जहाँ पाइन्छ कर्णालीका अर्गानिक र रैथाने उत्पादन

        हिक्मतबहादुर नेपाली   |   प्रकाशित मितिः शुक्रबार, भदौ २४, २०७९     ::: 92 पटक पढिएको   |  

दैलेख : दैलेखको भगवतीमाई गाउँपालिका–१ पगनाथमा जन्मिएका कविराज खत्री (झवी) उमेरले ४३ पुगे। बीए चौथो वर्षमा अध्ययनरत खत्रीको दैनिकी कर्णाली प्रदेशको अर्गानिक, रैथाने र प्रांगारिक कृषि उपजको उत्पादन, प्रशोधन र बजारीकरणमै बित्छ। उनको दैनिकी यतिमा मात्र सीमित छैन।  उनी अधिकांश समय कर्णालीका किसानले उत्पादन गरेको कृषि उपजलाई प्रशोधन, ग्रेडिङ र बिक्रीमा बिताउँछन्। उनलाई साथ दिइरहेकी छन् उनकी धर्मपत्नी, गीताकुमारी खत्री।

नारायण नगरपालिका–११ मा जन्मिएकी खत्रीले स्वास्थ्य विषयमा बीएडसम्मको अध्ययन गरेकी छन्। उनी सुरुमा महिला स्वास्थ्य स्वंयमसेविकाको रूपमा काम गर्थिन्। उनले बालविकास शिक्षिकाका रूपमा केही वर्ष काम गरिन्। यी दुवै कामबाट पछि हटेर उनी पनि पतिसँगै उद्यमी बनिन्। यो दम्पतीले पछिल्लो ४ वर्षयता प्रदेश राजधानी वीरेन्द्रनगर–३ तातोपानी सुर्खेतस्थित ज्वालागढी बहुउद्देश्यीय उद्यम प्रालि सञ्चालन गरिरहेका छन्। ‘प्रशोधित अर्गानिक तथा प्रांगारिक खाद्य  उत्पादन : विश्व बजारमा बजारिकरण’ उद्योगको मूल नारा हो। उनीहरू यतिमा मात्र सीमित छैनन्। उद्योगबाट उत्पादित एवं प्रशोधित कर्णाली प्रदेशका अर्गानिक तथा रैथाने लोपोन्मुख सम्पूर्ण कृषि उपज खरिद बिक्रीका लागि वीरेन्द्रनगर–१२ एयरपोर्ट चोकमा ‘कर्णाली सौगात गृह’ को मुख्य बिक्री केन्द्र सञ्चालन गरिरहेका छन्।

प्रदेशको राजधानीमा उद्योग स्थापना हुनुअघि यो दम्पतीले २०६७ मा दैलेख सदरमुकाममा मसला प्रशोधन उद्योगको सुरुआत गरेको थियो। मेडेप कार्यक्रमको सहयोगमा उनीहरूले मसला उद्योग सञ्चालनमा ल्याएका थिए। जुन जिल्लाको पहिलो उद्योगको हो। जहाँ दैलेखका किसानहरूले उत्पादन गरेका सम्पूर्ण कृषि उपज वस्तुहरू प्रशोधन गरिन्थ्यो। उक्त उद्योगमा मसला प्रशोधन हुन थाल्यो। खत्री दम्पतीले २०६८ मा दैलेखमै कोसेली घर स्थापना गरे।

‘हामीले किसान र उद्यमीहरूले उत्पादन गरेका मकै, कोदो, भट्ट, ध्यू, मह तथा दुना, टपरी, अल्लोका कपडाहरू कोसेली घरका लागि खरिद तथा बिक्री गर्न सुरुआत गरेका थियौं। किसानहरूलाई आवश्यक पर्ने कच्चा पदार्थ प्राविधिक सेवा र मेसिन औजारहरू पनि उपलब्ध गराउँथ्यौं,’ खत्रीले भने। उनीहरूले २०७४ मा मसला उद्योग र कोसेली घरलाई ज्वालागढी बहुउद्देश्यीय उद्यम प्रालि नाम दिएर कम्पनीमा स्थापना गरे। जसको कुल चुक्ता पुँजी ३ करोड थियो। २०७५ मा उनीहरू कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत झरे। खत्री दम्पतीअनुसार वीरेन्द्रनगर–३ तातापानी सुर्खेतस्थित ज्वालागढी बहुउद्देश्यीय उद्यम प्रालि उद्योग छ। १ करोड २७ लाख रुपैयाँ लागतमा भवन र मेसिन औजारहरू स्थापना गरिएको हो।  उद्योगबाट स्थानीय अर्गानिक तथा प्रांगारिक वस्तुहरू खरिद, प्रशोधन र बिक्री हुन्छ। बेसार, खुर्सानी, अदुवा, धनियाँ पाउडर, मिट, सब्जी, मम, चाट, बत्तीस, चिया, सुत्केरी र सेकुवा मसलाहरू प्रशोधन तथा बिक्री हुन्छ। किसानहरूले उत्पादन गरेका सम्पूर्ण कृषि उपजहरू खरिद हुन्छ।

