कर्णालीको टिम्मुर जर्मनी र खसी काठमाडौँमा

कर्णालीको टिम्मुर जर्मनी र खसी काठमाडौँमा

सुर्खेत : बनगाड कपिन्डे नगरपालिकाका प्रमुख कर्णबहादुर बुढाथोकीले नगरको मुख्य आम्दानी कृषि तथा पशुपालन व्यवसाय भएको बताएका छन् ।

बिहीबार प्रमुख बुढाथोकीले विगतको तुलनामा स्थानीय उत्पादन निर्यात कम भए पनि अझै नगरबाट कृषि तथा पशुचौपाय नै नगरको प्रमुख आम्दानी भएको बताए । लसुन,टिम्मुर, स्याउ, ओखर ,सुन्तला, लिची आँप, केरा नगरका प्रमुख आम्दानीका स्रोत भएको उनले बताए ।

बनगाड कुपिण्डेमा उत्पादित टिम्बुर टिम्बुर जर्मनलगायत अन्तर्राष्ट्रिय बजारमा जाने गरेको उनले बताए । ‘बनगाड नगरपालिका टिम्बुर उत्पादनको पकेट क्षेत्र हो । त्यसमा पनि यहाँका केही वडालाई हामीले टिम्बुर पकेट क्षेत्र घोषणा गरेका छौँ । यहाँ उत्पादित टिम्मुर जर्मनलगायत अन्तर्राष्ट्रिय बजारमा पुग्छ ।’

यस्तै, नगरको अर्को प्रमुख आम्दानी बाख्रापालन भएको बताए । बनगाड नगरमा उत्पादित खसीको मुख्य बजार काठमाडौं भएको उनले बताए ।

उनले भने,‘ यहाँ उत्पादित खसीको मुख्य बजार काठमाडौं हो । हरेक १५ दिनमा यहाँबाट एक ट्रक खसी बाहिरिन्छन् । जसबाट लगभग वार्षिक ६ करोड नगद नगरमा भित्रिन्छ ।’

पहिले भटमास,मकै, खुर्सानी, अदुवा निर्यात हुने गरे पनि पछिल्लो समय विभिन्न कारणले कृषकमा नैरास्यता छाउँदा निर्यात घटेको उनले बताए ।

नगरमा भैँसी, सुँगुरजस्ता व्यवसायलाई व्यवस्थित गर्न नसकेको बताउँदै उनले आगामी दिनमा व्यवस्थित गर्दै लैजाने बताए ।

यस्तै, नगरको अर्को प्रमुख आम्दानीको स्रोत सल्लाको खोटो रहेको उनले बताए । उनले भने, ‘वार्षिक ४५ हजार टिन खोटो निर्यात हुन्छ । एक टिनमा लगभग १८ केजी खोटो हुने गर्छ ।’

प्रतिक्रिया