सशस्त्र द्वन्द्वमा विस्थापित शिक्षकको पुर्ननियुक्ती

सशस्त्र द्वन्द्वमा विस्थापित शिक्षकको पुर्ननियुक्ती

जो आयोग पास गरेको १९ वर्षपछि शिक्षक बने

दैलेख : दैलेखकी भरतकुमारी रेग्मी २०५७ मा तत्कालिन नेकपा माओवादीले नेतृत्व गरेको १० वर्षे जनयुद्धमा होमिइन् । भूमिगत हुनुअघि उनी सामुदायिक विद्यालयको अस्थायी शिक्षक हुन् । उनी नारायण नगरपालिका–५ स्थित महेन्द्र मावीमा अस्थायी दरबन्दीमा कार्यरत थिइन् ।

२०५२ मा शिक्षक सेवा आयोगले स्थायी शिक्षकको विज्ञापन खोल्दा रेग्मीले पनि परीक्षा दिइन् । नतिजा आउन आठ वर्ष लाग्यो । २०५२ सालको विज्ञापनको परीक्षफल २०६० मा प्रकाशित भयो । उनले प्रावि तहको शिक्षकमा आयोगले लिएको परीक्षा उर्तिण गरिन् । तर जनयुद्धमा होमिएपछि नियुक्ती पत्र बुझ्न पाइनन् ।

२०६४ साल चैत्र २८ गते नेपालमै पहिलोपल्ट संविधानसभाको निर्वाचन सम्पन्न भयो । संविधानसभाको निर्वाचनमार्फत सशस्त्र जनयुद्ध गरेको तत्कालीन एकीकृत नेकपा माओवादी ठूलो पार्टीको रूपमा उभियो । उनै रेग्मी माओवादी पार्टीबाट समानुपातिक सांसद बनिन् ।

उनले संविधान सभाको कार्यकाल विताइन् । अहिले पनि माओवादी केन्द्रको राजनीतिमा रहेकी रेग्मी अब शिक्षकको रुपमा चिनिने छिन् । आयोगले नतिजा प्रकाशित गरेको १९ वर्षपछि उनले शिक्षकको नियुक्ति लिने भएकी हुन् ।

रेग्मीलाई प्रावि तहका शिक्षकको नियुक्ति प्रदान गरिने शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख तेजबहादुर थापाले बताए ।

रेग्मीजस्तै माओवादी नेता कर्णबहादुर बस्नेत पनि अब शिक्षकको रुपमा उदाउनेछन् । हाल माओवादी केन्द्रको केन्द्रीय तहमा रहेका बस्नेत २०५८ मा सशस्त्र जनयुद्धमा होमिएका थिए । त्यसअघि नारायण नगरपालिका–१ स्थित त्रिभुवन मावीमा अस्थायी शिक्षकको रुपमा कार्यरत बस्नेतले २०५२ मा शिक्षक सेवा आयोगले लिएको परीक्षामा सफल भएका थिए ।

नजिता २०६० प्रकाशित भएपनि उनले नियुक्ती लिन पाएका थिएनन् । माओवादी केन्द्रको सक्रिय राजनीतिमा रहेका बस्नेतलाई मावी तहको स्थायी शिक्षक नियुक्ती दिइएको प्रमुख थापाले बताए । आयोग पास गरेको १९ वर्षपछि शिक्षक नियुक्ती पाएका बस्नेत भन्छन्, ‘शैक्षिक गुणस्तर र भौतिक स्थिती कमजोर भएको विद्यालयमा काम गर्ने योजना छ, जुन सामुदायिक विद्यालयलाई परिवर्तन गर्न सकुँ ।’

संविधान सभा सदस्य रेग्मी र बस्नेतसहित दैलेखका १४ जना शिक्षकहरु पुर्नवहाली भएका छन् । रेग्मी र बस्नेत शिक्षक सेवा आयोग पास गरेको तर नियुक्ती पत्र नबुझ्ने मध्येका हुन् । यी दुवैजनाले आयोग पास गरेको १९ वर्षपछि नियुक्ती बुझेका हुन् ।

दश वर्षे सशस्त्र द्वन्द्व र आन्दोलनका कारण शिक्षण पेसाबाट विस्थापित भएका अन्य १२ जना शिक्षकहरुको पुर्नवहाली भएको छ ।

प्रावी तहका १२ जना शिक्षकहरुको पुर्ननियुक्ती भएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख थापाले बताए । पुर्नवहाली भएका शिक्षक कार्यक्षेत्रमा खटिएको उनले बताए । ‘प्रचलित कानुनबमोजिम सेवा गर्न उमेर बाँकी रहेका स्थायी शिक्षकलाई स्वीकृत दरबन्दीको रिक्त स्थानमा पुनर्बहाली गर्ने गरी जिल्लाका विभिन्न स्थानीय तहमा पठाइएको छ,’ उनले भने ।

सरकारले द्वन्द्वको समयमा जागिर गुमाएका शिक्षकको पुनर्वहाली गर्ने निर्णय गरेको थियो । २०७८ फागुन १६ गते बसेको मन्त्रिपरिषद् बैठकले द्वन्द्वका समयमा जागिर गुमाएका शिक्षकलाई पुनर्वहाली गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया