राउटे युवतीलाई यौन दुव्र्यवहार गर्नेलाई सात वर्ष कैद

राउटे युवतीलाई यौन दुव्र्यवहार गर्नेलाई सात वर्ष कैद

सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित भेरी नदि किनारमा बसोबास गरिरहेका बेलाको राउटे बस्ती । तस्विर : हिक्मतबहादुर नेपाली ।

दैलेख : कर्णालीका जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका युवतीलाई यौन दुव्र्यवहार गर्नेलाई कैद र जरिवाना तोकिएको छ । लोपोन्मुख राउटे समुदायका दुई युवतीलाई यौन दुव्र्यवहार गर्नेलाई सुर्खेत जिल्ला अदालतले कैद र जरिवाना तोकेको हो । अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले राउटे युवतीलाई यौन दुव्र्यवहार गर्ने चौमन घर्ती मगर र भुपेन्द्र बुढा मगरलाई सात/सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको हो । बिहीबार भएको फैसला अनुसार उनीहरूले पीडित राहत कोषमा जनही ८ हजार रुपैयाँ जम्मा गर्नुपर्नेछ ।

यौन दुव्यवहार भएको होटलका सञ्चालक मनबहादुर पुनलाई तीन वर्ष ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएको अदालतका सूचना अधिकारी उज्ज्वल रावलले जानकारी दिए । उनले चार हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फौसलामा उल्लेख छ । जेल सजाय र जरिवाना तोकिएका तीनै जनालाई २०७८ असार १६ गते पुर्पक्षका लागि जेल चलान गरिएको थियो ।

सुर्खेतको गुर्भाकोट नगरपालिकाको आपसोती जनैघाटस्थित भेरी नदि किनारमा बसोबास गर्दैै आएका बेला राउटे समुदायका दुई युवती यौन दुव्र्यवहारको सिकार भएका थिए । मनबहादुरले सञ्चालन गरेको बोटेचौरको शुभकामना होटलमा जेठ २१ गते राति राउटे युवतीमाथि यौन हिंसा भएको थियो । राउटे युवतीलाई मदिरा खुवाएर यौन हिंसा गरेको भिडियो सार्वजनिक भएपछि २०७८ जेठ २३ गते प्रहरीले उनीहरूलाई प्रक्राउ गरेको थियो ।

प्रतिक्रिया