सोसेक नेपाल सम्मानित

सोसेक नेपाल सम्मानित

सम्मानपत्र प्रदान गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी । 

दैलेख : सोसेक नेपाल सम्मानित भएको छ । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको सोह्रौ राष्ट्रिय दिवसको अबसर पारेर नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सिंहदरबार, काठमाण्डौले सम्मान गरेको हो ।

‘तीनै तहका सरकार : मानव बेचबिखन विरुद्धको सरोकार’ भन्ने मुल नारासहित दिवसको अबसरमा मन्त्रालयद्धारा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा आयोजित एक कार्यक्रममा संस्था सम्मानित भएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले संस्थाका कार्यकारी प्रमुख एवं संस्थापक अध्यक्ष हीरासिंह थापालाई सम्मानपत्र प्रदान गरिन् ।

मानव बेचबिखन तथा ओसारपसार, रोकथाम, नियन्त्रणको क्षेत्रमा सचेतना, पीडित तथा प्रभावितहरुलाई उद्धार, पुर्नस्थापना र व्यवस्थापनमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै संस्थालाई सम्मान गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले आगामी दिनमा पनि मानव बेचबिखन तथा ओसारपसार, रोकथाम, नियन्त्रणको क्षेत्रमा सक्रिय योगदानको अपेक्षा गरेको छ ।

ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका तथा पछाडी पारिएका जनताको सामाजिक, आर्थिक तथा सांस्कृतिक अवस्थाको बृहत्तर सुधारका लागि २०५४ मा स्थापित सामाजिक संस्था हो । संस्थाले बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा महिला, बालबालिका, लोपोन्मूख जाती राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकासको अवधारणमा विभिन्न गतिविधि गर्दै आएको छ ।

कर्णाली प्रदेशको दैलेख, सुर्खेत, कालिकोट, सल्यान र मुगु तथा सुदुरपश्चिम प्रदेशको अछाम जिल्लामा कार्यक्षेत्र रहेको संस्थाले मानव बेचबिखन तथा ओसारपसार, रोकथाम, नियन्त्रणको क्षेत्रमा सचेतना, पीडित तथा प्रभावित महिला तथा बालबालिकाहरुलाई उद्धार, राहत, मनोविमर्श, पारिवारिक पुर्नमिलन तथा सामाजिक पुर्नस्थापनाको कार्य गर्दै आएको छ । संस्थाले दैलेख र कालिकोटमा बाल हेल्पलाइन १०९८ र महिला र बालबालिका केन्द्र सञ्चालन गरिरहेको छ ।

हालसम्म विभिन्न सामाजिक संघसंस्था तथा नेपाल प्रहरीको सहयोग, समन्वय र सहकार्यमा बेचबिखनमा परेका महिला र बालबालिका गरी १२ जनाको उद्धार गरिएको संस्थाका जनाएको छ । उनिहरुलाई भारत तथा ओमन र नेपालकै विभिन्न जिल्लाबाट उद्धार गरिएको बताईएको छ ।

प्रतिक्रिया