उद्योगसँगै वीरेन्द्रनगर–१२ एयरपोर्ट चोकमा ‘कर्णाली सौगात गृह’ नामको अर्को फर्मबाट बिक्री केन्द्र सुरुआत गरे। सौगात गृहमार्फत सम्पूर्ण संकलित तथा प्रशोधित वस्तुहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा बजारीकरणको काम भइरहेको छ। ‘हामी दैलेखमा हुँदा दैलेखका किसान र उद्यमीहरूले उत्पादन गरेका कृषि उपज र सामग्रीहरू खरिद तथा बिक्री गथ्र्यौं। अहिले तरकारीबाहेकका कर्णालीका १० वटै जिल्लामा उत्पादन हुने अर्गानिक, रैथाने र लोपोन्मुख कृषि उपज वस्तुहरू चिनो, काकुनो, मार्सी चामल, सिमी, जौं, कोदो, फापर, मकै, टिमुर, अदुवा गेडागुडीलगायतका वस्तुहरू खरिद गरिरहेका छौं,’ उनले भने ‘हामीले मुख्य रूपमा बेसार र प्रशोधनको काम गर्छौं।’ किसानले उत्पादन गरेका कृषि उपज खरिद गरेर ग्रेडिङ र प्रशोधनको काम हुने उनले बताए। ‘कर्णालीमा उत्पादन भएका कृषि उपजहरू जस्ताको तस्तै बिक्री गर्ने गरिन्छ। तर, हामीले प्रशोधन गरेर भ्यालुएट गरेर बिक्री गर्छौं,’ उनले भने।

उनले वार्षिक ३ देखि पाँच करोडसम्मको कारोबार हुने गरेको बताए। ‘कर्णालीका अर्गानिक, रैथाने र लोपोन्मुख कृषि उपज वस्तुहरू हामी खरिद गर्छौं। खरिदपछि प्रशोधन तथा ग्रडिङ र भ्यालुएट गरेर बिक्री गर्छांै। यस्तो खालको उद्योग कर्णालीमा पहिलो र एक मात्र उद्योग हो,’ उनले भने। उद्योग विभागबाट कर्णालीमा खाद्यतर्फ ‘ज्वाला कर्णाली’ नामको ट्रेडमार्क ल्याउन खत्री दम्पती सफल भएका छन्। त्यसपछि उद्योगबाट उत्पादित कृषि उपज वस्तुहरू राष्ट्रिय बजारमा निर्वाध रूपमा बिक्री तथा बजारीकरण गर्न सहज भइरहेको छ।  ‘हामीले निरन्तर कर्णालीका किसान र उद्यमीहरूको सामग्री खरिद गरिरहेका छौं। उहाँहरूलाई चाहिने कच्चा पदार्थ, मेसिन औजार र प्राविधिकलगायतका सेवा निःशुल्क पनि दिन्छौं,’ उनले भने।

खत्री दम्पतीले दैलेखको भगवतीमाई गाउँपालिका–१ पगनाथमा ९० रोपनी क्षेत्रफल जग्गामा १ सय क्वीन्टल बेसार खेती गरिरहेको छ। उनीहरूले ८६ क्वीन्टल बेसारको बीउ ‘पैंचो कार्यक्रम’ अन्तर्गत ६० बढी किसानलाई निःशुल्क दिएका छन्। ‘अहिले बीउ लिएका किसानहरूले लिएको बीउ ३ वर्षपछि फिर्ता गर्ने र त्यो फिर्ता गरेको बीउ फेरि अर्को किसानलाई दिन्छौं। निःशुल्क बीउ पाएका किसानहरूले उत्पादन गरेको बेसार हामीले नै खरिद गर्छौं,’ उनले भने। खत्री दम्पतीका २ सन्तान छन्। एक छोरा र एक छोरी। छोरा जीवन खत्री बीबीएस अध्ययनरत  छन्। उनले अध्ययनसँगै उद्योगको लेखा सम्हालिरहेका छन्। जीवनको उद्देश्य पनि यही उद्योगलाई निरन्तरता दिने नै छ। ‘अरू पेसा व्यवसाय गर्ने वा जागिर खाने योजना छैन’, जीवनले भने ‘बुवाआमाले सुरु गरेको उद्योगलाई नै निरन्तरता दिन्छु।’ छोरी आशा खत्री कक्षा ७ मा अध्ययनरत छिन्।

