ओझेलमा ग्रामिण भेगका रैथाने आविष्कारक

ओझेलमा ग्रामिण भेगका रैथाने आविष्कारक

आरनमा पसिना बगाउँछन्, ज्याला पाउँदैनन्, बालीमै चित्त बुझाउँछन्


सुर्खेत : आगोको रापतापले गाला रातै अनि गालामा बुढ्यौलीले छोएको स्पष्ट देखिन्छ । टाउकोमा टोपी । टोपीभित्र रौँ फुलेर सेतै देखिन्छन् । हातमा हथौडा लिएर आठ वर्षिय नातीसँगै विभिन्न भाडाहरुको अविष्कार गर्नु आरन्र्या बाजेको दैनिक हो । आरनमा बसेर काम गर्ने भएकाले पनि गाउँमा उनलाई सबैले आरन्र्या बाजेका रुपमा चिन्छन् । बुढ्यौलीले छोएर आगोको रापले रातै गाला पाकेका उनै गाउँका वैज्ञानिक हुन् ठाटीकाँध गाउँपालिका २ टोम्टाल्लाका ७५ वर्षका रघे लुवार ।

उमेरले ७५ वर्षका पुगेपनि कामका आधारमा उनले युवाका दर्जामा बस्नुपर्छ । उमेरले डाडा माथिको डुब्ने घाम भइसक्दा पनि आरनमा उनी नबस्दा सबै काम ठप्प हुन्छ । ७५ वर्षको बुढेसकालमा आरनमा बस्न उनलाई कुनै कष्ट हुँदैन । उनलाई कष्ट त्यतिबेला हुन्छ जब भोकभोकै आगोको रापमा शरिरको छाला पकाएर अन्तिममा बालीमा चित्त बुझाउनुपर्छ । दिनरात नभनेर आरनमा बसे पनि सोचे अनुरुप व्यवसायिक हुन नसक्दा आरन पेशा ओझेलमा पर्दै गएको उनी बताउँछन् ।

बिहान भालेको डाकोसँगै जोस जाँगरका साथ आविष्कारमा जुट्छु,’ उनले भने, ‘आविष्कारमा जुटेर शरिरको छाला मात्र पाक्छ । खानेला एक सुपो बालीमै चित्त बुझाउनुपर्छ ।’ विभिन्न भाडाकुडा आविष्कारमा जुट्ने उनी गाउँभरिका भाँडाकुँडा बनाउन उनी बिहानबाट दिउँसो दुइबजेसम्म आरनमै व्यस्त हुन्छन् तर, भनेजस्तो ज्याला पाउँदैनन् । बालीकै भरमा चित्त बुझाउँदै आएका छन् । देशमा अनेकौं राजनीतिक परिवर्तनपछि नेपालमा सामाजिक चेतनाको स्तर माथि उक्सिएको बताइन्छ । तर दैलेखको ठाटीकाँध गाउँपालिकामा भने कुरिती र कुसंस्कारको अवशेष बाली प्रथा कायमै छ ।

नेपालमा अनेकाखाले राजनीतिक परिवर्तनपछि नेपालको राज्य व्यवस्थासमेत परिवर्तन भयो । तर सामाजिक चेतनाको स्तरमा त्यस तहको परिवर्तन नहुँदा अझै पनि सामाजिक कुसंस्कार र कुरितीका अवशेष कायमै छन ।  जनस्तरमा चेतनाको स्तर बढेपनि आर्थिक अभावले पछौटे अवस्थामा रहेको समुदायलाई सधै दबाई राख्ने प्रवित्ति अझै हट्न सकेको छैन । क्रम विक्रय मुद्रामा सुरु भएको शताब्दी बित्दा पनि दैलेखका सयौ परिवार भने अझै पनि बालीमै आफ्नो श्रम बेच्न बाध्य छन ।

