गैससबाट सचेतनामूलक काममा बढी खर्च भयो : शर्मा

गैससबाट सचेतनामूलक काममा बढी खर्च भयो : शर्मा

दैलेख : नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले गैरसरकारी संस्थाहरुले सचेतनामूलक काममा बढी खर्च गर्ने गरेको टिप्पणी गरेका छन् । सेभ द चिल्ड्रेनको सहयोगमा एभरेष्ट क्लव दैलेखले सञ्चालन गरेको ‘नागरिक समाज सवालीकरण परियोजना’को परिचयात्मक कार्यक्रममा उनले सो विचार राखेका हुन् ।

नगर प्रमुख शर्माले भने ‘सामाजिक चेतना अभिवृद्धि पनि आवश्यक होला तर भौतिक विकासमा पनि काम गर्न र सचेतनाको क्रममा अधिकार सिकाउदा नागरिकको कर्तव्यबारे पनि सचेत गराउन आवश्यक छ ।’

कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष यज्ञराज थापाले नागरिक समाजको पैरबी अभियानलाई एकीकृत बनाउन आएको परियोजनाले उद्देश्य राखिए अनुसार प्रभावकारी काम गर्न सुझाव दिए ।

आठबीस नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख देवराज तिमिल्सेनाले ‘नागरिक समाज सवालीकरण परियोजना’ले स्थानीय सरकार र नागरिक समाजको सहकार्यता बढाउनेमा आफू आशावादी रहेको बताए ।

एभरेष्ट क्लवका अध्यक्ष दिपक शाही र ‘नागरिक समाज सवालीकरण परियोजना’का कार्यक्रम संयोजक सीता नेपालीले परियोजनाको लक्ष्य, उद्देश्य र आशा गरिएको परिणामबारे प्रकाश पारेका थिए ।

सन् २०२२ मार्चदेखि सुरु भएको यो परियोजना दैलेखको नारायण नगरपालिका र आठबीस नगरपालिकामा सन् २०२६ डिसेम्वरसम्म ५८ महिनामा भेदभाव रहित वातावरणमा लैंगिक समानता र द्वन्द्व सम्वेदनशीलता सवाल आधारमा बालअधिकार प्रवद्र्धनका काम गर्ने बताइएको छ ।

बालअधिकार प्रवद्र्धनका लागि नागरिक समाज संस्थाहरुको संस्थागत क्षमता विकास, दक्षता अभिबृद्धि, सुशासन, जवाफदेहिता र प्रभावकारिता बढाउन मद्दत गर्ने परियोजना क्रियाकलाप केन्द्रित हुने परियोजना कार्यक्रम संयोजक सीता नेपालीले बताइन् ।

‘नागरिक समाज सवालीकरण परियोजना’ले कार्यक्षेत्रमा बालबालिकाहरुकै समान पहुँचको सहभागिता अभ्यासबाट बाल अधिकार सवाल प्रभावकारिता बढाउन कार्यक्षेत्रका दुइटै पालिकामा वडास्तर, पालिकामा समेत बाल क्लव गठन र परिचालन गर्ने बताइएको छ ।

 

प्रतिक्रिया