१५ जना किसानको प्याज खेती : ५० क्विन्टल उत्पादन

१५ जना किसानको प्याज खेती : ५० क्विन्टल उत्पादन

दैलेख : दुल्लु नगरपालिका–२ तरियाँका कर्णबहादुर थापाले प्याज खेती गर्दै आएका छन् । उनले यसवर्ष झण्डै १० क्विन्टल प्याज फलाएका छन् । गाउँकै तरियाँ बेमौषमी तरकारी उत्पादन कृषक समुहका अध्यक्ष समेत रहेका थापाले प्याज खेतीबाट राम्रो आम्दानी भएको बताए । उनले डेढ केजी प्याजको बीउ रोपेका थिए । सोहि टोलका जयबहादुर थापा पनि प्याज खेती गर्छन् । एक केजी बीउ रोपेका उनले झण्डै ७ क्विन्टल प्याज फलाएका छन् । कृषक समुहका सचिव समेत रहेका थापाले प्याज एकै सिजनमा राम्रो उत्पादन भएको बताउँछन् ।

कर्णबहादुर र जयबहादुर जस्तै तरियाँका १५ जना किसान प्याज खेतीमा संलग्न छन् । उनिहरुले एकै सिजनमा ५० क्विन्टल प्याज उत्पादन गरेका छन् । सामुहिक प्याज खेती गरेका उनिहरुले उत्पादन गरेको मध्ये २० क्विन्टल बिक्री गरिसकेका छन् । सुर्खेत, कालिकोट र जुम्लामा रहेको तरकारी मण्डीले तरियाँ गाउँमै पुगेर किसानले उत्पादन गरेको प्याज खरिद गरेका हुन् । बाँकी प्याज बेमौषममा बिक्री गर्न स्टोर गरेर राखेको कृषक समुहले जनाएको छ ।

दुल्लु नगरपालिकामा यूरोपियन यूनियनको आर्थिक सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख, डिसिए नेपाल, लिवर्ड, एनएनएसडब्लुएको कन्सोर्टियम पार्टनरसिपमा जलवायु समानुकुलन र आर्थिक समृद्धिका लागि समावेशी नागरिक समाज संघ संस्थाहरुको क्षमता अभिवृद्धि (उत्थान) परियोजना सञ्चालित छ । परियोजनाले प्याज खेती गर्न किसानहरुलाई सहयोग गरेको थियो । परियोजनाका कृषि प्राविधिक संगम विस्टले किसानहरुलाई १२ केजी प्याजको बीउ र प्राविधिक सहयोग उपलब्ध गराईएको बताइन् ।

गतवर्ष यहाँका किसानहरुले झण्डै ६० क्विन्टल प्याज उत्पादन गरेका थिए । यसवर्ष प्याज खेतीमा रोग किरा लागेका कारण उत्पादनमा केहि कमी आएको किसानहरुले बताएका छन् ।  हालै यहाँका किसानहरुले जलवायु तथा महिलामैत्री कृषि सामग्री दिइएको छ । डीसीए नेपालको सहयोगमा सोसेक नेपालमार्फत सञ्चालित ग्रीन कर्णाली परियोजनाले सामग्री सहयोग गरेको हो ।

प्रतिक्रिया