सल्यानका किसानको किवी खेतीतर्फ आकर्षण बढ्दो

सल्यानका किसानको किवी खेतीतर्फ आकर्षण बढ्दो

सल्यान : पछिल्लो समय सल्यानका किसानको किवी खेतीतर्फ आकर्षण बढ्न थालेको छ । किवी खेती गर्ने किसान दिनानुदिन आर्कषण बढ्दो छ । जिल्लाको बागचौर नगरपालिका, छत्रेश्वरी, कुमाख गाउँपालिकामा किसान सङ्गठित भएर किवी खेती सुरु गरेका छन् ।

किसानहरू व्यावसायिक किवी खेतीमा आकर्षित

बिरुवा लगाएको केही वर्षमा नै उत्पादन दिने भएकाले पनि किसानहरू व्यावसायिक किवी खेतीमा आकर्षित भएका हुन् । कम मेहनतमा राम्रो आम्दानी हुने भएपछि गाउँ नै किवी खेतीमा लागेको बागचौर नगरपालिका -९ बथानका मदन शर्माले बताए । बथानका १६ घरपरिवारले अन्न लगाउने बारीमा किवी खेती गरेको उनको भनाई छ ।

किवी ब्लक कार्यक्रम अन्तर्गत १६ घरधुरीले सामूहिक किवी खेती सुरु गरेको शर्माको भनाई छ । ‘पुरै गाउँले किवी लगाएको दुई वर्ष भयो अर्को वर्षबाट आम्दानी दिन थाल्छ होला  । गाउँघरमा काम गर्ने मान्छे नै पाउन छोडेपछि अन्नबाली छोडेर किवी खेतीमा लागेका छौँ उनले भने ।’

अन्य अन्नबालीभन्दा झन्डै तीन गुणा बढी प्रतिफल किवीबाट लिन सकिने छत्रेश्वरी गाउँपालिका २ बुराँसेका चित्रबहादुर केसीले बताउनु भयो । उहाँले यो वर्ष २० क्विन्टल किवी बिक्री गरेको बताए ।

प्रतिकिलो १५० रुपैयाँका दरले खरिद

व्यापारीले बोटबाट नै प्रतिकिलो १५० रुपैयाँका दरले खरिद गरेको केसीले जानकारी दिए। सुरुमा परीक्षणका लागि लगाइएको किवीले राम्रो उत्पादन र बजार मूल्य पाउन थालेपछि बुराँसेका सबै घरधुरीले किवी खेती सुरु गरेको उहाँको भनाइ छ । थोरै लगानीबाट पनि किवी खेती गर्न सकिने भएपछि गाउँलेहरूमा बिस्तारै व्यावसायिक खेतीमा लागेको केसीले बताए ।

किवी खेतीको राम्रो सम्भावना

किवी खेतीका लागि सल्यानको हावापानी र भूगोल अनुकूल भएकाले पनि किवी खेतीको राम्रो सम्भावना रहेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । किवी खेतीलाई प्रवर्द्धन गर्न किवी पकेट क्षेत्र निर्धारण गरी काम अघि बढाइरहेको कार्यालयका सूचना अधिकारी रेसम कुमार बस्नेतको भनाई छ ।

२० हेक्टर क्षेत्रफलमा व्यावसायिक किवी खेती

हाल जिल्लामा २० हेक्टर क्षेत्रफलमा व्यावसायिक किवी खेती भइरहेको छ । २२ हेक्टरमा खेती गरिएको भएपनि हालसम्म ४ दशमलव ४ हेक्टर मात्र उत्पादनशील छ । चालु आर्थिक वर्षमा मात्र जिल्लाबाट ३८ मेटिकट्न किवी निकासी भएको अधिकारीको भनाई छ ।

प्रतिक्रिया