चरम गरिबीको चपेटामा परेका गौरे सार्कीको घर बन्यो

चरम गरिबीको चपेटामा परेका गौरे सार्कीको घर बन्यो

दैलेख : जिल्लाको भैरवी गाउँपालिका–१ रावतकोटका गौरे सार्कीको परिवारको लागि घर निर्माण सकिएको छ। चरम गरिबीको चपेटामा परेर कष्टकर जीवनयापन बिताईरहेका ७९ वर्षिय गौरेको परिवारलाई पञ्चदेवल पूर्व विद्यार्थी समाज र भैरबी गाउँपालिकाले संयुक्तरुपमा घर निर्माण गरिदिएका हुन्।

गौरेको परिवारले झेलिरहेको समस्याबारे समाचार प्रकाशन भएपछि गाउँपालिका र समाजले गौरेको परिवारलाई घर निर्माणका लागि चासो देखाएका थिए। नेपाली सेनाको कालीदत्त गुल्म काँडाचौर ब्यारेकले खाद्यान्न तथा लत्ता कपडा समेत सहयोग उपलब्ध गराएको थियो। त्यसअघि सामाजिक सेवा केन्द्र (सोसेक) नेपालद्धारा सञ्चालित बाल हेल्पलाइन १०९८ ले खाद्यान्न र भाँडाकुडा सहयोग गरेको थियो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर विकले करिब दुई लाख ३८ हजार रुपैयाँ लागतमा एक तले घर निर्माण गरिएको बताए। गाउँपालिकाले गौरे सार्कीको परिवारका लागि घर निर्माण गर्न सशर्त अनुदानतर्फ ५० हजार र ७० हजार रुपैयाँ गाउँ सभाको पहिलो बैठक भत्ताबाट खर्च व्यवस्थापन गरेको थियो। यस्तै पूर्व विद्यार्थी समाजले घर निर्माणका लागि एक लाख रुपैयाँ जुटाएको थियो। घर निर्माणका लागि अन्य व्यक्तिहरुले समेत स्वेच्छिक सहयोग गरेको प्रमुख प्रशासकीय अधिकृत विकले बताए। उनले टिनको छानो भएको दुई कोठे घरसहित शौचालय निर्माण गरिएको बताए।

शनिबार नवनिर्मित घर गौरे सार्कीको परिवारलाई हस्तान्तरण गरिएको छ। गाउँपालिकाका उपाध्यक्ष देवी भण्डारीलगायतको उपस्थितीमा घर हस्तान्तरण गरिएको हो। सोहि अवसरमा उपाध्यक्ष भण्डारीले पाँच हजार रुपैयाँ व्यक्तिगत सहयोगसमेत उपलब्ध गराईन्। कार्यपालिका सदस्य मन बहादुर विकले गौरेका छोराको लागि शैक्षिक सामग्री किन्न रकम उपलब्ध गराए।

उनीहरुको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी राजमार्गदेखि दूई सय मिटर दुरीमा काठका खाबाको सहायता र त्रिपालको छानोले बनेको झुपडी थियो। गौरे उनकी पत्नी ६५ वर्षीय बुदी सार्की र छोरा १६ वर्षीय उज्जल सार्की त्यहि कष्टकर दैनिकी बिताईरहेका थिए। गाउँपालिका र पूर्व विद्यार्थी समाजले घर निर्माण गरिदिएसँगै उनीहरु बस्ने घर बदलिँएको छ। काठका खाँबामाथि त्रिपाल टाँगेर दैनिकी गुजारिरहेका उनीहरु अब सुरक्षित र नयाँ घरमा सरेका छन्।

यसअघि गौरे सार्कीको परिवार र उनिहरु बस्दै आएको झुपडी । तस्विर : हिक्मतबहादुर नेपाली

नयाँ घर बनेसँगै गौरेले पूर्व विद्यार्थी समाज र गाउँपालिकालाई धन्यवाद दिए। ‘२०७४ को चुनावपछि जनप्रतिनिधिलाई पटक–पटक आफ्नो समस्या सुनाएका थियौं, गाउँपालिकाले घर बनाइदिन्छौं भन्दै आश्वासन मात्र दियो, तर, अहिलेको चुनाव लगत्तै घर बनाईदिनुभयो,’ गौरेले भने ‘त्रिपालमूनिको कष्टकर दैनिकीबाट सुरक्षित घरमा बस्न पाउँदा खुसीको सिमा नै छैन्।’ अब मुसलधारे पानी पर्दा समेत ढुक्कले बस्न पाइने गौरेको भनाई छ।

प्रतिक्रिया