नागरिकताकाे ‘कुकुर कामी’ नाम सच्चाउन कविरामले दिए जिल्ला प्रशासनमा निवेदन

नागरिकताकाे ‘कुकुर कामी’ नाम सच्चाउन कविरामले दिए जिल्ला प्रशासनमा निवेदन

दैलेख : नेपाली नागरिकतामा ‘कुकुर कामी’ नाम उल्लेख गरिएका कविराम कामीले नाम सच्चाउन माग गर्दैै निवेदन दिएका छन् । भगवतीमाई गाउँपालिका–३ मेहेलतोलीका ६२ वर्षीय कविरामले मंगलवार जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन् । प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरेर दिएको निवेदनमा उनले कविराम कामी उल्लेख गरी नागरिकताको प्रतिलिपी दिन आग्रह गरेका छन् ।

उनले दिएको निवेदनमा भनिएको छ ‘मलाई गाउँमा चिनाउने र चिन्ने नाम कविराम कामी भएको तर २०४६ मा गाउँमा खटिएको नागरिकता टोलीबाट नागरिकता लिँदा गाउँका मानिसहरुले जिस्क्याएर भन्ने गरेको नाम ‘कुकूर कामी’ राखेर प्रधानपञ्चले सिफारिस लेखेको आधारमा कुकूर कामी नै लेखी नागरिकता दिएकोमा मलाई यो नामले हिनताबोध र अपमान भईरहेको छ ।’ कविरामले वडा कार्यालयको सिफारिस, आवश्यक कागजातसहित प्रक्रिया पु¥याएर निवेदन दिएका हुन् । २०४६ जेठ ७ गते गाउँमा पुगेको नागरिकता टोलीले ‘कुकूर कामी’ नाम राखेर उनलाई नेपाली नागरिकता थमाएको थियो ।

२०१७ पुस २५ मा जन्मिएका उनले नागरिकता टोलीसँग आफ्नो नाम कविराम कामी बताए । तर, नागरिकतामा लेखियो ‘कुकुर कामी’ । उनले नागरिकतामा भएको नामकै कारण वर्षौदेखि आफुमात्र होइन परिवार नै लज्जित र अपमानित हुनुपरेको बताए । ‘मैले नागरिकता टोलीसँग मेरो नाम कविराम कामी हो भनेर जानकारी गराउँदा–गराउँदै टोलीले कुकुर कामी भनेर नागरिकता दिएछन्, गाउँ समाजका जान्ने बुझ््नेहरूले भनेपछि आफ्नो नागरिकतामा नाम कुकुर लेखिएको भन्ने थाहा पाएँ, म त अशिक्षित मान्छे त्यतिबेला प्रतिवाद पनि गर्न सकिन्,’ उनले भने । अब नाम सच्चाएर नागरिकता पाउने आश पलाएको उनले कविरामले बताए । ‘अब कविराम कामी लेखिएको नागरिकता पाउँछु होला, म त औधी खुसी छु मेरा सन्तान पनि खुसी हुनेछन्,’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले सबै प्रक्रिया पु¥याई नाम सच्चाएर नयाँ नेपाली नागरिकताको प्रमाणपत्र दिइने बताए । ‘अब प्रक्रियामा अघि बढेको छ, केहि दिनमै नयाँ नागरिकताको प्रतिलिपी उपलब्ध गराउँछौँ,’ प्रमुख जिल्ला अधिकारी प्याकुरेलले भने । उनले नेपाली नागरिकतामा अपमानजनक शव्द प्रयोग भएकै कारण समाजमा हिनताबोध गरेका व्यक्तिहरुले सम्बन्धित प्रमाणपत्र र वडा कार्यालयको सिफारिस सहित प्रक्रिया पु¥याएर जिल्ला प्रशासनमा सम्पर्क गर्न समेत आह्वान गरेका छन् ।

कुकूर कामीसहित दलित समुदायका अन्य व्यक्तिहरुको नागरिकतामा अपमानजनक शव्द उल्लेख गरी नागरिकता दिईएको विषयमा विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन भएकाे थियो । त्यसयता संघीय संसदमा समेत सांसदहरू तथा अधिकारकर्मीहरुले यस्ता नाम सच्याउनुपर्ने माग गरेका थिए ।

सोमवार गृह मन्त्रालयले नाममा अपमानजनक शब्द प्रयोग गरेर विभिन्न जिल्ला प्रशासन कार्यालयबाट जारी भएका नागरिकता प्रमाणपत्र सच्याउन परिपत्र गरेको थियो । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई गरेको परिपत्रमा भनिएको छ ‘अपमानजनक शव्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्चाउन माग गरेमा आवश्यक प्रक्रिया पुरा गरी सच्चाउने व्यवस्था मिलाउनु ।’

गृहले नागरिकतामा अपमानजनक शब्द उल्लेख गरेर प्रमाणपत्र जारी नगर्न समेत निर्देशन दिएको छ । गृहको यो निर्देशनसँगै कविरामसहित नेपाली नागरिकतामा अपमानजनक नाम उल्लेख भएका देशभरका अन्य नागरिकहरुको नाम सच्चिने अधिकारकर्मीहरु बताउँछन् । समाजमा संस्कारका नाममा खराब नाम राख्ने चलनका कारण कविराम मात्रै होइन धेरै दलित समुदायले यस्तो पीडा अझै भोगिरहेका छन् ।

प्रतिक्रिया