बन्दीपुरका होटल, रेस्टुरेन्ट र होमस्टेमा सालको पातका टपरीको प्रयोग गरिने

बन्दीपुरका होटल, रेस्टुरेन्ट र होमस्टेमा सालको पातका टपरीको प्रयोग गरिने

फाईल तस्बीर

तनहुँ : बन्दीपुरका होटल, रेस्टुरेन्ट र होमस्टेमा सालको पातबाट निर्मित टपरीको प्रयोग गरिने भएको छ । उत्पादित टपरीको बजारीकरणका लागि गाउँपालिकाले सहयोग गर्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए ।

प्रयोगपछि टपरीलाई कम्पोस्ट मल बनाउन प्रयोग गरिने हुँदा वातावरण सफा र स्वच्छ हुने विश्वास गरिएको उनले बताए ।

गण्डकी प्रदेश सरकारको गरिबी निवारण उद्यमी विकास कार्यक्रममार्फत बन्दीपुर गाउँपालिका ६ को कमलबारी डाँडाछाप उद्यमी महिला विकास संस्थालाई टपरी बनाउने मेशिन हस्तान्तरण गरी तालिम प्रदान गरिएको छ ।

त्यो मेशिन दुई लाख १३ हजार पाँच सय रुपैयाँमा खरिद गरिएको गाउँपालिका अध्यक्ष थापाले बताए । मेशिनबाट टपरी बनाउने तालिमको गाउँपालिकाका अध्यक्ष थापाले शुभारम्भ गरेका थिए । सुकाएको सालको पातलाई मेसिनमा राखेपछि टपरी तयार गर्न सकिन्छ । उनले भने, ‘सुरुमा मानिसले चार वटा पातलाई सिन्काले सिलाएर मेशिनमा राख्नुपर्छ ।’ तालिममा १२ जना सहभागी छन् । उत्पादन गरिएका टपरी बन्दीपुर कोसेली घरमा राखेर पनि बिक्री गर्ने व्यवस्था मिलाइने गाउँपालिका कार्यालयले जनाएको छ ।

बन्दीपुर २ बसपार्कमा रहेको टुँडिखेल चोकमा बन्दीपुर कोसेली घर निर्माण गरिएको छ । गाउँपालिकाले महिलाहरूलाई आयआर्जनतर्फ उन्मुख गराउन थालेको गाउँपालिकाका उपाध्यक्ष पञ्चमाया गुरुङले जानकारी दिए ।

प्रतिक्रिया