व्यवसायिक छैन् आरन पेशा

ठाटीकाँध गाउँपालिका लगायत जिल्लामा सयौँ परिवार आरन चलाएर जीवन गुजार्न बाध्य छन् । दिनरात नभनेर आगोको रापमा आफ्नो जिउ सेकाएर फलामका विभिन्न भाडाकुडा आविष्कार गर्छन् तर, ज्याला पाउँदैन । पुनः तिनै भाडाकुुडा आविष्कार गर्ने गाउँका वैज्ञानिक प्लाष्टिकको बोरा काँधमा बोकेर काम गरेको बाली माग्नलाई घर घर पुग्नुपर्ने बाध्यता रहेको उनै ७५ वर्षका रघे लुवार बताउँछन् । आरन पेशा व्यवसायिक हुन नसक्दा युवाहरु परदेश पलायन हुँदैछन् तर रघे लुवार भने शरिर अस्थायी रुपमा ओछ्यानमा नपुगुन्जेलसम्म आरन पेशा नछोड्ने विचारमा छन् ।

पाँच सय घरधुरीका भाडाकुडा बनाउँछन्

उमेरले ७५ वर्षका रघे लुवा ठाटीकाँध गाउँपालिका १ र २ वडाबाट करिब पाँचसय घरधुरीका भाँडाकुडा बनाउछन् । विहान पाँच बजे उठ्छु,’ उनले भने, ‘एक जना प्रति दश देखि १२ वटा हसिया, कोदाला लगायत विभिन्न भाडाकुडा आविष्कार गर्दा गर्दै र धार लाउदाँ लाउँदै १२ बजेको पत्तैै हुँदैन खाना खान बस्छु खान मन लाग्दैन,’ उनले भने । ‘आरन पेशा नगरौँ त साँझ विहानको गर्जो टर्दैन गरौँ त परिश्रम गरे अनुसारको फल ज्याला मिल्दैन एक सुपो अन्नमै चित्त बुझाउनुपर्छ ।’
जुन पहिले बुबाबाजेले गर्दै आएका थिए । त्यो बेला पाँचसात वर्षको थियो उमेर । साहुको घरमा हलो जोत्ने, मल फाल्ने, बाली लगाउने काम गर्थे उनले भने, ‘पछि म पन्ध्र सोह्र वर्षको उमेरमा बुबाको मृत्युपछि साहुको काम छोडेर बाबुबाजेकै पेशा रोजे अहिले यो पेशा व्यवसायिक नहुँदा युवाले चासो दिदैनन् ।’ अहिले लुवारले कच्चा धातु गालेर हसियाँ, कुटो कोदालो, फाली ओदान इत्यादी बनाउछँन् । आरनमा कच्चा धातु गालेर (पगालेर) निश्चित स्वरुपको भाँडा वर्तन या हात हतियार बनाईन्छन ।
दैलेख ठाटीकाँधको गैरेगाँउ, विशाला, माचखर्क, लकान्द्र, तोलीजैसी, आग्र, भम्क, पाँचला लगायतका करिब ४० देखि ४५ घर भन्दा बढी परिवार आरनकै भरमा गुजारा चलाउन बाध्य छन् ।

युवाको रुची घट्दो

आरन पेशा गरेर जीवन धान्न मुस्किल हुनेभएपछि आरनमा युवापुस्ताको चासो घट्दै गएको छ । युवा जनशक्तिले यसलाई हेयको दृष्टिले हेर्ने तथा वृद्धवृद्धाले समेत (खलो) श्रम बापत बाली मात्रै पाउँदा आरन पेशा गतिलो आम्दानी दिन सकेको छैन । त्यसैकारण पनि यसकाम प्रति युवाको बितृष्णा जाग्दो छ । खाना, नाना र छाना आफ्नो स्वामित्वमा नहुँदा बृद्धवस्थामा समेत यो पेसा अगाल्नु परेको रघे लुवारकोे गुनासो छ ।
नयाँ पुस्ता यो पेसा अंगाल्न इच्छुक नभएपनि यही पेसाबाट उनले १०÷१२ जनासम्मको पारिवारीक गर्जो टारेका छन । पेसा व्यवसाय गर्ने अरु सीप पनि नभएपछि उनि लगायत अन्य आरन व्यवसायि यसैमा आश्रित छन । आरनमा भाडाबर्तन बनाएबापत उनिहरुले खलो (काम गरेबापतको पाउने अन्न) उठाउँछन । रैथाने शीप प्रबद्र्धन गर्न । जबसम्म स्थानीय शीप स्रोत साधनको प्रोत्साहन हुँदैन तबसम्म अघि बढ्न सक्दैन ।

