कर्णालीमा २५ प्रतिशत मात्र रोपाइँ

कर्णालीमा २५ प्रतिशत मात्र रोपाइँ

सुर्खेत : कर्णाली प्रदेशमा झन्डै २५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । कर्णालीमा धान उत्पादन हुने ४९ हजार ४ सय २५ हेक्टर जमिनमध्ये १२ हजार १ सय हेक्टरमा मात्र रोपाइँ सकिएको हो । लामो खडेरीले खोलानाला सक्दा किसानले समयमै बीउसमेत राख्न नपाएको गुनासो गरेका छन् । त्यसमा पनि मल नपाइनु, रोपेको बीउ पनि ब्याडमै सुक्नुलगायत कारण आफूहरू समस्यामा परेको किसानहरूले बताए । यो वर्ष कर्णालीमा सबैभन्दा बढी सुर्खेतमा ६ सय हेक्टरमा रोपाइँ भएको छ । सबैभन्दा कम डोल्पामा १ सय ४० हेक्टरमा रोपाइँ भएको छ । डोल्पामा २ सय ७६ हेक्टर मात्र मात्र धान खेती हुन्छ ।

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव लेखराज दाहालका अनुसार कर्णालीमा सबैभन्दा बढी धान फल्ने सुर्खेतमा १३ हजार ५ सय २ हेक्टरमा धान खेती हुन्छ । मन्त्रालयका अनुसार कर्णालीमा १९ हजार हेक्टर क्षेत्रफलमा कोदो लगाउन सकिने भए पनि करिब २ हजार हेक्टरमा मात्र कोदो उत्पादन हुन्छ । गत वर्ष २१ हजार मेट्रिक टन मात्रै कोदो उत्पादन भएको थियो । साढे ११ हजार हेक्टर क्षेत्रफलमा जौ खेती गर्न सकिने कर्णालीमा करिब ५ हजार हेक्टरमा जौ उत्पादन भइरहेको छ । गत वर्ष साढे १४ हजार मेट्रिक टन जौ उत्पादन भएको थियो । चिनो र कागुनो करिब ३ हजार हेक्टरमा खेती भइरहेको सचिव दाहालले बताए ।

कर्णालीमा बढी धान उत्पादन हुने सुर्खेत, सल्यान, दैलेख र जुम्लामा धमाधम प्लटिङ र जग्गा बाँझो हुँदा उत्पादन भने बर्सेनि घटिरहेको मन्त्रालयले जनाएको छ । यो वर्ष धान उत्पादन हुने २८ प्रतिशत जमिन बाँझो रहेको मन्त्रालयको तथ्यांक छ । कृषि विकास निर्देशक चित्रबहादुर रोकायले कृषकहरूले बढी उत्पादन गर्ने लोभमा स्थानीय बाली लगाउन छोड्दा कर्णालीमा खाद्य परनिर्भरता बढेको बताए । उनका अनुसार गत आर्थिक वर्षमा ४५ हजार ४ सय ४९ हेक्टर क्षेत्रफलमा १ लाख ५५ हजार ७ सय ४१ मेट्रिक टन धान उत्पादन भएको थियो । उनले कर्णालीमा कुल जमिनको ९.९ प्रतिशत भूभागमा मात्रै खेती गरिएको जानकारी दिए । कर्णालीमा धानखेती हुने जमिनमध्ये झन्डै १७.५३ प्रतिशतमा मात्र वर्षभरि सिँचाइ सुविधा उपलब्ध छ ।

प्रतिक्रिया