लामो खडेरीका कारण बाली सुक्न थालेपछि किसान चिन्तित

लामो खडेरीका कारण बाली सुक्न थालेपछि किसान चिन्तित

सुर्खेत :  समयमै पानी नपाएपछि सल्यानका किसानले लगाएको बाली सुक्न थालेको छ । पानी नपरेर लामो खडेरीका कारण  मुख्य खाद्य बाली मकैँ, धानको बेर्ना र तरकारी सुक्न थालेपछि किसान चिन्तित बनेका छन् ।

विगत लामो समय देखी पानी नपरेका कारण खेतवारीमा रोपेको बाली सुक्न थालेको किसानहरुको गुनासो छ । जिल्लाको पुर्वी तथा उत्तरी भेगमा हल्का पानी परेपनि अधिकांश भागमा पानी नपर्दा गर्मी ह्वात्तै बढेको र खेतवारीमा लगाएको बाली सुक्न थालेको किसानहरुको भनाइ छ ।

बाली मात्र नभएर खेतबारीमा लगाएको खुर्सानी, टमाटर, प्याज, फर्सी, कोक्रा, सिमीबोडी लगायतका बाली घामबाट जोगाउन मुस्किल हुन थालेको छ ।

समयमै वर्षा नहुँदा खडेरीले धानको बेर्ना समेत सुक्न थालेपछि किसानलाई रोपाइ गर्न सास्ती हुने अवस्था सृजना भएको छ । सिँचाइ कुलोको सुविधा भएका किसानले खेतबारीमा पानी हालेर अन्नबाली जोगाउन थालेको भएपनि सिँचाइबाट वञ्चित किसान आकाशे पानीको प्रतीक्षामा बसेका छन् ।

मकैँको गोडमेल गर्ने र धान रोपाईको सिजनमा बर्षात नहुदाँ खडरीकै कारण उत्पादन घट्ने चिन्ता थपिएको बन्गाड कुपिण्डे नगरपालिकाका नविन पुनले बताए ।

कृषि विकास कार्यालय सल्यानका अनुसार जिल्लाभर करिब ७ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुदैँ आएको छ ।

यस्तै करिब १९ हजार हेक्टर क्षेत्रफलमा मकैँ, ६ सय बढी हेक्टर क्षेत्रफलमा कोदो खेती हुदैँ आएको छ । समयमा नै पानी नपर्दा यसबर्ष जिल्लामा खाद्यान्न उत्पादनमा कमी हुनसक्ने जनाएको छ ।

प्रतिक्रिया