जापान पुर्‍याइँदै कर्णालीको बेसार 

खत्री दम्पतीले कर्णालीमा उत्पादित बेसार जापानमा पुर्‍याउने सफल हुँदैछन्। ‘हामीले उत्पादन गरेको बेसार ल्याब टेस्टका लागि पठाएका थियौं। उक्त बेसार ल्याब टेस्टमा पास भएर आइसकेको छ। अब सम्झौताको अन्तिम प्रक्रिया मात्र बाँकी छ।  जापानस्थित एक व्यापारीले हामीले उत्पादन गरेको बेसार जापान लैजाने भनेर मौखिक सम्झौता भइसकेको छ’, कविराजले भने। अन्तर्राष्ट्रिय स्तर दुवैमा अहिले पनि कर्णालीमा उत्पादित सिन्की पठाइरहेको उनले बताए। ‘त्यहाँका तीनदेखि पाँच तारे होटलमा हामीले उत्पादन गरेको सिन्की निरन्तर गइरहेको छ,’ उनले भने। मासिक दुई देखि तीन क्वीन्टलसम्मको सिन्की दुवै निर्यात गर्ने गरेको उनले बताए।

उद्योग सञ्चालनका चार समस्या कर्णाली प्रदेशमा उद्योग सञ्चालन गर्न तीन ठूला समस्या झेल्नुपरेको खत्रीले बताए। कर्णालीमा शुलभ रूपमा जग्गा नपाउने समस्या रहेको उनको भनाइ छ। अर्को विद्युत्को भोल्टेज नपुगेर मेसिन नै चल्दैनन्। बैंकिङ समस्या पनि उत्तिकै रहेको खत्रीले बताए। ‘कृषि र उद्योग सञ्चालन गर्नेहरू प्रायः गाउँका हुन्छन्। कृषि क्षेत्रमा काम गर्नेहरूलाई बैंकले सहज रूपमा गाउँको जग्गा धितो राखेर ऋण दिँदैनन्। गाउँको जग्गा धितो राखेर उद्योग स्थापना गर्छुभन्दा बैंकले सहज रूपमा ऋण नै दिँदैनन्’, उनले भने। अर्कोतर्फ उत्पादनसमेत कम रहेको छ। ‘एक जना उद्यमीलाई पुग्ने गरी कुनै पनि उत्पादन पर्याप्त नभएको उनले बताए।

यस्ता उद्योगहरू सञ्चालन गर्न राज्यले विशेष व्यवस्था गनुपर्ने उनको माग छ। राज्यले उद्योग सञ्चालकहरूलाई बत्ती, सडक तथा बैंकका ग्यारेन्टी गरिदिनुपर्ने उनले बताए। ‘कतिपय कुराहरूमा नीति नियम नै बाधक छन्। अहिले पनि सहज रूपमा टिमुर खरिद गर्न पाइँदैन्। प्रक्रिया झन्झटिलो छ। वन्यजन्तुमा आधारित उद्योग गर्न खोजेमा नीति नियम नै बाधक छ,’ उनले भने।

कर्णालीमा ३२ केबीको क्षमताको विद्युत् तत्काल विस्तार गर्नुपर्ने उनले बताए। राज्यले सानो उद्योगहरूलाई विशेष ऋण सहुलियत तथा ब्याज अनुदानको व्यवस्था गर्नुपर्ने कविराजले बताए। ‘अर्कोतर्फ उत्पादन बढाउन किसानहरूका लागि सिँचाइको सुविधा, संकलन केन्द्र स्थापना र प्राविधिक सेवा दिइनुपर्छ। अनि स्थानीय तहहरूले ढुवानीमा अनुदान दिनुपर्छ’, उनले भने। कर्णालीमा उत्पादित वस्तुभन्दा ढुवानीको मुख्य बढी पर्ने गरेकोे उनको भनाइ छ। ‘कर्णालीमा उत्पादित कृषि उपज वस्तुहरू राष्ट्रिय बजारमा प्रतिस्पर्धामा लैजान त्यस्ता किसानहरूलाई ढुवानीमा अनुदान दिने व्यवस्था सरकारले गर्नुपर्छ,’ खत्रीले भने।



Leave a comment

Your email address will not be published.


*