समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु

समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु

काठमाण्डौ : आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ ।

भोलिसम्म चल्ने बैठकमा पालिका चुनावको समीक्षा, आउँदो कार्ययोजना, वर्तमान सङ्गठनात्मक अवस्था तथा त्यसका सम्भावना, चुनावमुखी कार्ययोजनाका विषयमा छलफल गरिने पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। मन्त्री फेरबदलको विषयमा विवाद बढ्दै जाँदा पार्टीको केन्द्रीय कमिटी बैठक सुरु हुन लागेको हो ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाएर नयाँ व्यक्तिलाई मन्त्री बनाउन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सिफारिस गरेको भए पनि कार्यान्वयन भएको छैन। यहीबेला चार मन्त्रीसहित १० जना सांसदले मन्त्रीहरू फेर्ने पार्टी निर्णय नमान्ने भन्दै संसदीय दलको बैठक बोलाउन माग गर्दै अध्यक्ष नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

सरकारमा सामेल हुने बेला नै एकीकृत समाजवादीले ६ महिनापछि मन्त्री फिर्ता बोलाउने र नयाँ पठाउने सहमति गरेको थियो । तर, मन्त्री भएको आठ महिना बितिसक्दा पनि निर्णय कार्यान्वयन भएको छैन ।

हिजो बसेको पोलिटब्युरो बैठकमा पार्टी अध्यक्ष नेपालले सरकारबाट फिर्ता हुन नमानिरहेका मन्त्रीहरुलाई पार्टी निर्णय कार्यान्वयन गर्न आग्रह गरेका छन् । । आजदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकमा पार्टीभित्रको विवादसँगै पछिल्लो राजनीतिक अवस्थाको विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया