सेवाग्राहीका घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण

सेवाग्राहीका घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण

कालिकोट : जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाका नवनिर्वाचित उपाध्यक्ष पार्वती सिंह (संज्याल) आफैं उपस्थित भएर सेवाग्राहीका घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेकी छन् । भत्ता वितरण गर्न मात्रै नभई मतदातालाई धन्यवाद दिन र आगामी वर्षको योजना निर्माणका लागि मतदाताका घरमा पुगेको उनले बताइन्।

‘घरमै भत्ता वितरण गर्ने कुरा त हाम्रो चुनावी प्रतिबद्धता नै थियो, मूल कुरा सामाजिक सुरक्षा भत्ता पाउने परिवार आर्थिक र सामाजिक हिसाबले समाजका अन्य वर्गभन्दा कमजोर छन्,’ उनले भनिन्, ‘हामी आगामी वर्षको योजना निर्माण गर्दै छौं । अब कस्ता योजना बनाउँदा यस्ता वर्गको उत्थान गर्न सम्भव हुन्छ भनेर सुझाव पनि लिऔं भनेर आफैं घरघरमा पुगिरहेको छु।’

विगतमा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिले वडा कार्यालयमा नै पुग्नुपथ्र्यो वृद्धवृद्धा, असहाय, अपांगता भएका व्यक्तिले सामाजिक सुरक्षा भत्ता लिनकै लागि दिनभर हिँड्नुपर्ने अवस्था रहेकाले घरमै भत्ता पुर्याउने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ।

पालिकाले घरमै भत्ता दिने व्यवस्था गरेपछि सेवाग्राहीले खुसी व्यक्त गरेका छन्। ‘दमको रोग छ। भत्ता बुझ्न जाँदा निकै समस्या हुन्थ्यो। हातगोडा टेकेर वडा कार्यालयसम्म पुग्थें,’ एकजना सेवाग्राही छिता जैसीले भनिन्, ‘यो पाला घरमै बसीबसी भत्ता बुझ्न पाएँ। हामीलाई धेरै सुख भयो।’ उनले वृद्धवृद्धा र असक्तलाई घरमै आएर औषधोपचार गर्ने व्यवस्था भइदिए राम्रो हुने बताइन्।

पालिका र बैंकका कर्मचारीसहित उपाध्यक्ष पार्वती सिंह (संज्याल) ले वडा नं १ रकु र वडा नं २ सरिजिउलामा रहेका लाभग्राहीको घरपायक ठाउँमा पुगेर भत्ता वितरण गरेको वडा नं १ का वडाध्यक्ष वैकुण्ठराज गिरीले बताए। उनले भने, ‘सबै वडाका सेवाग्राहीलाई घरमै भत्ता दिने गरी गाउँपालिकाले योजना बनाएको छ। यसअघि वडा नं ७, ८ र ९ मा भत्ता वितरण गरिसकेका छौं।’

प्रतिक्रिया