवेकशील साझाका नेताहरु गेहेन्द्र दाहाल, अहिले स्वतन्त्र भन्न रुचाउने अनिल ढकाल, पवन थापामगरले संघीय उर्जामन्त्री पम्फा भुसाल, कार्यकारी निर्देशक कुलमान घिसिङदेखि सुर्खेतकै प्राधिकरणका कर्मचारीलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएपनि समस्या समाधान हुन सकेको छैन ।

सेटिङमा कर्मचारी

सुर्खेतमा यति लामो समयसम्म पनि लोडसेडिङ समस्या गुज्रिदा कुनै नेताले गम्भीर रुपमा लिएका छैनन । जसले गर्दा यो समस्या नै होइन कि भन्ने देखाउँछ । तर सबै कर्मचारीको जिम्मा छाड्दा उनीहरु व्यापारीको सेटिङमा चल्ने गरेको आरोप सुर्खेतका स्थानीय लगाउँछन् ।

‘म त सिधा भन्छु यो व्यापारी र कर्मचारीको सेटिङ हो’ उनले भने, ‘नेपालका कुनै पनि ठाउँमा यस किसीमको पट्यारलाग्दो लोडसेडिङ छैन । केही दिन पोल ढल्छ । सिस्टम जान्छ । तर हरेक दिन हरेक पल जाने सिस्टम कसरी एकैपटक बन्छ रु त्यो सिस्टम फेल भनेको उनीहरु कमिसनको चक्करमा लाइन काट्ने सिस्टम भनेको बुझन् गाह्रो छैन ।’

उनले नाम खुलाउन चाहेनन् । तर सुर्खेतमा प्रदेश सरकार, स्थानीय सरकार र सुर्खेतकै नेताहरु पनि गैरजिम्मेवार रहेका कारण यसको सिधा फाइदा कर्मचारीले उठाएको उनी बताउँछन् ।

‘नेताहरु यस विषयमा कहिल्यै बोल्दैनन्, के थाहा उनीहरुलाई पनि कमिसन गइरहेको छ कि रु’ उनले रहस्य खोल्दै भने, ‘होइन भने जनता यस्तो गर्मीमा तड्पिरहेका बेला किन नबोलेको रु कर्मचारीलाई किन नहप्काएको रु किन समस्या समाधानमा गम्भीर नभएको रु कहिलेसम्म यो समस्या हुन्छ भनेर जवाफ नखोजेको वा आफैँ किन नलागेको हो रु’

हामीले यस विषयमा एक जना इलेक्ट्रोनिक व्यापारीसँग पनि बुझ्यौँ, तर उनले यो आरोप सिधा अस्वीकार गरे । ‘हामी आफैँ सामान नबिकेर मारमा छौँ, थोरै थोरै मात्र जान्छ’ उनले भने, ‘यसरी हावामा आरोप लगाउन पाइदैन । लाइन जाने समस्याबाट हामी पनि पीडित छौँ । हाम्रो समस्या कसले बुझिदिने रु’

प्राधिकरण के भन्छ ?

अहिले विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रको प्रमुखको जिम्मेवारीमा छन्, इन्जिनियर युवराज रावत । उनी हरेक दिन यो समस्या झेलिरहेका छन् । लाइन जानेवित्तिकै आउने फोन कलले उनको दैनिकी झन् यसै विरक्तलाग्दो छ ।

त्यसमाथि सबै जना आक्रोशित भएर गाली गर्दै फोन गर्नाले उनी तनावमै देखिन्छन् । सत्यतथ्य बुझ्न कार्यालय पुगेकाहरुलाई बुझाउनै उनलाई हम्मेहम्मे परेको देखिन्छ । पत्रकार र सरोकारवालाको प्रेसर पनि उनलाई त्यत्तिकै छ ।

हामीले पनि यो जिज्ञासा उनीसमक्ष राख्यौँ । उनले जवाफमा भने, ‘पहिलो कुरा यो प्राविधिक समस्या हो । कर्मचारीका कारण होइन । पुरानो पोल छन् । निकुञ्जको बाटोमा प्रसारण लाइन छ । सुर्खेतमा हरेक फिडरमा सानो सिस्टम र पुरानो सामग्री छ । समस्या सबैले देख्ने तर समाधानमा कोही नलाग्ने कारण यो समस्या बल्झिएको हो ।’

यसका पछाडि उनी तीन कुरालाई कारक मान्छन् । पहिलो पुरानो पोल र सामग्री । दोस्रो, निकुञ्जको प्रसारण लाइन । र, तेस्रो गैरजिम्मेवार राजनीतिक नेतृत्व र फाइदा मात्रै हेर्ने स्थानीय ।

यी तीन वटा कुरामा नेताहरुको कुरा गर्दा उनीहरु आफ्नो गाउँ तथा घरको लागि पोल माग्न प्राधिकरण धाउँछन् । बलियो, पद्धतिअनुसारको लाइनिङ होइन, उनीहरु आफ्ना केही मतदातालाई प्रभावित पार्न पोल माग्छन् । र अव्यवस्थित विद्युतीकरण गर्न बाध्य पार्छन् । यसैले पनि यो समस्या निम्तिएको हो ।

यसबाहेक उनले अरु प्राविधिक कारण पनि खोतले । तर त्यो तत्काल समाधान हुने देखिदैन । हामीले कर्मचारी र व्यापारीबीचको सेटिङले लाइन काट्ने काम भइरहेको जिज्ञासा पनि राख्यौँ । उनले त्यसको जवाफमा भने, ‘प्राविधिक कुरा नुबझ्ने र आफ्नो मात्रै स्वार्थ हेर्ने तथा दिगो समाधानका लागि प्रयास नगर्ने मान्छेले सेटिङको गफ दिएर जिम्मेवारीबाट पन्छिने गर्छन ।’

सुर्खेतमा दिगो विद्युतको आपूर्तिका लागि उनले कोहलपुरदेखि सुर्खेतसम्मका सबै पुराना पोल फेर्नुपर्ने, निकुञ्जमा केही रुख काट्नुपर्ने र १३३ केभी प्रसारण लाइन जतिसक्दो चाँडो ल्याउनुपर्नेमा जोड दिए ।



Leave a comment

Your email address will not be published.


*