सुर्खेतका बालबालिकालाई कोरोना विरुद्धको फाइजर खोप लगाइने

सुर्खेतका बालबालिकालाई कोरोना विरुद्धको फाइजर खोप लगाइने

सुर्खेत : यही असार ९ गतेदेखि १५ गतेसम्म सुर्खेतका पाँच वर्षदेखि ११ वर्ष मुनिका बालबालिकालाई कोरोना विरुद्धको फाइजर खोप लगाइने भएको छ ।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जिल्लाका ५ वर्षदेखि ११ बर्ष मुनिका ४९ हजार ६१९ जना बालबालिकालाई फाइजर खोप लगाइने जनाएको छ ।

कार्यालयका निमित्त प्रमुख गणेशभक्त गौतमले ५ वर्षदेखि ११ वर्ष मुनिका बालबालिकालाई लगाइने फाइजर खोप कर्णाली प्रदेशको सुर्खेतमा मात्रै यहीँ असार ९ गतेदेखि लगाउने तयारी रहको जानकारी दिए ।

प्रमुख गौतमले त्यसका लागि जिल्लाका सबै स्वास्थ्यकर्मीहरुलाई तालिम पनि दिइसकिएको उल्लेख गरे । अहिले असार ९ गतेदेखि १५ गतेसम्म विद्यालयमै बालबालिकालाई खोप लगाइनेछ भने छुटेकालाई अन्तिम दिन स्वास्थ्य केन्द्रमा खोप लगाइने छ ।

यस्तै, पहिलो खोप लगाएको २१ दिनदेखि २८ दिनपछि दोस्रो मात्राको खोप लगाइनेछ । कार्यालयको तथ्यांक अनुसार जिल्लाको कूल जनसंख्या ३ लाख ६१ हजार ८३५ मध्ये ५ वर्षदेखि ११ वर्ष मुनिका बालबालिकाको संख्या ४९ हजार ६१९ रहेको छ । यहीँ संख्यालाई फाइजर खोप लगाइनेछ ।

जसमध्ये बराहताल गाउँपालिकामा चार हजार २४ जना, भेरीगंगा नगरपालिकामा ६ हजार ६९ जना, वीरेन्द्रनगर नगरपालिकामा ११ हजार ५५२ जना, चौकुने गाउँपालिकामा चार हजार ४७६ जना बालबालिकालाई फाइजर खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै, चिंगाड गाउँपालिकामा ३ हजार १६ जना, गुर्भाकोट नगरपालिकामा ६ हजार ६७५ जना, लेकबेसी नगरपालिकामा ४ हजार ३३८ जना, पंचपुरी नगरपालिकामा ५ हजार ४४७ जना र सिम्ता गाउँपालिकामा ४ हजार २४ जना बालबालिकालाई खोप लगाइने छ ।

प्रतिक्रिया