कोइलाको अभाव उस्तै

पछिल्लो समय आरनका लागि आवश्यक पर्ने कोइराला समेत पाउन छाडेपछि आरन पेशा नै संकटमा पर्न थालेको छ । बनजंगल मासिदै गएपछि पैंयु, साल, सल्लो लगायतका रुख लोप हुदै गएकाले र वनजंगल नासिनबाट रोकेपछि यो पेशा नै संकटमा परेको आरन व्यवसायी बताउँछन् । आरन पेशाको लागि पथ्थर कोइला भएको भए सहज र टिकाउ हुने रघे लुवार बताउँछन् ।

कोइरालाको बिकल्पमा आधुनीक आरन व्यवस्थापन गरिदिए आफुहरुलाई निकै सहज हुने अर्का भोटे लुवार बताउँछन् । हामी आरन पेशा गरेर जिवन धान्नेका लागि स्थानीय सरकारले वा प्रदेश संघ सरकारले आधुनिक आरन सम्बन्धि आरन र सिप उपलब्ध गराए जिवन धान्न सहज हुने थियो ।

आरनमा किसानलाई खेतीपाती गर्न र घरब्यवहार चलाउन आवश्यक पर्ने हसिया, कुटो, कोदालो, फरुवा, बन्चरो लगायत फलामका उपकरण बन्दै आएका छन । तर त्यसबापत श्रमको मूल्य नै नउठ्ने गरी अन्न मात्र दिइनु शोषण हो । यसर्थ उनिहरुको श्रमको मुल्य नगदमै दिइनु जरुरी रहेको स्थानीय कलम थापाको भनाई छ । ‘आरने पेसा गरेरै कम्तिमा उनिहरुको जीवनयापन हुने अवस्था बनाउन सरोकारवाला निकायले ध्यान दिन जरुरी छ ।

आरन सुधार गर्न पालिकासँग छैन योजना

आरन मर्मत सुधारको लागि गाउँपालिकाका पुर्व अध्यक्ष धीर बहादुर शाही अध्यक्ष भएको बेला २०७७÷७८ र २०७९÷८० मा बजेट छुट्याए पनि कार्यान्वयन हुन सकेको थिएन । तर नयाँ सरकार आएपछि भने यो कार्यक्रमलाई निरन्तरता दिएको देखिदैन । धीर बहादुर शाही अध्यक्ष हुँदा आरन सुधार तथा क्षमता विकास कार्यक्रम भएपनि रक्ष बहादुर शाही अध्यक्षमा निर्वाचित भएपछि कार्यक्रमले निरन्तरता पाएको छैन । पहिलेको वर्षमा कार्यक्रम थियो यो वर्ष आरनसम्बन्धी कुनै कार्यक्रम नरहेको ठाटीकाँध गाउँपालिका उद्यम विकास शाखा प्रमुख मनसिंह बुढा बताउँछन् । गत वर्ष कार्यक्रम थियो,’ उनले भने, ‘यो वर्ष त्यस्तो कार्यक्रम छैन ।’
ठाटीकाँध गाउँपालिका आरन सुधार तथा क्षमता विकासको लागि गाउँपालिकाका पूर्व अध्यक्ष धीर बहादुर शाही अध्यक्ष भएका बेला करिब १२ लाख आरन सुधार कार्यक्रम गर्ने योजनामा राखिएको थियो ।

प्रतिक्रिया