सोसेक नेपालको वार्षिक प्रगति समिक्षा तथा रणनैतिक योजना तर्जुमा गोष्ठि सुरु

दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको वार्षिक प्रगति समिक्षा तथा रणनैतिक योजना तर्जुमा गोष्ठि सुरु भएको छ । दैलेख जिल्ला सदरमुकाममा गोष्ठि सुरु भएको हो । संस्थाका महासचिव महेन्द्रकुमार कार्कीको अध्यक्षता तथा संस्थापक अध्यक्ष एवं कार्यकारी प्रमुख हीरासिंह थापाको प्रमुख आतिथ्यतामा गोष्ठि सुरु भएको हो ।
आइतवारदेखि सुरु भएको गोष्ठि दुई दिनसम्म चल्नेछ । संस्थाद्धारा संचालित परियोजनाहरुको आर्थिक वर्ष २०७८/०७९ मा गरिएका क्रियाकलापहरुको प्रगति तथा समिक्षा गर्ने उदेश्यसहित गोष्ठि आयोजना गरिएको सोसेक नेपालका उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार संस्थाद्धारा सञ्चालित परियोजना तथा कार्यक्रमहरुको बारेमा बुझाई जानकारी तथा अनुभव आदान प्रदान गर्ने, परियोजना तथा कार्यक्रमहरुको क्रियाकलाप सञ्चालनका क्रममा आई परेका समस्या तथा चुनौतीका बारेमा छलफल गर्ने र आगामी दिनका लागि कार्य सञ्चालन रणनीति तयार गर्ने गोष्ठिको उदेश्य हो ।
यस्तै परियोजना तथा कार्यक्रमहरुको क्षेत्रगत तथा आर्थिक वर्ष २०७९÷०८० को प्राथमिकता निर्धारण गर्ने, परियोजना तथा कार्यक्रमहरुबाट भएका सिकाई अनुभव ज्ञान तथा पहिचानको बारेमा छलफल गर्ने, क्षमता अभिबृद्धि सम्बन्धी अभिमुखिकरण गर्ने र संस्थाको आगामी पञ्चवर्षिय रणनैतिक योजना तर्जुमा गर्ने गोष्ठिको उदेश्य रहेको उपकार्यकारी निर्देशक श्रेष्ठले बताए ।
गोष्ठिमा संस्थाका कार्यसमिति पदाधिकारी एवं सदस्य, आजीवन सदस्य, संस्थाद्धारा सञ्चालित कार्यक्रम तथा परियोजनामा कार्यरत कर्मचारीहरु सहभागि छन् । यस्तै लक्षित समुदायका नागरिकहरु तथा लोपोन्मुख राउटे नागरिकहरु समेत सहभागि छन् ।
प्रतिक्रिया