फेरिए कक्षा कोठाको मुहार

फेरिए कक्षा कोठाको मुहार

दैलेख : धुल्याम्मे भुइँ । च्यातिएर धुजा–धुजा बनेको कार्पेट । छरपस्ट कागजका टुक्रा । यस्तै कक्षा कोठामा बसिरहेका हुन्थे, ठाटीकाँध गाउँपालिका–६ स्थित जनआधारभुत विद्यालयको बाल विकास केन्द्रका बालबालिका । बाल विकास केन्द्रमा ४५ जना बालबालिका पढ्न आउँछन् । उनिहरु फोहोर र अव्यवस्थित कोठामा बसेर पढ्न बाध्य थिए । अब भने बाल विकास केन्द्रका बालबालिका सफा र चिटिक्क परेको कक्षा कोठामा बसेर पढ्न पाउनेछन् । विद्यालयका प्रधानाध्यापक पानसरा थापाले बसाई व्यवस्थापनका लागि पिफर्म र जुट कार्पेट सहयोग भएपछि बालबालिकाको बसाई व्यवस्थापनसँगै पठनपाठनमा सहज भएको बताइन् । ‘बालबालिकाहरु धुलोमा बसेर पढ्न बाध्य थिए, अब त्यो समस्या हटेर गएको छ,’ उनले भनिन् ।

बालबालिकाको बसाई व्यवस्थापनका लागि पिफर्म र कार्पेट सहयोग भएपछि कक्षाकोठाका र बालबालिका । तस्विर : हिक्मतबहादुर नेपाली ।

यो सँँगै गाउँपालिकाका अन्य सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको बसाई व्यवस्थापनका लागि पिफर्म र जुट कार्पेट सहयोग गरेपछि कक्षा कोठाको मुहार नै फेरिएको छ । अब ठाटीकाँध गाउँपालिकाका सामुदायिक विद्यालयका कक्षा कोठा व्यवस्थित हुनेछन् । ठाटीकाँध गाउँपालिकाको एक वटा समुदायमा आधारित बाल विकास केन्द्रसहित २१ वटा सामुदायिक विद्यालयको बाल विकास केन्द्र र कक्षा १, २ र ३ मा अध्ययनरत बालबालिकाको बसाई व्यवस्थापनका लागि पिफर्म र जुट कार्पेट दिईएको हो ।

एईआएन लक्जेम्बर्गको सहयोगमा सोसेक नेपालद्धारा सञ्चालित गुणस्तरिय शिक्षा अभिबृद्धि, स्वास्थ्य र जिविकोपार्जन (सहकार्य) परियोजनाले बालबालिकाको बसाई व्यवस्थापनका लागि पिफर्म र जुट कार्पेट सहयोग गरेको हो । एक वटा समुदायमा आधारित बाल विकास केन्द्रसहित २१ वटा सामुदायिक विद्यालय लागि एक हजार एक सय मिटर कार्पेट र एक हजार पाँच सय मिटर पिफर्म उपलब्ध गराईएको परियोजना संयोजक जीवराज रेग्मीले बताए ।

आइतवारदेखि विद्यालयहरुलाई पिफर्म र कार्पेट वितरण सुरु गरिएको छ । सोहि अबसरमा गाउँपालिकाका अध्यक्ष रक्षबहादुर शाहले बसाई व्यवस्थापनका लागि सहयोग भएको सामग्रीलाई प्रयोगमा समेत ध्यान दिन विद्यालयका शिक्षकहरुलाई आग्रह गरे । गाउँपालिकामा रहेका विद्यालयको व्यवस्थित गराउन आफुहरुले प्रतिबद्ध रहेको बताउँदै विद्यालय घेरबारदेखि रंगरोगन तथा शैक्षिक गुणस्तर बृद्धिसम्मका कामलाई प्राथमिकतामा राखिएको अध्यक्ष शाहले बताए ।
बाल विकास केन्द्र तथा तल्लो कक्षाका विद्यार्थी धुलोमा बसेर पढ्नुपर्ने बाध्यताको अन्त्य गर्न विद्यालयहरुलाई पिफर्म र कार्पेट दिईएको सोसेक नेपालका अध्यक्ष हीरासिंह थापा बताउँछन् । ‘हामीले देखेका छौँ, सामुदायिक विद्यालयका माथिल्लो कक्षाका विद्यार्थीहरुलाई प्राथमिकता दिएर कक्षा कोठा व्यवस्थापन गर्ने तर तल्लो कक्षाका बालबालिकाहरु धुलोमा बसेर पढ्न बाध्य हुन्छन्,’ उनले भने ‘अब बाल विकास केन्द्र र कक्षा १, २ र ३ मा अध्ययनरत बालबालिकाहरुको भुर्इँ बसाई व्यवस्थापन अहिलेको आवश्यकता हो ।’

गाउँपालिकाका उपाध्यक्ष देवीराम बडुवालले विद्यालयको भौतिक पूर्वाधार विकाससँगै शैक्षिक गुणस्तर बृद्धिमा जोड दिनुपर्ने बताए । प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद उपाध्यायले कार्पेट र पिफर्म सहयोगपछि आगामी दिनमा विद्यार्थीहरुलाई सुरक्षित र व्यवस्थित कक्षा कोठामा अध्ययन गर्न पाउने वातावरण सृजना हुने बताए ।

प्रतिक्रिया