मल अभावकै विच कृषकहरू धमाधम रोपाइँमा

मल अभावकै विच कृषकहरू धमाधम रोपाइँमा

सल्यान :  कोही खेत जोत्दै छन् । कोही खनिरहेका छन् । कोही धानको ब्याड निकाल्दै छन् भने महिलाहरू धान रोप्दै छन् । अहिले कृषकहरूलाई रोपाइँ गर्न भ्याइनभ्याइ छ । खेतिपातीका बेला रासायनिक मलको हाहाकार छ । अर्कोतिर आधा असार वित्दा पनि रोपाइँ गर्नेगरी वर्षा भएको छैन् । यसका बाबजुद पनि कृषकहरू धमाधम रोपाइँमा जुटेका हुन् ।

सल्यानको मुख्य खेती धान बाली नै हो । यस जिल्लामा लामो समयदेखि वर्षा हुन सकेको छैन् । अर्कोतर्फ रासायनिक मलको हाहाकार छ । विगत केही दिनयता मौषम बदली भएर बर्षात हुन थालेकाले यही महिनामा नै रोपाइँ हुने आसमा कृषकहरु बसेका छन् । यि समस्याका बाबजुद पनि केही कृषकहरू भने जेनतेन रोपाइँ गरिरहेका छन् ।

‘यसपाली त पानी पनि परेन, मल पनि पाइएन’ शारदा नगरपालिकाका किसान धन बहादुर कँवरले भने ‘जेनतेन रोपाइँ गरिरहेका छौं, मल विना नै रोपाइँ भयो ।’ मल खोज्न धेरै ठाउँ धाएपनि मल पाएनौँ । खेती लगाउने समयमै मल नपाएपछि यस वर्ष उब्जनी घट्ने चिन्ता उनले व्यक्त गरे।

विगतमा अर्मपर्म गरेर रोपाइँ लगाउने चलन थियो । तर अहिले कृषि कर्म गर्नेको संख्या कम हुदै गएपछि अर्मपर्म गर्नेहरू घटेका छन् । जसका कारण ग्रामीण भेगमा कृषि मजदुर पाउन समेत समस्या हुने गरेको छ । ‘एकातिर मल र सिँचाइको असुविधा छ’ उनले भने ‘अर्कोतिर बर्षात नहुदाँ खोलामा पानीको मात्रा कम छ, सिँचाइ कुलो भएका ठाँउमा पनि रोपाइँ भएको छैन् ।’

विगतमा हलगोरुबाट रोपाइँ गर्ने चलन थियो । तर अहिले हलगोरु भेट्नै मुस्किल हुन्छ । अधिकांशले ट्याक्टर तथा पावर टिलरको प्रयोग गर्छन् । कृषि यन्त्रहरूको प्रयोग बढ्दा हलगोरुको प्रयोग घटदै गएको छ । खेतीयोग्य जमिन खण्डीकरण हुदै गएका कारण पनि कृषकहरूले हलगोरु पाल्न छाडेका हुन् । .

सल्यान जिल्लाभर करिब ७ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । मल विना नै जिल्लामा यस बर्षको हाल सम्म करिब ६५ प्रतिशत धान रोपाइँ सकिएको छ । समयमा नै बर्षात नहुनु, खोलाहरुमा पानीको सतह घट्नु तथा केही ठाउँमा सिँचाइ सुविधा नहुदाँ यस बर्षको हाल सम्म ६५ प्रतिशत मात्रै रोपाइँ सकिएको कृषि बिकास कार्यालय सल्यानले जनाएको छ ।

सिँचाई सुबिधा भएको क्षेत्रमा असारको पहिलो साता सम्म लगभग धान रोपाइँ सकिएको भएको पनि आकाशे पानीको भरमा खेती हुदैँ आएको क्षेत्रमा भने अझै रोपाइँ शुरु हुन सकेको छैन् ।

कार्यालयका सुचना अधिकारी रेशम कुमार बस्नेतले गत बर्षको तुलनामा यस बर्ष जिल्लामा कम रोपाइँ भएको छ । ‘गतबर्षको हालसम्म झण्डै ८० प्रतिशत रोपाइँ सकिएको थियो, तर यो बर्ष भने बल्ल ६५ प्रतिशत रोपाइँ भएको छ’ उनले भने ‘रोपाइँ जारी छ, निरन्तर बर्षात भयो भने छिटफुट बाहेकका अधिकांश क्षेत्रमा यसै महिना रोपाइँ सकिन्छ ।’

जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका, कालिमाटी गाउँपालिका, कपुरकोट गाउँपालिका लगाएतका क्षेत्रमा कम रोपाइँ भएको छ । जिल्लाका किसानहरुले बढी मात्रामा रामधान, सुख्खा ३, सुख्खा १, कञ्चन लगाएतका जातको धान रोप्दै आएका छन् ।

प्रतिक्रिया